अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मार्च २३ मा चुनाव हुँदै

सिड्नी – अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आगामी मार्च २३ तारिख शनिबारका दिन राज्यस्तरीय चुनाव हुँदैछ । ५७ औँ संसद्का लागि हुने उक्त चुनावमा विधानसभा अर्थात् तल्लो सदनका लागि ९३ सिट तथा विधानपरिषद् अर्थात् उपल्लो सदनका लागि ४२ मध्ये २१ सिटका लागि मतदान हुँदैछ ।

पछिल्ला दुईवटा चुनावमा विजेता रहेको लिवरल पार्टी र न्यासनल पार्टीको गठबन्धन सरकारले यसपटक तेश्रो चार वर्षे कार्यकालका लागि चुनावी मैदानमा उत्रनेछ जसको नेतृत्व लिवरल पार्टीकी अध्यक्ष तथा न्यू साउथ वेल्सकी प्रिमियर ग्लाडिज बेरिजिक्लिनले गर्दैछिन् भने माइकल डेलीले नेतृत्व गरेको लेवर पार्टीले गतिलो चुनौती दिने प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका छन् ।

त्यसैगरी साना दलहरू ‘ग्रिन्स पार्टी’, ‘सुटर्स, फिसर्स र फार्मस पार्टी’ सहित १८ वटा दलहरूका साथै स्वतन्त्र उम्मेदवारहरूले पनि यो चुनावमा भाग लिनेछन् ।

गत मार्च १० मा आफ्नो चुनावी अभियान शुरू गर्दै एनएसडब्लु लिवरल पार्टीकी अध्यक्ष तथा प्रिमियर ग्लाडिज बेरिजिक्लिनले आफ्ना चुनावी एजेण्डाहरू प्रस्तुत गरेकी थिइन् ।

यदि चुनाव जितेको खण्डमा न्यू साउथ वेल्स सरकारले आगामी चार वर्षमा सिड्नीको सेन्ट मेरिजदेखि भविष्यमा बन्ने वेष्टर्न सिड्नी एयरपोर्टसम्म मेट्रो रेलका लागि दुई अरब डलर खर्च गर्ने बताएकी थिइन् ।

त्यसैगरी उनले राज्यका २९ वटा अस्पताल तथा क्लिनकहरूलाई स्तरोन्नति गर्न १ अरब ३० करोड डलर खर्च गर्ने तथा ब्यांकस्टाउन लिडकम हस्पिटल र जोन हन्टर हस्पिटललाई पुनर्निर्माण गर्न ७८ करोड अस्ट्रेलियन डलर खर्च गर्ने बताइन् ।

यसका अलावा ८ वटा नयाँ विद्यालय निर्माण गर्न तथा ३१ वटालाई स्तरोन्नति गर्नका लागि ९१ करोड ७० लाख अस्ट्रेलियन डलर खर्च गर्ने लगायतका एजेन्डाहरू प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी सोही दिनमैँ चुनावी अभियान शुरू गरेका एनएसडब्लुका लागि लेवर पार्टीका अध्यक्ष माइकल डेलीले आफ्नो पार्टीले चुनाव जितेको खण्डमा राज्यका पब्लिक विद्यालयहरूको स्तरोन्नति गर्न १० वर्षको अवधिमा २ अरब ७० करोड डलर खर्च गर्ने जनाएका थिए जसअन्तर्गत ५ हजार नयाँ शिक्षक–शिक्षिकाहरूलाई नियुक्ति गरिनेछ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा २ अरब ५० करोड डलर खर्च गरी अझ बढी नर्सहरूहरूलाई रोजगारी दिई नर्स र विरामीको अनुपात घटाउने, कन्भर्सन थेरापीलाई निषेध गरिने तथा सुख्खा यामलाई मध्येनजर गर्दै ग्रामीण इलाकामा पानीको पहुँच सहज गर्नका लागि १ अरब अस्ट्रेलियन डलर खर्च गर्ने लगायतका एजेण्डाहरू प्रस्तुत गरेका थिए ।

डिसेम्बर २०१८ को तथ्यांकअनुसार अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा करिब ५३ लाख ६० हजार योग्य मतदातामध्ये करिब ५२ लाख २० हजार मतदाताको नामावली मतदाता नामावलीमा दर्ता भइसकेको एनएसडब्लु चुनाव आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म तल्लो र उपल्लो सदन गरी १ सय १४ वटा पदका लागि ९ सय ३६ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी पेश गरेका छन् ।

अस्ट्रेलियामा योग्य मतदाताले राज्य स्तरीय तथा फेडेरल चुनावमा अनिवार्य रूपमा मतदान गर्नुपर्दछ । यदि मतदान गर्न नपाएको उचित कारण नदिइएको खण्डमा जरिवाना समेत तिर्नुपर्दछ ।

यसैगरी, अस्ट्रेलियामा १८ मे २०१९ भित्र आधा सिनेट अर्थात् उपल्लो सदनका लागि तथा २ नोभेम्बर २०१९ भित्र प्रतिनिधि सभा अर्थात् तल्लो सदनका लागि फेडेरल चुनाव हुँदैछ जस्ले अस्ट्रेलियाको ४६ औं संसद् तथा प्रधानमन्त्रीको समेत तय गर्नेछ ।

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्