नेपालगञ्‍ज भन्सारमा कामविहीन ‘चेकपोष्ट’

नेपालगञ्ज- नेपालगञ्जको भन्सारमा रहेको पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन प्रमाण पत्र’ नकाटेको पाँच दिन भयो। भारतबाट भित्रिने पशुपंक्षी, पशु उत्पादन सामाग्री तथा पशुजन्य पदार्थको भारतीय क्वारेन्टाइन वा सम्बन्धित निकायबाट स्वास्थ्य प्रमाणपत्र नल्याएसम्म क्वारेन्टाइन नगर्नु भन्ने माथिको आदेश रहेकाले चेकपोष्टबाट पाँच दिनयता एउटा पनि पत्र नकटेको हो।

भारतबाट खसी÷बोका, माछा, दाना निरन्तर भित्रिने गर्दछ। सुंगुर-बुंगुर, घोडा-खच्चड पनि भित्रिन्छन्।भारतीय क्वारेन्टाइन वा सम्बन्धित निकायले ‘सजिलै’ स्वास्थ्य प्रमाणपत्र नदिने भएकाले यतिबेला व्यापारीहरु मर्कामा परेका छन्।

क्वारेन्टाइन चेकपोष्टले यसअघि भारतबाट भित्रिने पशुपंक्षी, पशु उत्पादन सामाग्री तथा पशुजन्य पदार्थको आफैले हेरेर स्वास्थ्य प्रमाणपत्र दिने गर्दथ्यो। केन्द्रले भारतबाट अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र ल्याउनु पर्ने नियम लगाइदिएपछि व्यापारीले यो पाँच दिनमा ‘सोझो बाटो’बाट पशुपंक्षी भित्र्याउन पाएका छैनन्।

चेकपोष्टका सूचना अधिकारी अमरबहादुर शाहीले भारतीय क्वारेन्टाइन वा सम्बन्धित निकायबाट स्वास्थ्य प्रमाणपत्र नल्याएका पशुपंक्षी, पशु उत्पादन सामाग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्नु भन्ने परिपत्र आएको र पाँच दिनयता भारतबाट मापदण्ड पुर्‍याएर कोही पनि नआएकाले काम नभएको बताए।

‘व्यापारीहरु आउनु हुन्छ। हामीले पहिला उताबाट स्वास्थ्य प्रमाण पत्र लिएर आउनु भनेर पठाइदिने गरेका छौं, सूचना अधिकारी शाहीले भने, भारतमा स्वास्थ्य प्रमाणपत्रका लागि मापदण्ड पुर्‍याउन अलि गाह्रो छ कि खोई कोही पनि आएका छैनन्।’

चेकपोष्टका अनुसार, साउनदेखि माघसम्ममा ६१ हजार ७ सय ८६ वटा खसी÷बोका भित्रिएका छन्। सुंगुर÷बंगुर एक हजार ६ सय ७३, घोडा÷खच्चड÷गधा एक हजार एक सय ६२ भित्रिएको छ। यो अवधिमा माछा, सिद्रामाछा, फिड सप्लीमेन्ट, फिस फिड, बोनमिल पनि भित्रिएका छन्।

दूध ठप्प

भारतबाट दैनिक तेह्र सय लिटर दूध सोझो बाटोबाट नेपालगञ्ज भित्रिन्थ्यो। भारतीय दूध गुणस्तरीय नभएको भन्दै व्यापक विरोध भयो। सानातिनो आन्दोलन नै गरियो। त्यसपछि नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तरको प्रमाणपत्र नभएको दूध भित्रिन रोक लगायो।

त्यसअघि चेकपोष्टले यसो हेरेर चिट दिने गर्दथ्यो। चेकपोष्टसँग दूधको गुणस्तर नाप्ने उपकरण भने छैन। नेपाली दूध व्यापारीको कडा प्रतिरोध, भारतबाट भित्रिने दूधको गुणस्तर पनि नभएको र गुणस्तर नाप्ने उपकरण नभएपछि चेकपोष्टले दूध व्यापारीलाई कार्यालयमा ‘नो इन्ट्री’ नै गरिदिए। चेकपोष्टका कर्मचारीले हात खडा गरे।

अहिले भारतबाट सोझो बाटो भएर दूध आउँदैन। छोटी नाकाबाट दूध भित्रिरहेकै छ। चेकपोष्टका सूचना अधिकारी शाहीले पुसदेखि भारतीय दूध बन्द गरेको बताए। चेकपोष्ट कार्यालयमा प्रयोगशाला बनेको एक वर्ष भइसक्यो। उपकरण भने अहिलेसम्म राखिएको छैन। न त ल्याब टेक्निसियन नै छन्। ‘प्रयोगशाला त बनेको छ। उपकरण नभएर सञ्चालनमा छैन, सूचना अधिकारी शाहीले भने।

उपकरण नभएकाले गुणस्तरीय जाँच्न नसक्ने अनि आयात नै ठप्प गर्ने काम भइरहेको छ। नेपाली दूध व्यवसायी भने भारतीय दूध रोकिदा खुशी भएका छन्। बाँके जिल्ला दूधमा आत्मनिर्भर भएको दुग्ध व्यवसायीहरु बताउँछन्। दूध ल्याउन रोकिएपछि चेकपोष्टका कर्मचारी अझ फुर्सदिला भएका छन्।

कुखुरा नष्टमात्रै

पशु क्वारेन्टाइन चेकपोष्टका कर्मचारीको काम भनेको यतिबेला प्रहरीले समातेर ल्याएको कुखुरा, चल्ला र अण्डा नष्ट गर्नु मात्रै रहेको छ।
सरकारले भारतबट पक्षीतथा पक्षीजन्य पदार्थ भित्र्याउन पूर्णरुपमा रोक लगाएको छ। बाँकेमा भने भारतीय कुखुरा दैनिक भित्रिन्छन्। भारतीय कुखुरा तस्करले आफैले भरियासँग कुखुरा पठाइदिने गर्दछन्। छोटी नाकाहरुबाट भित्रिने कुखुरालाई प्रहरीले समातेर चेकपोष्टमा बुुझाउँछ। त्यही कुखुरा र चल्लालाई नष्ट गर्ने र तस्करलाई जरिवाना गराउने काम कर्मचारीले गर्छन्।

साउनयता क्वारेन्टाइनले दुई हजार नौ सय ८ वटा कुखुरा नष्ट गरेको छ। २४ हजार ६० वटा चल्ला, ७४ किलो मासु, ८ सय २६ वटा अण्डा र २८ किलो सडेको माछा क्वारेन्टाइनले नष्ट गरेको छ। पक्षी तथा पक्षीजन्य पदार्थ बोकेर आएका भरियालाई पक्राउ गरेर ९ लाख ३० हजार जरिवाना गराइएको छ।

क्वारेन्टाइनमा दुई दिनअघि राप्तीसोनारीका एकजना चौधरीलाई मोटरसाइकलमा कुखुरा ल्याउने क्रममा खडैचातिरबाट प्रहरीले समातेर ल्याएको थियो। उनले पहिलो पटक कुखुरा ल्याएको बताए। वडाध्यक्षसम्म आएर पहिलो पटकलाई भन्दै नौ वटा कुखुरा नष्ट गरेर १० हजार जरिवाना लगाएर तोडियो।

कुखुरा बोक्नेहरु ‘व्यवसायिक’ पनि छन्। कतिले त कुखुरा बोक्नकै लागि मोटरसाइकल किनेका छन्। सूचना अधिकारी शाहीका अनुसार, एकजना मोटरसाइकलमा कुखुरा ओसार्ने गर्दछन्। उनी चौथोपटक पक्राउ परिसके। पहिला साइकलमा कुखुरा बोक्थे। पछि त कुखुरा बोक्नकै लागि मोटरसाइकल किनेछन्।

पछिल्लो पटक उनलाई ४० हजार जरिवाना गरेर छोडिएको छ। साइकलमा कुखुरा बोक्दा सात पटकसम्म पक्राउ परेका व्यक्तिहरु थुप्रै छन्। क्वारेन्टाइनले शुरुमा मान्छेलाई जरिवाना गर्दैनथ्यो। कुखुरा नष्ट गरेर छोड्थ्यो। अति नै भएपछि मान्छेलाई जरिवाना गर्न थालेको छ। हजार÷बाह्र सयबाट शुरु गरिएकोमा अहिले ४० हजारसम्म जरिवाना गरिएको छ।

बाँकेमा भारतीय कुखुराको प्रभाव बढी छ। लुकाएर, सेटिङ मिलाएर भएपनि कुखुरा ल्याउने काम भइरहेका छन्। एकजना कर्मचारी नै भन्छन्, यहाँ त ९० प्रतिशत नै भारतीय कुखुराको कारोबार हुन्छ।’

फाल्गुन २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू