गढीमाई मन्दिरमा एसीसहितको शौचालय, मेयरले गरे उद्घाटन

वीरगञ्ज– बाराको ऐतिहासिक गढीमाई मन्दिरमा एसीसहितको अत्याधुनिक शौचालय निर्माण गरिएको छ।
महागढीमाई नगरपालिका बरियापुरमा रहेको मन्दिर क्षेत्रमा व्यवस्थित शौचालय नुहँदा मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकहरुले समस्या भोग्दै आएका थिए।
गढीमाई मन्दिर दर्शनार्थी पर्यटकको सुविधाको लागि नगरपालिकाले ४८ लाखको लागतमा एसी सहितको शौचालय निर्माण गरिएको महागढीमाई नगरपालिकाका मेयर उमेन्द्र प्रसाद यादवले बताए।
‘शौचालय निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि सुविधा पुग्नेछ’, एसीसहितको शौचालयको उद्घाटन गर्दै मेयर यादवले भने,‘सुविधा सम्पन्न आधुनिक एसीसहितको शौचालय निर्माण भएको छ।’
उद्घाटन पश्चात शौचालय सञ्चालनका लागि नगरपालिका कार्यालयले गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिलाई हस्तान्तरण गरेको थियो। शौचालयसँगै स्नानघर समेत निर्माण गरिएको छ।
सर्वाधिक बलीको लागि विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पाँच–पाँच वर्षपछि मेला लाग्ने गरेको छ। अब २०७६ सालमा मेला लाग्नेछ।