नेपालगञ्ज – भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याएका पशुपक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति लिइएपछि खसी–बोका तस्करी हुन थालेको छ ।

पशु क्वारेन्टाइन चेकपोष्टले ‘क्वारेन्टाइन नगर्ने’ भएपछि व्यापारीले छोटी नाकाहरुबाट खसी–बोका नेपालगञ्ज भित्र्याउन थालेका हुन् । छोटी नाकाहरुबाट नेपालगञ्ज भित्र्याइएको ८० वटा खसी वडा प्रहरी कार्यालय, नेपालगञ्जले बरामद गरेको छ ।

५–१० वटा गर्दै डो¥याएर नाका पार गरि नेपालगञ्जको रामनगरमा जम्मा पारेको खसीलाई प्रहरीले बरामद गरेको हो । केही खसी अन्यत्र राखिएको थियो । प्रहरीले बाँकेगाउँमा राखेको २० सहित ८० वटा खसी बरामद गरेको हो ।

नेपालगञ्जका मो. फहिम कुुरैसी, जाकिर कुरैसी र रहिस कुरैसी पक्राउ परेका छन् । खसी लोड गरिरहेका एकजना भागेको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज नारायण डाँगीले बताए । बरामद गरिएका खसी र मान्छेलाई भन्सार कार्यालय बुझाइएको छ ।

केन्द्रले भारतबाट कुनै न कुनै स्वास्थ्य प्रमाण नलिई आएमा त्यसको क्वारेन्टाइन नगर्नु भन्ने परिपत्र गरेपछि पशु क्वारेन्टाइन चेकपोष्टले ६ दिन यता कुनै पनि पत्र काटेको छैन ।

व्यापारीले भारतबाट स्वास्थ्य प्रमाण ल्याउन नसक्ने र भारतबाट प्रमाणपत्र नल्याएसम्म नेपाली क्वारेन्टाइनले जाँच पास नगर्ने भएपछि व्यापारीहरु चोरी बाटोमा लागेका छन् ।

बरामद गरिका खसी काठमाडौँ पठाउने तयारीमा रहेको व्यापारीले बताएका छन् । व्यापारीसँग खसीको कुनै पनि कागजपत्र थिएन ।

क्वारेन्टाइनले भारतबाट आउने दूधको पनि जाँच गर्दैन । अहिले नेपालगञ्जमा दैनिक तेह्र सय लिटर भारतीय दूध चोरी बाटोबाट आइरहेको छ ।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्