बोइङ ७३७ म्याक्सका सबै विमान ग्राउण्डेड

दुई दुर्घटनाको प्रकृति उस्तै, अमेरिकाले पनि ग्राउण्डेड गर्‍यो बोइङ ७३७ म्याक्स

बोइङले विश्वभर रहेका बोइङ ७३७ म्याक्स मोडलका विमान तत्कालका लागि ग्राउण्डेड गरेको छ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स मोडलका सबै ३७१ विमान तत्कालका लागि ग्राउण्डेड गरेको हो ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटना सम्बन्धी अनुसन्धान गरिरहेकाहरुले बोइङ ७३७ म्याक्सको सुरक्षालाई लिएर सचेत हुनु पर्ने केही प्रमाण भेटेपछि बोइङले सतर्कताका लागि सबै विमान ग्राउण्डेड गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बोइङले भनेको छ, ‘७३७ म्याक्सको सुरक्षालाई लिएर रहेको विश्वस उस्तै छ ।’

तर अमेरिकाको संघीय उड्डयन प्राधिकरण (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डसँगको परमर्शमा तत्कालका लागि ७३७ म्याक्स मोडलका सबै विमान ग्राउण्डेड गर्ने निर्णय गरिएको बोइङले उल्लेख गरेको छ ।

उसले भनेको छ, ‘सतर्कता र सर्वसाधारणलाई विमानको यात्रा सुरक्षित छ भन्ने विश्वास दिलाउनका लागि थप अनुसन्धानको चरणका लागि बोइङ ७३७ म्याक्स ग्राउण्डेड गरिएको छ ।

विमान निर्माता कम्पनी बोइङका अध्यक्ष तथा कार्यकारी प्रमुख डेनिस मुइलेनबर्गले भनेका छन्, ‘हामीले दुर्घटनाको कारण थाहा पाउन गर्न सकिने सबै प्रयास गरिरहेका छौँ, यसका लागि अनुसन्धानकर्ताहरुसँग सहकार्य भइरहेको छ । सुरक्षात्मक उपायहरु थप गरिएको छ र यस्तो दुर्घटना नहोस् भन्नका लागि ध्यान दिइएको छ ।’

अमेरिकाले पनि ग्राउण्डेड गर्‍यो


युरोपका अधिकांश देश, चीन, सिंगापुरसहित विश्वका विभिन्न देशले बोइङ ७३७ म्याक्स मोडलका जहाज ग्राउण्डेड गर्दा पनि ती विमानको उडान नरोकेको अमेरिकाले पनि अन्ततः यी मोडलका जहाज ग्राउण्डेड गरेको छ ।

सन् २०१७ को मे मा पहिलो व्यवसायिक उडान सुरु भएको बोइङ ७३७ म्याक्स एट मोडलका दुईवटा विमान दुर्घटनामा परेका छन् । गएको आइतबार इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५७ जनाको ज्यान गएपछि बोइङ म्याक्स एट र म्याक्स सिरिजको सुरक्षालाई लिएर चासो बढेको थियो ।

पछिल्लो पाँच महिनामा बोइङ ७३७ म्याक्स एट विमान दुर्घटनामा परेको यो दोस्रो घटना हो । लायन एयरले सञ्चालन गरेको यहि मोडलको विमान गएको अक्टोबरमा उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो ।

सुरुमा विमान ग्राउण्डेड नगर्ने बताएको अमेरिकाको संघीय उड्डयन प्राधिकरण (एफएए) ले आइतबार एडिस अबाबामा भएको विमान दुर्घटनाको नयाँ स्याटेलाइट डाटा र प्रमाण भेटिएपछि सुरक्षाका लागि ग्राउण्डेड गर्ने निर्णय गरेको बताएको छ ।

एफएएले बोइङका जहाज ग्राउण्डेड गरेको पछिल्लो ६ वर्षमा यो दोस्रो पटक हो । यसअघि सन् २०१३ मा एफएएले ७३७ ड्रिमलाइनरलाई ग्राउण्डेड गरेको थियो ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटना र पाँच महिनाअघि भएको लायन एयरको दुर्घटनाको प्रकृति उस्तै रहेकोमा अनुसन्धानमा संलग्न अधिकांश पक्ष सहमत भएकाले विमान ग्राउण्डेड गर्ने निर्णय गरिएको एफएएले उल्लेख गरेको छ ।

बोइङ ७३७ म्याक्स ग्राउण्डेड भएपछि एयरलाइन्सहरुले यात्रुको उडानलाई पुनः व्यवस्थित गर्नु पर्ने भएको छ ।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू