नेपाल–कतार श्रम सम्झौता छलफल

शून्य लागतमा नेपाली श्रमिक लैजान कतार तयार, भिसा सेन्टर नेपालको दायरामा आउने

काठमाडौँ– कतार शून्य लागतमा नेपाली श्रमिक लैजान तयार भएको छ। नेपाल र कतारका अधिकारीहरुबीच बुधबार र बिहीबार दोहामा भएको छलफलमा कतार श्रमिक भर्ना गर्दाको सबै खर्च व्यहोर्न तयार भएको हो। यद्यपी यो विषलाई विस्तृतरुपमा श्रम सम्झौतामा नै नखुलाउन कतारको प्रस्ताव छ। उसले दुुई देशको प्राविधिक समितिमा प्रस्ट पार्नु पर्ने शर्त राखेको छ।

तर नेपालले भने सन् २००५ मा भएको श्रम सम्झौतामा धेरै विषय संक्षपमा भएका कारण श्रमिकलाई अप्ठेरो परेको भन्दै श्रम सम्झोतामा नै विस्तृतरुपमा उल्लेख गर्नु पर्ने प्रस्ताव गरेको छ। छलफलमा नेपाली टोलीले आफ्ना शर्तसहितको श्रम सम्झोताको प्रस्तावित मस्यौदा नै प्रस्तुत गरेको थियो ।

कतारी पक्षले नेपालले प्रस्ताव गरेका विषयको विसतृत अध्ययन र आन्तरिक छलफल गनृ आवश्यक भएको भन्दै त्यसपछि मात्रै आफ्नो तर्फबाट जवाफ दिने बताएको छ।

नेपालले श्रमिकको न्युनतम तलबमा वृद्धि, २४ घण्टे बीमा, न्यायमा सहज पहुँचको व्यवस्था, लगायतका प्रस्तावसहितको मस्यौदा कतारलाई बुझाएको छ। कतारले तोकेको न्युनतम तलब ७ सय ५० र २ सय रियाल खाना वापत गरी ९ सय ५० रियाल अहिलेको महँगी अनुसार कम भएको भन्दै नेपालले बढाउनुपर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पनि मान्न कतार तयार छ तर श्रम सम्झौतामा नै यो विषय खुलाउन भने उ तयार छैन। नेपाली टोलिका संयोजक श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेका अनुसार हरेक वर्ष थपघट भइरहने भएकाले प्राविधिक समितिमा यो विषयलाई उल्लेख गर्नु पर्ने कतारको शर्त छ।

यस्तै कतारले काठमाडौँमा सञ्चालन गर्ने तयारी गरेको भिसा सेन्टरको बारेमा नेपाली टोलीले गम्भीर चासो राखेको छ। बिहीबार त्यहाँको गृहमन्त्रालयमा पुुगेर भिसा सेन्टरको कानूनी हैसियत, श्रमिकले ब्यहोर्नु पर्ने खर्च र सञ्चालन प्रक्रियाका बारेमा जिज्ञासा राखेको छ।

भिसा सेन्टर कतार सरकारले विभिन्न देशमा सञ्चालनमा ल्याएको र यो निजी क्षेत्रबाट सञ्चालन हुने कतारले जानकारी गराएको छ।

नेपाली टोलिले भिसा सेन्टर पहिले नेपालको कानूनि दायरामा आउनु पर्ने र त्यसलाई नेपाल सरकारले नै नियमन गर्न पाउनु पर्ने माग गरेको छ। सूरुमा कतारले नेपालको सरोकारको विषय नहुने बतएपनि पछि नेपालको ऐन नियमको दायरामा ल्याएर सञ्चालन गर्न तयार भएको छ। आफ्नो दायरामा आएपछि मात्रै भिसा सेन्टर सञ्चालनका विषयमा नेपालले निर्णय गर्ने नेपाली टोलिले बताएको छ।

तीन वर्ष पछि भएको दुुई देशका अधिकारीहरुको बैठकमा श्रमिकलाई सहज न्यायमा पहुँच प¥याउने विषयमा पनि छलफल भएको छ। नेपालले समस्या आइलाग्दा कानूनि उपचार खोज्न श्रमिकलाई अप्ठेरो पर्ने गरेको र यसलाई सहज बनाउन प्रस्ताव गरेको छ।

कतारी टोलिले लेवर डिपार्टमेन्टमा भ्रमण गराउँदै कानूनी उपचारको विधिका बारेमा नेपाली टोलिलाई जानकारी गराएको छ। त्यहाँ रहेको कमिटिबाटै धेरै मुद्दा टुंगो लाग्ने गरेको र थोरैमात्र अदालतमा पुुग्ने गरेको जानकारी गराउँदै अदालतसम्म पुने मुद्दाका पीडितलाई काम गर्दै मुद्दा लड्ने अथवा नेपाल फर्किने व्यवस्था गर्न कतार सकारात्मक भएको छ।

पुनः श्रम स्वीकृतिको विषयमा कतारले चासो दिएपछि नेपालले सम्बन्धित देशमा रहेका कुटनीतिक नियागबाटै निश्चित समयका लागि पुन श्रम स्वीकृति दिने जानकारी दिएपछि कतारले खुशी व्यक्त गरेको छ।

१४ वर्ष पहिले भएको श्रम सम्झौता चाँडै पुनरावलोकन गर्न दुवै देशले तत्परता देखाएका छन्। कतारलाई आवश्यक गृहकार्य गरेर छिट्टै टुंगोमा पुग्न भनेको छ। अबको बैठक नेपालमा हुने र कुटनीतिक नियोग मार्फत मिति तय गर्ने सहमति भएको छ।

श्रम सम्झौता पुनरावलोकनका विषयमा छलफल गर्न ५ सदस्यीय नेपाली टोलि गत सोमबार दोहा प्रस्थान गरेको थियो । टोलीमा श्रम मन्त्रालयका सहसचिव घिमिरेसँगै, कानून मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक र श्रम मन्त्रालयका शाखा अधिकृत सहभागी छन्।

फाल्गुन ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्