‘पूर्वराजाको जानकी मन्दिरमा पूजापाठ’

‘मधेश भन्दैनौँ, हामी तराई भन्छौँ, नेपालकै एउटा भू-भाग हो’

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरस्थित जानकरी मन्दिरमा पूजाअर्चनाका लागि जाँदै। तस्बिर-देश सञ्‍चार

जनकपुरधाम- पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा तथा दर्शन गरेका छन्। तराईका जिल्लाहरुको अवलोकन तथा भ्रमणको क्रममा रहेका पूर्वराजा शाहले शुक्रबार जानकी मन्दिर परिसरमा पुगी जानकी माता प्रतिमाको दर्शन तथा पूजापाठ गरेका छन्।

साढे ४ बजे जानकी मन्दिरको उत्तरद्वारबाटभित्र प्रवेश गरेका पूर्वराजा शाह ४५ मिनेटको अवधिमा सर्वसाधारणसंग सामान्य भेटघाट तथा फूलमाला लिएर घण्टौं देखि लाईनमा बसेकाहरुसँग सामान्य कुराकानी गरेका छन्।

जानकी मन्दिरमा पूजाअर्चना गरेपछि छोटो प्रतिक्रिया दिदैं पूर्वराजा ज्ञानेन्द्र शाहले आफनो इच्छा मुलुकमा शान्ति स्थापना हुनु रहेको बताए। उनले भने, ‘सबै नेपाली जहाँ बसेपनि सुख शान्तिले बसून्, यही हाम्रो कामना हो, ‘अहिलेको समय देशमा प्रगति हुनको लागि शान्ति छैन । शान्ति चाहिन्छ, त्यसैले सबैलाई सन्देश दिनुस।’

सञ्चारकर्मीले मुलुक वास्तवमै अशान्त भइसकेको हो भन्ने प्रश्नको जवाफमा पुर्वराजा शाहले जनताको मनोबल र परिस्थति बुझाई उनीहरुसँग नै सोध्न आग्रह गर्दै भने, ‘मधेशबारे हामी पहिलेदेखि नै तराई भन्दै छौँ, मधेश भन्दैनौ हामी तराइ भन्छौँ र त्यो नेपालकै एउटा भू-भाग हो।’

यता, मन्दिरमा पूजाअर्चनापछि उनी विवाह मण्डप पनि पुगेका छन् । जानकी मन्दिरमा पूर्वराजाको स्वागतमा बसेका उनका समर्थकहरुले ‘राजा आउँ देश बचाउ’ को नारा समेत लगाएका थिए।

यसअघि बिहीबार सर्लाहीको मलंगवामा दुर्गा मन्दिरमा पूजापाठ गरेका थिए । जनकपुरधामबाटै पूर्वराजा शाहको २ चैतमा उदयपुरको गाइघाट पुगेर राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।

गाईघाटबाट पुनः जनकपुरधाम फर्केर ३ चैतमा उनको सप्तरीको सखडा भगवतीमा पूजाअर्चना गर्ने कार्यक्रम छ। पूर्वराजा शाहका स्वकीय सचिव सागर तिम्लिसनाका अनुसार पूर्वराजा शाहले विभिन्न मठमन्दिर पुगेर पूजापाठ गर्नुका साथै आफ्ना समर्थकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

चैत १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्