निर्मला बलात्कार र हत्या प्रकरणमा ६ प्रहरीसँग अदालतद्वारा धरौटी माग

 काठमाडौं- निर्मला पन्त  बलात्कार र हत्या  प्रकरणलाई लिएर भएको अनुसन्धानमा पक्राउ गरिएकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारी विरुद्ध जिल्ला अदालतले धरौटी माग्ने थुनछेक आदेश गरेको छ।

कन्चनपुर जिल्ला अदालतले बिहीबार गरेको थुनछेक आदेशमा आरोपित ड मध्ये ६ जनालाई धरौटीमा छाड्ने निर्णय छ। एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जिसी उपस्थित नभएका कारण उनिहरुबारे आदेश भएन। न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले उक्त फैसला गरेको हो। ६ प्रहरी अधिकारीमध्ये  दुई जनालाई यातना र सार्वजनिक न्याय तथा बाँकीलाई यातनामा मुद्धा चलाईएको थियो।

दुई मुद्धा चलाईएका  डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख  धरौटी माग्ने आदेश भएको हो। इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख  र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरिएको छ।

अनुसन्धानमा लापरबाही गरेको भन्दै निर्मलाकी आमाले प्रहरीविरुद्ध उजुरी दिएकी थिइन्। यसैगरि अनुसन्धानका क्रममा पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिईएको भन्दै उनले मुद्धा दर्ता गरेका थिए। सुरुमा निर्मला बलात्कार र हत्या प्रकरणमा अभियुक्तका रुपमा सार्वजनिक गरिएका विष्टको डीएनए नमिलेपछि उनलाई सरकारी वकिलको रोहबरमा साधारण तारेखमा छाडिएको थियो।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्