महिलालाई आरक्षण होइन, तालिम देऊ सरकार!

‘नारी दिवस मनाउने नारी देखेरै था भो डलरबादी हरू 😂

एउटी महिलाको ट्वीट मेरो टाइमलाइनमा झुलुक्क देखा पर्‍यो। ‘इग्नोर’ गर्न सक्थेँ, तर फुर्सदमै थिएँ। विस्तृतमा जान मन लाग्यो अनि यस्तै महिलाकर्मीमा लक्षित ट्वीट खोज्न थालेँ। यो महिलाप्रतिको कटाक्ष थियो। सुरुवात यहीँबाट र यसरी नै हुन्छ।

‘तिमीहरुले गरेको भएन, यसरी हुनुपर्थ्यो’, यो एउटा सानो उदाहरण मात्र हो तर यसले परम्परा बोकेको छ। अरुलाई सिकाउने, कटाक्ष गर्ने, हाँसोमा उडाउने हाम्रो परम्परा हो र यसमा प्रमुख पात्रको भूमिका महिलाहरुले नै निर्वाह गर्दै आएका छन्। अर्को उदाहरणका रूपमा ट्विटरमा  सक्रिय केही महिलावादी महिलाहरुलाई हेरौँ, उनीहरूको आफ्नो कामका लागि धेरै महिलाबाटै आलोचित छन्। किन महिला-हिंसाको आवाज जति उठ्नुपर्ने त्यत्ति उठिरहेको छैन? देशको जनसंख्याको आधा हिस्सा ओगटेको महिलाहरुमै चेतनाको स्तर बढ्न नसकेर त हैन? महिला अधिकार र समानताको कुरा धेरै पुरानो भइसक्दा पनि अझै सडक पेटीमा ‘महिला हिंसा, लैङ्गिक समानता, बलात्कार बिरूद्ध रोष’ जस्ता प्लेकार्ड बोक्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा दुर्भाग्यपूर्ण छ।

झण्डै १७१ वर्षअघि सन् १८४८ सेनेका फल्सको कन्भेन्सनलाई महिला-अधिकारको पहिलो कोसेढुङ्गा मान्न सकिन्छ। यो मतदानमा महिलाका अधिकारका लागि भएको थियो। सन् १९२० पछि मात्र अमेरिकाको सबै राज्यले महिलालाई भोट गर्ने मान्यता प्रदान गरेको हो। यसबाट के बुझ्न सकिन्छ भने अधिकारको लडाइँ सहज र छिटो छैन। तर यसो भन्दैमा धैर्यता अपनाउने त? अहँ, लडाइँ जारी अनि सशक्त हुनुपर्छ। अनि यस बाटोमा हिँडेका पाइलाले थकाइ महसुस गर्न पनि हुन्न।

यस लेखमा उठाउन खोजिएका कुरा महिलाहरु लैङ्गिक समानताका लागि तयार छन् या छैनन्? यदि छैनन् भने कुन क्षेत्रमा अधिकारकर्मीको ध्यान केन्द्रित हुनुपर्छ? भन्ने हो। महिलाहरुको हकहितका लागि महिलाले आवाज उठाएको अझै पनि कयौँ महिलालाई नै मन पर्दैन। तर, त्यही कुरा कुनै पुरुषले उठायो भने त्यो पुरुषको कुरामा होमा हो मिलाउन धैरै महिलाहरु अग्रसर हुन्छन्।

हामी नेपाली महिलामा समस्या के छ भने गाउँगाउँमा आमा समूह हुन्छन्, तर ती आमा समुूहमा कुन मुद्दामा छलफल हुनुपर्छ भनेर अघिल्लो दिनमा घरमा पुरुषले सिकाएर पठाउँछन्। यसमा पुरूष सहभागितालाई नकार्न खोजिएको भने हैन तर धेरैजसो विवाहित नारीहरू पुरुषको अनुमतिमा मात्र काम गर्छन्। प्रश्न उठ्छ- ‘के यो गलत हो?’ घरभित्र नितीनियम हुनु, परिवारको संरचना हुनु राम्रो कुरा हो तर श्रीमान-श्रीमतीबीच अधिकारको असमानता हुनु र त्यो एउटी महिलालाई स्वीकार्य हुनुमा समानताको लडाइँ  धेरै लामो छ भन्ने महसुस गर्न सकिन्छ।

विकसित मुलुकमा फेमिनिस्ट मुवमेन्टले धेरै प्रभाव पारेको छ। नेपालमा पनि तुलनात्मक रुपमा धेरै उपलब्धि भएका छन्। छोरीलाई पढाइन्नथ्यो, आजकल छोरीले पढ्नहुन्न भन्ने सुन्न पाइन्न तर अझै पनि ‘प्लस टु सकोस् अनि बिहे गर्दिने’, ‘राम्रो जागिर खाने केटो पाए छोरी दिन्छु’ वाला संस्कार हटेको छैन। छोरीले पढोस्, आफ्नो खुट्टामा उभियोस्, जरुरी सम्झिए आफैँ बिहे गर्छे भन्ने सोचाइ कहिले आउला?

नेपालमा अधिकारकर्मीलाई समस्याको मूल जडमा पुग्नु चुनौती नै भएको छ।

अब कुरा उठ्छ महिलाको सत्रु को हो?

महिलालाई अघि बढ्न नदिने को हो?

महिलालाई कुसंस्कार, कुरीति, कुचलनको आडमा पाइलापाइलामा छेकवार लगाउने को हो?

कुनै महिला चर्चामा आइन् भने सबैभन्दा पहिला त्यसको आलोचना गर्ने को हो?

घरमा महिला भएर यो गर्न हुन्छ, यो गर्न हुँदैन, छोरी मान्छेले यसो गर्ने हो, छोरी मान्छेले उसो गर्ने हो भनेर सिकाउने को हो?

यस्ता कति धेरै प्रश्न छन्, जसको जवाफ सबैले सजिलै दिने गरेका छन्। जबजब यस्ता प्रश्नहरु उब्जिन्छन्, सारा नारी जाति एकस्वर भएर भन्ने गर्छन, पुरुष हो। के साँच्चि नै पुरुष हो त महिलाको सशक्तीकरणको छेकवार, के पुरुष नै हो त महिलाको आवाज दबिनुको कारण, के पुरुष नै हो महिलाले स्वतन्त्र भएर बाँच्न नसक्नुको कारण?

महिलाको प्रधान शत्रु पुरुष हैनन्, पुरुषवादी सोच भएका मानिस हुन्। पुरुषवादी सोच हुनलाई पुरुष भइराख्नु जरुरी हुँदैन। हामीले आफ्नै वरिपरि हेर्‍यौँ भने महिलाको प्रमुख पिडकमा पुरुषवादी सोच भएका पुरुषभन्दा बढी पुरुषवादी सोच भएका महिला नै पाँउछौ।  यदि कुनै महिलाले एउटा केही सामाजिक कार्य गर्नुपर्‍यो भने कुनै विचारको प्रतिनिधित्व गर्दै नेतृत्व गर्नुपर्‍यो भने उसलाई जति पुरुषबाट प्रहार हुन्छ, त्योभन्दा बढी स्वयंम महिलाबाट नै हुन्छ। महिला सशक्तीकरणको लडाइँ पुरुषबिरुद्ध लक्षित नभई पुरुषवादी सोच भएका मानिसबिरुद्ध केन्द्रित हुनु जरुरी छ।

हामीले लिङगलाई भन्दा सोचलाइ प्राथमिकता दिनुपर्छ। जहाँ लैङगिक समानताको कुरा आउँछ, त्यहाँ महिला भएकै कारणले मैले यो पाउनु पर्छ भनेर वकालत गरिन्छ भने त्यसलाइ बिरोध गर्नु पर्छ। म महिला हुँ, त्यसैले मैले यो पाउनुपर्छ भनेर आन्दोलन नगरीकन म त्यसको लागी सक्षम छु, म त्यो काम गर्न सक्छु भनेर आन्दोलन गर्नुपर्छ। महिला आरक्षण लिने, अनी समानताको कुरा गर्न सुहाउँदैन। बरु त्यही आरक्षित कुराको लागि चाहिने योग्यता पुराउन तालिम देऊ, तालिमपछि म त्यो कुरा लिन्छु भन्न सक्नुपर्छ।

पहिला महिलालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाऊ, स्वावलम्बी बनाऊ, उसलाई फक्रिनफुल्न चाहिने कुराहरु उपलब्ध गराऊ, अनिमात्र महिला सशक्तीकरण सम्भव हुन्छ। आरक्षण आफैँमा नराम्रो हैन, आरक्षणको जुन हिसाबले प्रयोग भएको छ, त्यो राम्रो देखिएको छैन, आरक्षण सीमित अवधिका लागि हुनुपर्छ, त्यो अवधिमा बिनाआरक्षण प्रतिस्पर्धा गर्न सक्ने खुबी विकास गर्नुपर्छ। सधैँ टिका लगाएर पाएको अधिकारमा रमाएर बस्नु भनेको परजिवी हुनु हो, त्यसले आत्मरति त अवश्य मिल्ला तर आत्मसन्तुष्टि कदापि मिल्दैन। नेपालमा धेरै महिलाले आत्मनिर्णयको आधार बिनाको अधिकार पाएका छन्, राज्यका अङगमा महिला त पुगेका छन्, तर पार्टीले जुन मुख गर भनेको छ, त्यही गरेका छन्, जसो बोल भनेको छ, त्यसै बोलेका छन्। के यस्तै खालको अधिकार खोजेका हौँ हामीले?

दायित्वबोध र जवाफदेहीता हुन सक्नुपर्छ, दायित्वबोध र जवाफदेहीताबिना कसैले महिलालाई सर्वोच्च स्थानमा राखे पनि उनले पाउनुपर्ने सम्मान पाउँदिनन्। अझै भन्नुपर्दा टिका लाएर दक्षिणामा पाएको स्थानमा बसेर मलाई सम्मान गरेनन् भन्न सुहाउँदैन। हाम्रै देशमा सुशीला कार्की जति सम्मानित छिन्, त्यत्ति नै सम्मानित राष्ट्रपति हुन सकेकी छैनन्।

सुशीला कार्की आफ्नो बलबुताले त्यहाँ पुगेकी हुन्, उनले सम्मान कमाएकी छिन्। तर, राष्ट्रपतिको यात्रा मदन भण्डारीकी श्रीमतीबाट शुरु भएको हो, शुरुवातदेखि नै ‘विचरी विधवा’ उनलाई अघि सारिएको हो। आफ्नो अधिकारका लागि आफैँ लड्नुपर्छ। आफ्नो सम्मान आफैँले गर्नु पर्छ। जबसम्म महिलाले आफूले आफैँलाई सम्मान गर्न सक्दैनन्, तबसम्म जति नै आवाज उठाए पनि, जति नै समानताको कुराको ढोल पिटे पनि, अन्तिममा हात लाग्ने भनेको आशिर्वाद हो, टिके अस्तित्व हो।

यसो सोचेर ल्याउँदा म आश्चर्यचकित हुन्छु, आधा आकाश ढाकेका हामी महिलाले ३३% मा काम चलाउन खोजेका छौँ, राज्यका अङ्गमा अहिले हेर्‍यौँ भने कुर्सी भर्न महिलालाई राखिएको छ। हामीले मागेको कुर्सी हो र?

मनबाटै म महिला हो, फलानाकी छोरी हुँ, ढिस्कानाकी श्रीमती हुँ, चिलानाकी आमा हुँ भनेर आफैँलाई चिनाउँछौ, आफ्नो परिचय आफैँले आफूसँग नै लुकाउँछौ। आफूमा हिनताबोझले यस्तरी गाँजेको हुन्छ कि आफूमा नै भरोसा हुँदैन, अनि अरु कुनै महिला अगाडि बढेको देख्यौँ भने हाम्रो मुटु भतभती पोल्छ, रगत उम्लिन्छ, अनी हामी नै ती महिलामाथि बिषबमन गर्छौँ, उनले उठाएको विषय हाम्रो लागि गौण हुन्छ।

यदि कुनै महिलाले आफ्नो अडानका लागि आवाज उठाउँछिन् भने सबैभन्दा पहिला बिरोध गर्ने महिला तिनै हुन्छन् जो दबिएर थिचिएर बसेका हुन्छन्, अनि त्यो थिचोमिचोलाई न्यायपूर्ण हो भनेर बताउन तिनीहरुले नै ठूलो स्वरमा आवाज उठाइएकी महिलाको आलोचना गर्छन्। मनबाटै म महिला हो, फलानाकी छोरी हुँ, ढिस्कानाकी श्रीमती हुँ, चिलानाकी आमा हुँ भनेर आफैँलाई चिनाउँछौ, आफ्नो परिचय आफैँले आफूसँग नै लुकाउँछौ। आफूमा हिनताबोझले यस्तरी गाँजेको हुन्छ कि आफूमा नै भरोसा हुँदैन, अनि अरु कुनै महिला अगाडि बढेको देख्यौँ भने हाम्रो मुटु भतभती पोल्छ, रगत उम्लिन्छ, अनी हामी नै ती महिलामाथि बिषबमन गर्छौँ, उनले उठाएको विषय हाम्रो लागि गौण हुन्छ। हामी त्यो यस्ती, त्यो उस्ती भनेर उस्को ब्यक्तिगत जीवनमा भए/नभएका कुरा गरेर उसलाई निरुत्साहित गर्न कुनै कसर बाँकी राख्दैनौँ।

अर्को महिलाको ठूलो समस्या भनेको महिनाबारी र यो समयमा लाग्ने प्रतिबन्ध। छाउपडी प्रथाको बिरोधमा आवाज उठाउने धेरै छन्।

महिनावारी भनेको प्राकृतिक गुण हो, यो अशुद्ध हैन भनेर सबैले जानेका छन्। अनि हामी यसो आफ्नो वरिपरि हेर्छौ, महिनावारी हुँदा तिनै आवाज उठाउनेहरु आज त मलाई हुँदैन, घरमा बुढाले खाना पकाउनुहुन्छ भनेका हुन्छन्। आफ्नो पूजाकोठाको ढोका खोलेर तिनै महिलाभित्र छिर्दैनन्। अनि आफ्नै छोरीचेलीलाई तिनैले भान्साकोठा बाहिर खाना पस्केर दिन्छन्। सुदूरपश्चिमको छाउगोठ भत्काउनेहरु आफ्नै घरको, आफ्नै मनको छाउगोठ भत्काउन सकेका छैनन्। देवीदेवता रिसाउँछन् भनेर पूजा हुँदा टाढै बस्छन्। हामीले अरुलाई त धेरै सिकायौँ, अरुको डर त धेरै हटाउन खोज्यौँ, तर आफैले आफ्नो मनको अदृष्य डर हटाउन सकेनौँ।

हामी महिलाहरू सानासाना कुरामा खुसी हुन्छौँ। श्रीमानले आफूले खाएको थाल माझ्यो भने ठूलो काम गर्‍यो भन्छौँ। दिनभरि घर बसेको श्रीमानले खाना पकाइदियो, आफू घर आउँदा चिया दियो भने ठूलै उपलब्धिझैं गरी सुनाउँछौ। अनि हामी सजिलै माफी पनि दिन्छौँ, श्रीमानले रक्सी खाएर कुट्यो भने मातेर कुटेको हो, अरु बेला त कस्तो ‘माया गरिसिन्छ’ भन्छौँ। न आफूलाई केटाकेटीझैँ मिठाइ दिएर फकाएको थाहा पाउँछौँ, न नै आफूमाथि भएको अत्याचारको आँकलन गर्न सक्छौँ। न हामीलाई देवीको उपमा दिएर क्षमादायिनी (जुनसुकै अपराधको पनि) भनेर फुस्लाएको बुझ्छौँ, न धर्तीको उपमा दिएर सहनशील बन्न सुझाएको बुझ्छौँ। वास्तवमा हाम्रो माग मान्छे-मान्छेबीच हुने लैङ्गिक असमानताको अन्त्य हुनु हो।

परिवर्तन सहज छैन तर जरुरी भने अवश्य छ। राम्रो शिक्षा र संस्कार आवश्यक छ।

आफैँभित्र खोज्न र आफैलाई सोध्न जरूरी छ, हामीले खोजेको, चाहिएको विषयमा स्पष्टता हुनुपर्छ।

र अन्त्यमा,

महिला एक्लै शक्ति हो  भने समूहमा प्रभाव। महिला अधिकार भनेको नै पुरूषप्रधान सामाजिक व्यवस्थालाई प्रभाव पार्ने हो। हाम्रो संस्कार एक महिला अर्को महिलाको प्रतिस्पर्धी रहनपर्छ भन्ने रहिआएको छ र यहीँनेर परिवर्तन आवश्यक छ।

महिलाले आफ्नो अधिकार सुरक्षित गर्न आफ्नो मात्र अधिकार सुरक्षित गर्न खोजेर हुँदैन, आफूलगायत सम्पूर्ण महिला अधिकारको प्रत्याभूति हुने किसिमले काम गर्नुपर्छ। आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ। अनि मात्र साँचो अर्थमा महिला मुक्ति सम्भव छ। सम्पूर्ण महिलाहरुलाई महिला दिवसको ढिलै भए पनि शुभकामना। आवाज उठाउनलाई दिवस कुर्न नपरोस्।

ट्विटर ठेगाना: @Talk_2Abby

चैत्र २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्