विप्लवका नेता कार्यकर्ता भूमिगत, नेपाल बन्दमा देखिएन चहलपहल

काठमाडौं- सरकारले प्रतिबन्द लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्द शान्तिपूर्ण रहेको नेपाल प्रहरीले दावी गरेको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बन्द गराउँदै हिँड्ने विप्लवका तीन कार्यकर्ता पक्राउ परेको जानकारी दिए।

कैलालीबाट पक्राउ परेका उनिहरुको साथबाट पार्टीका दस्ताबेजहरु बरामद भएको प्रहरीले जनाएको छ। सरकारले केही दिन अघि विप्लव समूहलाई आपराधिक चरित्रको परिभाषित गर्दै उसका गतिविधीमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

त्यसको केही दिनअघिमात्र सरकारले लगातार दमन गरेको विरोधमा विप्लव समूहले फागुन ३० गते नेपाल बन्द आह्वान गरेको थियो। प्रहरीले बन्दमा विप्लवका नेता कार्यकर्ताको चहलपहल नदेखिएको दावी गरेको छ। ‘उनिहरु बाहिर देखिएनन्’,महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भने। प्रहरीले बिहीबार देशका विभिन्न १२ ठाउँमा विस्फोटका शंकास्पद बस्तुहरु फेला परेपनि निस्कृय बनाईएको  जनाएको छ।

विप्लव समूहले काठमाडौं उपत्यकाभित्रै विस्फोटका गतिविधीहरु बढाएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएका थिए। उक्त  समूहले गराएको विस्फोटमा ललितपुरको नख्खुमा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। यसैगरी वैदेशिक रोजगार ब्यवशायी महासंघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमै पार्किङ गरि राखिएको गाडीमा समेत विप्लव समूहले विस्फोट गराएको थियो।

पार्टीका गतिविधीमाथी प्रतिबन्ध लगाईएपछि विप्लव समूहका नेता कार्यकर्ताको सार्वजनिक चहलपहल बन्द भएको अधिकारीहरु बताउँछन्।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्