बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ घाइते

जिरी – दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।

दुर्घटनामा २३ जना घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए ।

घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो ।

शुक्रबार बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करीब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको थियो ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्