बंगाल टाइगरसँग हार्‍यो ड्रयागन गर्ल्स :खेल जित्ने सपना अधुरै

विराटनगरमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको खेलमा बंलादेशको खेलाडीले गोल गर्दै। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

मोरङ- साफ महिला फुटबल च्याम्पियन्सीपमा भुटानको खेल जित्ने सपना अधुरै रहेको छ। बंगलादेशमा आयोजित पहिलो साफदेखि निरन्तर रुपमा प्रतियोगितामा सहभागिता जनाउदै आएको भुटान विराटनगरमा जारी पाचौं संस्करणमा समेत बंगलादेशविरुद्ध दुइ शुन्यको पराजय भोग्दै नजिताविहीन अवस्थामा घर फर्कन बाध्य भएको छ। जारी साफसंगै घर फर्कने पहिलो टोली बनेको भुटानको साफमा जित हातपार्ने सपना अधुरै रहन पुग्यो।

बिहीबार शहिद रंगशालामा सम्पन्‍न समूह एकको खेलमा बंगलादेशलाई जित दिलाउने क्रममा मोस्ट मिसहरत योहान मौसमी र सविना खातुनले गोल गरेका थिए। प्रतिस्पर्धात्मक बनेको सुरुआती पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रहेका थिए।

समूहको दोश्रो तथा आफ्नो अन्तिम खेलमा गर या मरको अवस्थाबाट गुज्रिएको भुटानका लागि खेलको ४७ औं मिनेट विर्सनलायक बन्यो। बंगाल खेलाडीसामूह मैदानमा प्रतिस्पर्धा गरिरहेको भुटानमाथि मौषमीले डि बक्सभित्र हेड मार्फत आकर्षक गोल गरिन्।

मोनिका चक्माको कर्नरमा रक्षापंक्तिका खेलाडीले मौषमीलाई मार्क गर्न नसक्दा भुटानले गोल आत्मसात गरेको थियो। एक शुन्यले पछाडि परेको भुटान त्यसपछि खेलमा फर्कन सकेन्। युवा खेलाडीका साथ साफमा सहभागिता जनाएको भुटानले खेलको ८५ औं मिनेटमा थप अर्को गोल खान पुग्यो। मैदानमा उत्साहित बंगाल टोलीका लागि कप्तान सविना खातुनले गोल गर्दै जित सुनिश्चित बनाएकी थिइन्।

खेलपछि भुटानका प्रशिक्षक सङ जाइ लि ले नेपालभन्दा राम्रो टोली भएकाले पनि बंगलादेशसँग जित निकाल्न नसकिएको प्रतिक्रिया दिए। नेपालविरुद्धको खेलमा तीन खेलाडी घाइते अवस्थामा हुनु नै आफ्नो लागि दुर्भाग्य बनेको उनले दोहराए । ‘नेपाललाई जित्न सकिएको भए बंगलादेशलाई पनि हराउने सम्भावना रहन्थ्यो,’ उनले भने, ‘तर दुबै टिमसँग हार बेहोर्नु पर्दा प्रतियोगिताबाटै विदा लिनु पर्‍यो।’

त्यसैगरि, बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले पूरै समय मैदानमा भुटानलाई दबावमा राख्दै जित निकालेको बताए। उनले आफ्नो टोलीको आक्रमण शैली, बल पोसेसन राम्रो हुनु पनि जितको मुख्य कारण भएको बताए ।

समूहमा पहिलो बन्ने होड।
भुटानमाथि सहज जित हात पारेको बंगलादेश र आयोजक राष्ट नेपालले शनिबार समूहको पहिलो र दोश्रो स्थानका लागि स्पर्धा गर्नेछन्। शनिबार हुने खेलमा दुवै टोली समूह बीको विजेतासंगको स्पर्धाबाट जोगिनका लागि जित हात पार्ने रणनीतिमा रहने छन्।

समूह बी मा भारतसहित श्रींलका र माल्दिभ्स रहेकाछन्। बुधबार भएको खेलमा माल्दिभ्सलाई शून्य ६ गोलले पराजित गरेको भारतीय टोली प्रथम हुने लयमा रहेको छ। त्यसैगरि समूह बी को दोश्रो स्थानमा रहने टोलीले भने समूह ए को पहिलो स्थानको टोलीसँग स्पर्धा गर्नेछ। जसका कारण नेपाल र बंगलादेश सेमीफाइनलमा कुनैपनि किसिमको जोखिम लिन चाहँदैनन्।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्