‘विप्लव समूह’को माग

‘जनयुद्ध’ को जिम्मेवारी प्रचण्डले लिनुपर्छ, दोषी भए म पनि दण्डित हुन तयार – बाबुराम भट्टराई

फाइल तस्बिर

काठमाडौँ-पूर्वप्रधानमन्त्री, तत्कालिन माओवादीका ‘जनसरकार प्रमुख’ एवम् हाल फरक धारसहित नयाँ शक्ति पार्टीको नेतृत्व गरिरहेका डा. बाबुराम भट्टराईले जनयुद्धको जिम्मेवारी माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनु पर्ने बताएका छन्।

भट्टराईले युद्धका बेला बेपत्ता, अंगभंग र मारिएका परिवारको माग पुरा गर्ने जिम्मेवारीबाट प्रचण्ड कुनै पनि हालतमा भाग्न नमिल्ने बताएका छन्।

प्रचण्ड लगायत माओवादीका शीर्ष नेताहरुले जनयुद्धको सपना कुल्चिएको र सहिद, घाइते, बेपत्ताका परिवारलाई अवमूल्यन गरेको भन्दै केही वर्ष अघि उनीहरुबाट ‘विप्लव समूह’ अलगिएको थियो।

विप्लव समूहले राजनीतिका नाममा हिंसात्मक गतिविधिलाई प्रश्रय दिएको भन्दै तीन दिन अघि मात्रै सरकारले उसलाई प्रतिबन्ध लगाएको छ।

सरकारी निर्णयको पक्ष/विपक्षमा बहस जारी रहेका बेला भट्टराईले भने यसको मुख्य दोष प्रचण्डले लिनु पर्ने बताएका हुन्।

तत्कालिन माओवादी र सत्तासाझेदारसँग असन्तुष्ट बन्दै ‘विप्लव’ राजनीतिका क्रममा हिंसात्मक बाटो रोज्नुको कारण प्रचण्डकै अवसरवादी, स्वार्थी र ढुल्मुले प्रवृति भएको भट्टराईको ठहर छ।

भट्टराइले आफु पनि जनयुद्धमा संलग्न भएको र त्यसमा दोषी ठहरिए दण्डित हुन तयार रहेको बताएका छन्।

विप्लवको मागको प्रशंगमा सत्यनिरुपण तथा बेपत्ता आयोगलाई सक्रिय बनाएर युद्धकालका सबै समस्या समाधान गर्नु पर्ने उनको भनाई छ ।

भट्टराईले प्रश्न गरे,‘ प्रचण्डजी जसले त्यत्रो नेतृत्व गरेर आएको मान्छे माओवादी जनयुद्धको जिम्मेवारी लिनु पर्दैन? जवकी म त्यो भन्दा अघि माओवादीले अव पुग्दैन भनेर फरक धार लिएर हिडेको मान्छे त त्यसको दायीत्व लिन र दण्डित तयार छु। प्रचण्ड किन मौन। यो दुर्भाग्यपूर्ण हो मुलुकका लागि ।

चार वर्षसम्म पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगले जनयुद्धका पीडितका समस्या समाधानका लागि काम गर्न नसकेको भन्दै आलोचना तिव्र बनेका बेला माघ २४ गते त्यसका अध्यक्ष सूर्यकरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका थिए।

बेपत्ता छानबिन आयोगले पनि उद्देश्य अनुसार काम गर्न नसकेको गुनासो छ। तर सरकारले मुलुकको संक्रमणकालिन न्यायका लागि नेपाल आफै सक्षम रहँदै आएको र शान्ति प्रक्रियामा जस्तै मौलिकढंगबाट त्यो समाधान गर्ने बताउँदै आएको छ।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्