विप्लवको बन्दमा अस्पतालमा साबिकझैँ चल्यो

‘बन्दकै कारण बिरामीको संख्या घटेन’

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दले राजधानी बाहिर जनजीवन प्रभावित भएपनि काठमाडौँ उपत्यकामा भने खासै असर देखिएन।

विहानैदेखि सार्वजनिक सवारीहरु निर्वाध रुपमा चलेका थिए। विभिन्न निजि तथा सरकारी कार्यालयहरु सञ्‍चालन भएका थिए। बन्दले राजधानीका अस्पतालहरुको सेवा समेत प्रभावित भएको थिएन।

ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा विरामीको चाप हुने एक प्रमुख अस्पताल हो। अस्पतालमा बन्दको कुनै असर परेको देखिएन। सधैँ झै अस्पतालमा बिरामीको चाप उस्तै थियो।

सधै झैँ विरामीका आफन्तहरु अस्पताल परिसरमा उसैगरी रातको निद्रा पुरागर्न सुतिरहेका थिए, कोही रिपोर्ट कुरिरहेका थिए भने कोही घाम तापेर बसिरहेका थिए।

डाक्टरहरु बिरामी जाँच्‍न व्यस्त थिए। पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले भने,‘अन्य दिनमा भन्दा बिहीबार बिरामीको चाप धेरै हुने गर्छ, तर सधैँ धेरै भन्‍ने हुँदैन। अस्पतालमा बिरामीको संख्या थपघट हुने भइरहन्छ।’ उनले भने,‘बन्दकै कारण अस्पतालमा विरामीको संख्या घटेको छैन।’

विरामीहरु आफ्नै हिसाबले अस्पताल आइरहेको र अन्य दिन जस्तै अस्पतालमा चेकजाँच गराएर जाने गरेको उनले बताए।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्