पूर्व भारतीय राजदूत रेले भने, ‘सीके राउतसँगको सहमति र विप्लवमाथिको प्रतिबन्ध ओलीको साहासिक निर्णय’

नयाँ दिल्ली-नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको भन्दै प्रशंसा गरेका छन्।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वराजदूत रायले यस्तो बताएका हुन् । उनले भने,‘विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीजीको साहसिक निर्णय हो, म स्वागत गर्न चाहन्छु।’ राउतलाई मूल प्रवाहमा ल्याएर ओलीले मुलुक विखण्डन हुनबाट बचाएको भन्दै रायले प्रशंसा गरे।

उनले ओली नेतृृत्वमा नेपाल–भारत सम्बन्ध धेरै राम्रो भएको पनि विश्वास दिलाए । नेपालमा आफूले विकास र समृद्धिको लागि प्रधानमन्त्री ओलीको विकल्प नदेखेको पनि तर्क गरे। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच केमेष्ट्री मिलेको उनको भनाई छ । उनले भने,‘त्यही भएर होला अहिले नेपाल र भारत सम्बन्ध धेरै राम्रो छ।’

नेपालमा भारतीय लगानी बढ्ने पनि उनको भनाई छ। उनले थपे,‘काठमाडौंमा हुन गैरहेको लगानी सम्मेलनमा भारतबाट बाक्लो सहभागिता हुन्छ ।’

फरक प्रसंगमा उनले अब सार्कको औचित्य नभएको जिकिर गरे । उनले भने,‘अब पाकिस्तानसहितको सार्क सम्मेलन हुँदैन । मैले त सार्कको औचित्य नै देखेको छैन । अब विम्स्टेकमात्रै अघि बढ्छ।’

नेपालसँग कुनै गुनासो छैन-भारतीय सञ्चार राज्यमन्त्री रविशंकर

यस्तै भारतीय सूचना तथा प्रशारण राज्यमन्त्री रविशंकर प्रसादले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध धेरै राम्रो रहेको स्पष्ट पारेका छन्।

उनले नेपालको बारेमा भारतको कुनै गुनासो नरहेको टिप्पणी गरे। उनले थपे,’अहिले नेपाल र भारतबीच कुनै असमझदारी छैन । हामी अहिले निर्वाचनमा बढी केन्द्रित भएका छौं।’

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्