अमेरिका–मेक्सिको सीमा पर्खाल

ट्रम्पले प्रयोग गरे भिटो, लाग्ने भयो आपतकाल

मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागु गर्ने आफ्नो निर्णयको विपक्षमा कंग्रेस जाने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानको मुख्य वाचा सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालको विषयमा सहमति नजुटेपछि आपतकाल लगाउने घोषणा गरेका थिए ।

तर राष्ट्रपति ट्रम्पको आपतकालको निर्णयको विपक्षमा कंग्रेसको प्रस्तावमा ट्रम्पले भिटो प्रयोग गरेका हुन् । यसको अर्थ मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागु हुनेछ ।

ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि आपतलकाल लगाउने निर्णयको विरोधमा ल्याएको प्रस्ताव बिहीबार कंग्रेसबाट पारित भएको थियो । यो प्रस्तावको पक्षमा १२ रिपब्लिकन सांसद पनि थिए ।

ट्रम्पले यसमा भिटो प्रयोग गरेर सीमा पर्खालका लागि आफ्नो प्रतिबद्धता स्पष्ट पारेका छन् । राष्ट्रपति ट्रम्पको भिटो रद्द गर्नका लागि कंग्रेसको दुवै सदनमा अब दुई तिहाई मत चाहिन्छ, तर यो सम्भव देखिँदैन ।

ट्रम्पले सन् २०१७ मा सत्ता सम्हाले यता भिटो प्रयोग गरेको यो पहिलो पटक हो । ट्रम्पले शुक्रबार भनेका छन्, ‘राष्ट्रपतिको रुपमा, देशको सुरक्षा मेरो सर्वोच्च जिम्मेवारी हो ।’

कानुन कार्यान्वयन निकायका अधिकारी, होमल्याण्ड सेक्युरिटी मन्त्री क्रिष्ट्जेन निएलसन, उप राष्ट्रपति माइक पेन्स, एटर्नी जनरल विलियम बारसहितको उपस्थितिमा ट्रम्पले भिटोमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले भिटोमा हस्ताक्षर गर्दै भनेका छन्, ‘हिजो कंग्रेसले खतरनाक प्रस्ताव पारित ग¥यो र त्यो कानुनमा परिणत भयो भने अशंख्य अमेरिकीलाई जोखिममा लैजाने छ । कंग्रेससँग प्रस्ताव पारित गर्ने स्वतन्त्रता छ र मसँग भिटो प्रयोग गर्ने । यो प्रस्तावमा भिटो प्रयोग गर्दा गर्व लागेको छ ।’

मेक्सिकोसँगको सीमा क्षेत्रबाट अवैध रुपमा आप्रवासी प्रवेश गर्ने गरेको र यसले देशको सुरक्षामा जोखिम उत्पन्न भएको भन्दै ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउनु पर्ने बताउँदै आएका छन् ।

तर ट्रम्पको सीमा पर्खालको विपक्षमा डेमोक्र्याटिक पार्टी र उनकै पार्टी रिपब्लिकनका नेताहरु छन् ।

चैत २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्