पोखरा महानगरले दर्ता नहुने प्याराग्लाइडिङ कम्पनीको उडान बन्द गर्ने

फाइल तस्बिर

पोखरा-विगत चार वर्षदेखि दर्ता प्रक्रियामा नआएका पोखराका प्याराग्लाइडिङ कम्पनीले महानगरले दिएको उडान बन्द गर्ने चेतावनीलाई बेवास्ता गरेका छन्।

गएको फागुन २२ गते महानगर र हवाई खेलकुद संस्थाबीच भएको सम्झौताअनुसार एक हप्ता भित्र महानगरमा दर्ता हुन आउने समय पाएर उडान यथावत राखेका कम्पनीहरु हालसम्म पनि महानगरको सम्पर्कमा आएका छैनन्।

महानगरले दिएको समयसीमा मंगलबार सकिएको भएपनि एक दिन थप गरी बुधबारसम्म दर्ता-नवीकरण र कर दाखिला गर्न आह्वान गरिएको थियो। बिहीबार पनि थप एक कम्पनी महानगरमा दर्ता हुन आएकोले हालसम्म २५ कम्पनी विधिवत् दर्ता भएका छन्।

महानगरमा ६१ कम्पनीको विवरण भएपनि ४५ वटा कम्पनी मात्रै सक्रिय रुपमा सञ्चालन भएको बताइन्छ। समयसीमामा महानगर लचिलो हुँदा पनि दायरामा आउन नचाहने कम्पनी विरुद्ध महानगरले अब कारवाहीको प्रक्रिया थाल्ने सूचना अधिकृत गंगालाल सुवेदीले जानकारी दिए।

‘दायरामा आउन नचाहेका कम्पनीलाई प्याराग्लाइडिङ उडाउन भर्न नदिई नाकामै निषेध गर्ने तयारी छ’, उनले भने, ‘महानगरले बैठक बसी निर्णय गर्ने भएको हुँदा एक-दुई दिन भित्रमा निचोडमा पुग्छौँ।’

राजश्व परामर्श समितिको बैठकले आवश्यक निर्णय लिएसँगै प्याराग्लाइडिङ कम्पनीलाई वडा नम्बर १८ सराङकोट प्रवेश नाकामा कर दाखिलाका लागि पत्र मार्फत आग्रह गर्ने र उडानमा रोक लगाउने तयारी रहेको अधिकृत सुवेदीले बताए।

कम्पनीले प्याराग्लाइडिङ सञ्चालनका लागि महानगरमा हालसम्मको ८६ हजार रुपैयाँ कर दाखिला गर्नुपर्ने राजश्व प्रमुख रोमप्रसाद उपाध्यायले जानकारी दिए।

दर्तामा आउन चाहिरहेका कम्पनीलाई समयसिमा केही लचिलो भएको उपाध्यायले बताए। ‘कानुन नमान्नेले व्यवसाय गर्न पाउँदैन,’ उनले भने, ‘महानगरमा आजसम्म पनि केही आइरहनु भएको भएको छ। अन्य केही वडामा पनि पुगेको जानकारी आएको छ। अब पनि महानगरको नियम मान्दैनौं भन्नेलाई कानुन अनुसार कारवाही गर्छौँ।’

उनका अनुसार गण्डकी प्रदेश सरकारलाई पर्यटन शुल्क बापत कम्पनीले वार्षिक १ लाख रुपैयाँ बुझाउनु पर्ने रकम महानगरमै दाखिला गर्नुपर्ने भए पनि असार मसान्तसम्म दाखिला गर्नुपर्ने छ। पोखरामा व्यावसायिक रुपमा प्याराग्लाइडिङका लागि सराङकोट, तोरीपानी, मान्द्रेमुढुंगा, ढिकीडाँडा क्षेत्र प्रयोग हुँदै आएका छन्।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्