मोरङ– उमेर पुगेर पनि नागरिकता नपाएको भन्दै विराटनगरमा नागरिकता नपाएका युवाहरुले बुधबारबाट रिले अनसन सुरु गरेका छन्।

जन्मसिद्ध नागरिकका सन्तान भएकै कारण नागरिकता नपाएको भन्दै ‘नागरिकता पीडित संघर्ष समिति’ गठन गरेर युवाहरुले विराटनगर महानगरपालिकाको ‘बी’ प्लटमा अनसन सुरु गरेका हुन्।

अनसनमा बसेका युवाहरुले आमाको नामबाट नागरिकता दिइनुपर्ने, जन्मसिद्ध नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिइनु पर्ने, महिला र पुरुषबीचको विभेदको अन्त्य हुनु पर्ने, सर्वोच्च र उच्च अदालतको परमादेशको पालना हुनु पर्ने लगायतका माग अघि सारेका छन्।

जन्मका आधारमा नागरिकता लिएका अभिभावकका धेरै सन्तान नागरिकताविहीन बन्नु परेको र राज्य यस विषयमा संवेदनशील नभएको भन्दै युवाहरुले तीनदिने अनसन थालेका छन्। नागरिकता पीडित संघर्ष समितिका संयोजक विराटनगरका इशान खान, मोहम्मद तौसिफ, इम्तियाज अन्सारी, आकाशकुमार हुलुवाई र गुड्डु सिंह अनसनमा बसेका छन्।

२०४६ साल अघि जन्मिएका जुनसुकै नेपाली नागरिकलाई २०६३ सालमा जन्मका आधारमा नागरिकता दिइएको थियो। २०६३ मा जन्मसिद्ध नागरिकता पाएकाहरुका सन्तानले भने हाल वंशजको नागरिकता पाउन नसकेको समितिले जनाएको छ।

जन्मका आधारमा एक पटक मात्रै नागरिकता दिने व्यवस्था उपयुक्त हुने र अन्य व्यवस्था कानुन बनाएर मात्रै दिनु भन्ने फैसला २०७० सालमा सर्वोच्च अदालतले गरेका छ। त्यही फैसलाका आधारमा गृह मन्त्रालयले २०७० चैत २० गते जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई अहिले नागरिकता नदिनु भन्दै परिपत्र गरेको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गृहको त्यतिबेलाको परिपत्रका कारण हालसम्म जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन नसकिएको बताए।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्