दाङ– गहते खोलामा आउने बाढीले धान, गहुँ फल्ने जग्गा कटान गर्‍यो । उब्जनी हुने जमिन बगर बन्यो । सिँचाइको लागि खोलामा कच्ची बाँध बनाईयो । त्यो बाँध पनि हरेक वर्ष बाढीले बगाउन थाल्यो । सिँचाई असुविधा चुलिदै गयो ।

धेरै उब्जनी हुने जमिन बाँझो र उजाड हुँदै गयो । खोलाले सिँचाई कुलो पनि भत्कायो । पानीका मुहान सुक्दै जान थाल्यो । यस्तो समस्या भोगेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गहते गाउँलाई हरियाली बनाउन नमुना प्लट तथा अध्ययन स्थलको रुपमा विकास गरिएको छ ।

गहतेमा सुकेका पानीको मुहान रसाउन थालेका छन् । सिँचाई बाँध बनाइएको छ । जसले गर्दा कुलोमा पानी लाग्ने भएको छ ।

‘गहते खोलाले कटान गर्ने ठाउँमा तटबन्ध गरिएको छ । बगर बनेको जग्गा उकासिएको छ । पानी नलाग्ने कुलोमा पानी लाग्ने भएको छ’उपभोक्ता समितिका अध्यक्ष देवबहादुर केसीले भने–‘बिगतमा जस्तो समस्या हुँदैन की अब ।

प्रदेश सरकारले गाउँमा कार्यक्रम ल्यायएपछि सधैं खोलाको कटानको जोखिममा रहेको हाम्रो गाउँ कटानबाट जोगिन पुगेको छ । यहाँको राम्रो काम अन्य ठाउँका मानिसलाई पनि देखाउने उद्देश्य छ ।’

उपभोक्ताको सहभागीतामा प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले भू–तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत नमुना तथा अध्ययन स्थल निर्माण गरेको हो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयको ५० लाखको बजेट र उपभोक्ताको जनश्रमदानमान नुमना प्लट निर्माण भएको हो । सिँचाई ड्याम, सिँचाई कुलो, खोला किनारा संरक्षण, पानीको मुहान संरक्षण गरिएको छ । संरक्षण पोखरी निर्माण गरिएको छ । एकिकृत जलाधार व्यवस्थापनको अवधारण अनुसार उप जलाधार क्षेत्रहरुमा कार्यक्रम सञ्चालन गरिएको छ ।

गहतेमा निर्माण गरिएको नुमना प्लट जिल्लामै पहिलो रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थपान अधिकृत शिवराज अधिकारीले जानकारी दिए।

‘दाङसहित प्यूठान, रोल्पा, रुकुम, बाँके, बर्दिया गरि ६ जिल्लामा हाम्रो कार्यक्रम छ । ती जिल्लाहरुमा एकिकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार काम गरेका छौँ’उनले भने–‘जनप्रतिनिधि, स्थानीय नागरिकहरुसँग समन्वय गरेर उपभोक्ता समूह मार्फत कार्यक्रम गरेका छौँ ।’

भू तथा जलाधार व्यवस्थापन कार्यालयले आर्थिक वर्ष ०७५÷०७६ मा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ९ करोड बजेट विनियोजन गरेको छ ।

जलाधार व्यवस्थापन कार्यक्रमको अनुगमन


प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव तधनन्जय पौडेलले भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर मार्फत सञ्चालन गरिएको कार्यक्रमको अनुगमन गरेका छन् । सचिव पौडेलसहित विज्ञहरुको टोलीले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोली समक्ष स्थानीय नागरिकहरुले थप बजेटको व्यवस्था गरेर अधुरा रहेका योजना पुरा गर्न ध्यानाकर्षण गराएका थिए ।

चैत २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्