भौतिक पुर्वाधार मन्त्री महासेठद्वारा धनुषामा तीन पूल शिलान्यास

देशैभरमा सडक निर्माण क्रममा २ सय १० पूलको निर्माण भइरहेको दाबी’

जनकपुरधाम-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले देशभरि नै ६ हजारदेखि ८ हजार किलोमिटर सडक निर्माणमा झण्डै २ सय १० पूलको निर्माण भईरहेको दाबी गरेका छन्।

धनुषाको जनकपुरधाम उप-महानगरपालिका स्थित दुधमति नदीको पूल शिलान्यसको क्रममा बोल्दै मन्त्री महासेठल झण्डै ८० देखि ९० वटा पूल अषाढ मसान्त भन्दा पहिले सम्पन्न हुन लागेको र १ सय २९ पूल अषाढ मसान्तबाट निर्माणको काम सुचारु हुन लागेको दाबी समेत गरेका छन्।

उनले यातायात र रेल सेवालाई सँगसँगै विस्तारको गर्ने ध्येयका साथ सरकारले काम गरिरहेको बताउँदै सरकारले भारत सरकारबाट रेल किन्ने प्रक्रिया समाप्त भईसकेको र भारतले रेल हस्तान्तरण गर्ने बित्तिकै सञ्चालनमा आउने दाबी समेत गरेका छन्।

कतिपयले धनुषामा मात्रै जम्मै विकास बजेट लग्यो भनेर आफुमाथी आरोप लगाउँदै आएको तर आफु धनुषाकै अनुपातमा देशको ७७ वटै जिल्लामा बजेट व्यवस्थापन गरेको मन्त्री महासेठले बताए।

उनले एउटा जिल्लाको विकास गरेर पूरै देश विकसित नहुने भएकोले विकटताको आधारमा समानुपातिक रुपमा बजेट बिनियोजन गरेको दाबी गरे।उनले भने, ‘भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत जति पनि कामहरु भईरहेको छ, त्यसलाई जेष्ठ मसान्त सम्ममा समाप्त गर्न निर्देशन दिएको छु। यदी समाप्त भएन र आलटाल गर्न खोज्यो भने, कानून बमोजिम कारवाहीको भागिदार हुन कसैले रोक्दैन।’

धनुषामा तीन वटा पूल शिलान्यास


भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले शुक्रवार धनुषामा तीनवटा पूलको शिलान्यास गरेका छन् । जनकपुरधाम उप–महानगरपालिकाको बसहियास्थित दुधमति पूल, नगराईन नगरपालिका स्थित जटहीको जमूनी पूल र सोही नगरपालिकाको गंगूलीमा जल्लाद पूलको शिलान्यास गरेको हो ।

शिलान्यास गरिएको पूल मध्ये दुधमति पूलको कूल सरकारी दररेट १७ करोड ३३ लाख ३१ हजार ८ सय ८२ भ्याट बाहेकमा १२ करोड ४५ लाख ८० हजार ८ सय १५ रुपैयामा रमण/कलम जेभी कन्ट्रक्सन जनकपुरले ठेक्का कबोल गरेको हो। जसको लम्बाई ५०.६ मिटर र २१.५ मिटर चौडाई रहेको पूललाई २४ महिना भित्रमा सम्पन्न गर्नुपर्ने छ।

 

धनुषाकै नगराईन नगरपालिकास्थित गंगुलीको २५ मिटर लम्बाई २१.३५ मिटर चौडाई रहेको जल्लाद पूलको सरकारी दररेट १६ करोड ५२ लाख ७० हजार ९८ रुपैया भ्याट बाहेक रहेपनि नागार्जुन/हेम कन्स्ट्रक्शन जेभी जनकपुरले ११ करोड १६ लाख १४ हजार ६ सय ३३ रुपैयामा ठेक्का कबोल गरेको छ। जसलाई २४ महिनाभित्रमा तयार गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको छ।

यसैगरी सिमावर्ती क्षेत्र जटहीमा ५०.६ मिटर लम्बाई र २१.५ मी चौडाई भएको जमूनी पूलको सरकारी दररेट २९ करोड ७९ लाख ४५ हजार ९० रुपैया रहेपनि रमण/कमल जेभी कन्सट्रक्शनले कम मुल्य २१ करोड १६ लाख ७६ हजार ४२ रुपैया (भ्याट बाहेक)मा ३० महिनाभित्र सम्पन्‍न गर्नेगरी कबोल गरेको छ।

चैत १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्