नेपालगञ्ज– नेपालगञ्जमा हात्तिपाइलेको औषधी खानेको संख्या विगतको तुलनामा झनै घटेको पाइएको छ। बजार क्षेत्रकै बासिन्दाले हात्तिपाइलेको औषधी खान मानेनन्।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत गणेश कार्कीले ३५ प्रतिशतले मात्रै हात्तीपाइलेविरुद्धको औषधी खाएको बताए। उनका अनुसार, फाइनल रिपोर्ट भने तयार भइसकेको छैन।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये सबैभन्दा बढी पुरैनाका बासिन्दाले औषधी खाएका छन्। त्यहाँ ८६ प्रतिशतले औषधी खाएका छन्। ‘हात्तीपाइले रोग लागेका केही व्यक्तिहरु रहेकाले औषधी नखादा त्यस्तो हुन्छ भन्ने डरले त्यहाँ औषधी धेरैले खाएका छन्’, कार्कीले भने, ‘अन्यत्र धेरैले औषधी खाई दिएनन्।’

नेपालगञ्ज–३ एक्लैनी र वडा नम्बर ८ त्रिभुवन चोक आसपासका बासिन्दाले सबैभन्दा कम औषधी खाएका छन्। यी वडामा २० प्रतिशत हाराहारीले औषधी खाएको कार्कीले जानकारी दिए। वडा नं. ८ मा पहिलेदेखि नै औषधी कम खाने गरिएको थियो। दोस्रो चरणको अभियानदेखि यहाँका बासिन्दाले औषधी खान छोडेका हुन्।

२०६७ सालको पहिलो चरणमा औषधी खाएपछि धेरैलाई नकारात्मक असर गरेको भन्दै यहाँका बासिन्दाले दोस्रो चरणदेखि औषधी खान छोडेका थिए। नवौं चरणमा आइपुग्दा समेत त्यहाँका बासिन्दाले औषधी खाने गरेका छैनन्।

नेपालगञ्जमा गतवर्ष ५४ प्रतिशतले औषधी खाएका थिए। यसपटक औषधी खानेका संख्या अघिल्लो वर्षको जतिपनि नपुग्ने अनुमान गरिएको छ। महिला स्वयंसेविकाले औषधी बाँड्दा परिवार संख्या हेरेर दिने गरेको बताएपछि यसपटकदेखि स्वास्थ्यकर्मी नै परिचालन गरिएको थियो।

स्वास्थ्यकर्मीले आफ्नै अगाडि औषधी खान लगाएको सम्बद्धहरु बताउँछन्। तर यसपटक पनि धेरै ठाउँमा स्वास्थ्यकर्मीले परिवार संख्या हरेर औषधी पोको पारेर पठाइदिएको पाइएको छ। औषधी पोको पारेर पठाउने र खाएको भन्दै इन्ट्री गर्ने पुरानो रोग यसपाली पनि दोहोरिएको थियो।

नेपालगञ्ज–११ का अनिल श्रेष्ठले घरमा औषधी पोको पारेर पठाइदिएको बताए। कोरियनपुरलगायत अन्यत्र पनि त्यस्तो भेटिएको छ। फाल्गुन १५ देखि २६ गतेसम्म अभियान चलाएर औषधी बाँडिएको थियो। कतिपयले अहिले पनि स्वास्थ्य संस्थामा आएर औषधी खाइरहेको कार्कीले जानकारी दिए।

सरकारले ठूलो लगानी गरेर हात्तीपाइले रोगविरुद्ध अभियान चलाउने गर्दछ। त्यो अभियान बाँकेको हकमा त फेल नै भएको छ। बाँकेमा अभियान शुरु गर्दा २०.८ प्रतिशत हात्तीपाइले रोगी थिए भने आठाैँ चरण पूरा हुँदा १३ प्रतिशतमा झरेको छ। बाँकेमा अहिले पनि १३ प्रतिशत हात्तीपाइलेका बिरामी रहेका छन्।

सरकारले सन् २०२० सम्ममा मुलुकबाट हात्तीपाइले रोग निवारणको लक्ष्य लिएको छ। महँगो खर्चमा अभियान चल्ने तर जनताले औषधी नै नखाइदिनाले मुलुकबाट हात्तीपाइले रोग हटाउने सरकारको लक्ष्यमा धक्का लागिरहेको छ।

चैत २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्