खुमा अर्यालको मुद्दामा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

Gandaki Medical College. Photo: GMC

पोखरा – ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल लगायतलाई पक्राउ गर्न उच्च अदालत पोखराको आदेशले बाटो खुला गरिदिएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासले खुमा अर्याल सहित ६ जनाले माग गरेको निषेधाज्ञा रिट निवेदन उपर अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

आफूहरु विरुद्ध जारी भएको पक्राउ पुर्जीको निषेधाज्ञा माग जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाई अर्यालसहितले दायर गरिएको रिटमा उच्च अदालतले अन्तरिम आदेश नदिएपछि प्रशासनबाट हुने कारवाहीका लागि बाटो खुलेको छ ।

अदालतबाट जारी भएको ‘कानुन बमोजिम गर्नु’ आदेशले फरार रहेका नौ जनालाई जुनसुकै बेला प्रहरीले पक्राउ गर्न सक्ने छ ।

जिल्ला प्रशासन कार्यालयबाट खुमा सहित ११ जनालाई पक्राउ पुर्जी काटेको थियो । पूर्व सिइओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा फागुन २२ गते पक्राउ परे । फरार भएका अर्यालसहितले फागुन २३ गते पक्राउ पुर्जी विरुद्ध वारेसनामा मार्फत उच्च अदालतमा निषेधाज्ञाको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

बुधबार र बिहीबार दुईदिनसम्म चलेको बहसमा कलेज सञ्चालकको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठ, अधिवक्ता पूर्णराज राजवंशी र दीपक पौडेलले वकालत गरे ।

विद्यार्थीको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता तिलक पराजुली र भगवती पहारीले पैरवी गरेका थिए । त्यस्तै, उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता नरेन्द्रबहादुर चन्द र उपन्यायाधिवक्ता खेमराज पाठकले पनि विद्यार्थीको पक्षबाट पैरवी गरे ।

कलेजले प्रति विद्यार्थीबाट नौलाख भन्दा बढि अवैधानिक तवरले असुलेको प्रमाण सहित ठगि मुद्दामा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् । विद्यार्थीले सञ्चालकको बैंक खाता रोक्का गरी छानबिन गर्नुपर्ने भन्दै सम्पत्ति शुद्धिकरण विभाग काठमाडौंमा समेत उजुरी दर्ता गराएका छन् ।

बढि लिएको शुल्क फिर्ता गर्नुपर्ने, अनिवार्य बिल रसिद दिनुपर्ने लगायत चार बुँदे माग राख्दै माघ १७ गतेदेखि विद्यार्थी चरणबद्ध आन्दोलनमा छन् । पठनपाठन ठप्प छ भने, शिक्षण अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा प्रभावित भएको छ ।

चैत्र १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्