गण्डकी प्रदेश ‘हेलो मुख्यमन्त्री कक्ष’

जिएमसीका विद्याथीलाई मुख्यमन्त्रीले भने,-‘प्रधानमन्त्रीलाई तुरुन्तै एक्सन लिन भन्छु’

पोखरा -गण्डकी प्रदेश सरकारले जनताको गुनासो, सुझाव सुन्न व्यवस्था गरेको ‘हेलो मुख्यमन्त्री कक्ष’मा स्वयं उपस्थित भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बिहीबार अधिकांश गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आफ्ना दुःखेसो पोखेका छन्।

साँझ ५ बजेदेखि झण्डैं साढे ६ बजेसम्मको अवधिमा मुख्यमन्त्री गुरुङलाई कलेजमा अध्ययरत विद्यार्थीले आफूहरु बढि शुल्कको मारमा परेको र जायज माग राख्दै आन्दोलनमा उत्रदा अनेक अड्चन देखाएर पठनपाठन अवरुद्ध भएको भन्दै तिन विद्यार्थीले गुनासो दर्ता गराए।

दोस्रो फोनमा लेखनाथबाट सम्पर्क गरेकी अनिशा ढुंगानाले विद्यार्थीले राखेका माग र कलेजले लिइरहेको बढि शुल्कको विषयमा प्रदेश सरकारले चासो राखिदिन मुख्यमन्त्री गुरुङलाई आग्रह गरिन्।

प्रतिक्रियामा मुख्यमन्त्री गुरुङले मेडिकल कलेज प्रदेश सरकारको मातहतमा नरहेकोले देखिने गरी नियमन गर्न नसकेको जानकारी गराए । कलेज विद्यार्थीबीचको विवाद सम्बन्धमा प्रदेश सरकारलाई जानकारी भएको उनले बताए । ‘सञ्चालकहरु विरुद्ध विद्यार्थी कानुनी कारवाहीका लागि सुरक्षा निकायमा पुगेको हामीलाई जानकारी छ । प्रदेश सरकारबाट कलेज कसरी चाडैँ खोल्ने र गुणस्तरीय शिक्षाका लागि कसरी पहल गर्न सकिन्छ भन्‍नेबारे छलफल गरिरहेको छ,’ उनले भने ।

सञ्चालहरुले विद्यार्थी माथि पूर्वाग्रह साँधेको हुनसक्ने भन्दै न्यायलयमा हुने बहसमा योग्य वकिलहरु मार्फत बहस गराउन विद्यार्थीलाई मुख्यमन्त्रीलाई सुझाए। डेढ घण्टाको अवधिमा नौ वटा गुनासो सम्बोधन गरेका मुख्यमन्त्रीले छैठों र आठौं फोनमा समेत जिएमसीमा अध्ययनरत एक विद्यार्थीको उस्तै प्रकृतिको गुनासो सुने । विद्यार्थीको आन्दोलनका कारण ४५ दिनसम्म पठनपाठन अवरुद्ध हुँदा मर्कामा परेको र विद्यार्थीको मागलाई कलेजले सम्बोधन गर्न नसक्दा पीडित भएको मुख्यमन्त्री समक्ष उनको गुनासो थियो ।

मुख्यमन्त्री गुरुङले विद्यार्थीको गुनासोमा प्रतिक्रिया दिँदै संघीय सरकारस्तरका निकायलाई ध्यानाकर्षण गराउने आश्वासन दिए । ‘म आजै बेलुका प्रधानमन्त्री समक्ष गण्डकी मेडिकल कलेजको विषयमा तुरुन्तै एक्सन लिन भन्छु,’ उनले भने, ‘गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका मन्त्रीहरुको पनि ध्यानाकर्षण गराउँदै कानुनी कारवाहीका लागि पहल थाल्न अनुरोध गर्दछु ।’
प्रदेश सरकारकै सल्लाहमा सञ्चालक विरुद्ध गृह मन्त्रालय मार्फत कलेजका सञ्चालक खुमा अर्याल सहितका अन्य ११ जनालाई ठगि मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको भन्दै प्रदेशले खेल्ने भूमिका शसक्त हुने मुख्यमन्त्री गुरुङले विश्वास बाँडे।

त्यस्तै, नेपालकै पहिलो होमस्टेको रुपमा परिचित स्याङ्जा आँधिखोला गाउँपालिकास्थित सिरुबासी जाने सडक पिचमा भएको ढिला सुस्तीको विषयमा सोही गाउँपालिका निवासी एलपी ढकालले ध्यानाकर्षण गराए । पोखरा हेमजा निवासी चित्रबहादुरले यातायात व्यवस्था कार्यालयमा लाइसेन्स नविकरणमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती भएको गुनासो दर्ता गराए ।

विन्दवासिनीबाट सम्पर्कमा जोडिएका विष्णु नेपालीले आफू दृष्टिविहीन भएको र दैनिकी गुजारा समेत चलाउन गाह्रो भएकोले कोठा भाडामा बस्न नसक्ने भएको हुँदा आफ्ना लागि प्रदेश सरकारले छुटै आवास निर्माणका लागि पहल थाल्न मुख्यमन्त्री समक्ष अनुरोध गरे।

फेवाताल संरक्षणको नारा घन्काउँदै पामे–घाँटीछिँदा–पञ्चासे सडक निर्माणमा केही स्वार्थ समूहले चलखेल गरेको भन्दै प्रदेश सरकारले सो सडक यथासिघ्र निर्माण गरिदिन पामे निवासी मनिष तिमिल्सिनाले मुख्यमन्त्रीलाई आग्रह गरे । मुख्यमन्त्री गुरुङले प्रदेशका धार्मिक पर्यटनसँग जोडिएका धेरै त्यस्ता सडकहरुको स्तरोन्नती गरी सहज सञ्चालनमा ल्याउन आफ्नै कार्यकाल भित्रमा नै सक्ने गरी बहुवर्षीय आयोजनामा बजेट विनियोजन गरिने बताए।

लेकसाइडमा होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका इन्द्र थापाले दोस्रोपटक पनि सरसफाइ सम्बन्धी गुनासो दर्ता गराए । सुन्दर सहरको रुपमा परिचित पोखरा दिनदिनै फोहोर प्रदुषणका कारण कुरुप बन्दै गइरहेकोमा आफू चिन्तित भएको उनले दुःखेसो पोखे । प्रतिक्रियामा मुख्यमन्त्री गुरुङले सरसफाइ सम्बन्धी दीर्घकालीन योजनामा कानुन बनाएर प्रदेश सरकारले कार्यान्वयन गर्ने बताए ।

तत्कालका लागि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसँग समन्वय गरी उत्पादित फोहोरको उचित बिर्सजन गर्न पहल थाल्ने सुनाए । थापाको सोही सम्पर्कमा सुनिएको कोत्रेस्थित सडकको नाजुक अवस्थाबारे प्रदेश सरकारलाई चासो राख्न र यथासक्य निर्माण सक्न अनुरोध थियो।

मुख्यमन्त्री गुरुङले प्रदेशका धेरै यस्ता योजना संघीय सरकारको अधीनमा भएकाले प्रदेश सरकारले हस्तक्षेप गर्न नसकेको बताए । तत्कालको समस्या टार्नलाई प्रदेश सरकारले सडक विभाग लगायतका निकायलाई ध्यानाकर्षण गराउने विश्वास राखे । मादी गाउँपालिका निवासी दशरथ सापकोटाले आफ्नो गाउँपालिकामा नियमित विद्युत प्रसारणमा समस्या आएकोले दैनिकी असहज भएको सुनाए।

महिना वा पन्ध्र दिनको समयमा स्वयं उपस्थित भएर जनताको गुनासो, सुझाव लिन थालेका मुख्यमन्त्री गुरुङ ‘हेलो मुख्यमन्त्री कक्ष’मा यससहित तेस्रो पटक उपस्थित भएका हुन्।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्