विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति

ललितपुर – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका जनशक्तिलाई सरकारको समृद्धिको लक्ष्य र जनताको जीवनसँग गाँस्नुपर्ने बताएका छन् ।

६ दशकअघिका नीति तथा रणनीतिहरु कार्यान्वयन र परिमार्जन गराउने उद्देश्यका साथ विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति, २०७५ को मस्यौदामा सुझाव लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा उनले एक सयभन्दा बढी संस्था गठन हुँदा र ९० हजार वैज्ञानिक जनशक्ति निर्माण भएपनि वस्तुनिष्ठ समीक्षा हुन नसकेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले भने, “सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, खुशी नेपाली’को सोच साकार पार्न मुलुक कुन गतिमा अघि बढेको छ, त्यसतर्फ आकर्षित हुनु जरुरी देखिन्छ । भएको जनशक्तिलाई जीवनसँग गाँस्नुपर्छ ।”

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलप्रति सुनीलबाबु श्रेष्ठले सरकारी निजी साझेदारीको अवधारणमा सरकारका तीनै तहमा नीति कसरी कार्यान्वय गर्ने भन्ने स्पष्ट नभएको बताए ।

काठमाडौँ विश्वविद्यालयका प्रा. डा. जनार्दन लामिछानेले युगीन पुरानो एकात्मक ढाँचाको शासन प्रणालीलाई अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उद्घोषको नयाँ युगमा प्रवेश गर्न विभिन्न नीति तथा रणनीतिमा परिवर्तन भएको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले अनुसन्धानमा धेरै खर्च भएपनि त्यसमा गतिलो सहकार्य नभएकामा चिन्ता व्यक्त गरे ।

मन्त्रालयका शिक्षा सचिव कृष्णराज विसीले औद्योगिक आविष्कारले नेपालको कूल ग्रार्हस्थ्य माथि पु¥याउने बताए ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइएओएको डिन डा जगदीशप्रसाद अग्रवालले कुनै पनि पेशामा आबद्ध व्यक्तिलाई थप सेवा र सुविधाका साथ एउटै पेशामा रहिरहने नीति बनाउन माग गरे ।

९ सदस्यीय कार्यदलले तीन महीना १५ दिन लगाएर निर्माण गरेको सो मस्यौदालाई थप परिमार्जन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

राजनीतिक र आर्थिक कारणले कुण्ठित देशका प्रतिभाहरुलाई अनुसन्धान तथा आविष्कार क्षमता र प्राविधिक प्रतिभाको प्रदर्शन गराउने मस्यौदामा उल्लेख छ ।

–––

चैत १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्