म्याक्स म्याकफार्लिन
स्मृतिमा नेपाल लिएर फर्किएका अमेरिकीको कथा

नेपाली खानामा रमाएको एउटा अमेरिकी जिब्रो

स्मृतिहरु सजीव छन् । उनलाई पोखरामा एक हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ ।

उनी नेपाली नजान्ने, हजुरआमा अंग्रेजी नबुझ्ने । हजुरआमाले उनको समस्या बुझिन् । उनले हजुरआमाको इसाराको भाषा सम्झिए ।

अमेरिकाको अर्कान्ससबाट नेपाल घुम्न आउँदाका अमिट सम्झनाहरु म्याक्स म्याकफार्लिनले समेटेर राखेका छन् । नेपाल बसाईका सम्झनाहरुमा प्रिय बनेकी पोखराकी हजुरआमासँगै खाएको दाल–भातको स्वाद म्याक्सको जिब्रोमा भन्दा बढि मस्तिष्कमा गाढिएको छ अझै पनि ।

चकटीमा बसेर हातले खान थाल्दा नजानेको देखेर ती हजुरआमा हाँसेकी थिइन् । अनि नयाँ बनेको नातिलाई उनले हातले खान सिकाइन् । हजुरआमा–नातिको ‘बोण्ड’ बलियो बन्यो ।

केही हप्ताका लागि नेपाल आएका २६ वर्षे म्याक्सले हजुरआमासँग धेरै समय बिताउन पाएनन् । हातले खाने कलामा पोख्त हुन भ्याएनन् । र पनि स्मृतिमा हजुरआमाको अनुहारमा फुलेको मुस्कान अहिले पनि आँखाअघि झलझल्ती आइरहन्छ ।

म्याक्स खानाका पारखी हुन् र नयाँ ठाउँ घुम्ने रहरले बाँधिएका । बाँधिएका यो अर्थमा कि उनी जहाँ पुग्छन् त्यहाँको परिवेशसँग आफूलाई सकेसम्म मिलाउने प्रयास गर्छन् । त्यहिँको हुने प्रयत्न भइरहन्छ उनको ।

म्याक्सलाई गएको केही महिनाअघि नेपाल आउँदा यहाँ घुलमिल हुन त्यति अप्ठ्यारो परेन, स्वाद लिएर नयाँ परिकार खाने उनको बानीले सजिलो बनायो ।

यहि स्वादको यात्रामा भेट भएकी पोख्रेली हजुरआमाको स्मृति लिएर नेपालबाट अघिल्लो यात्रामा निस्किए, एक महिनाअघि ।

हनी र पोख्रेली हजुरआमा


तीन दाजुभाइ मध्ये कान्छा म्याक्सको बाल्यकाल हजुरआमा हनीसँग बित्यो । बुवाआमा काममा व्यस्त । अर्कान्ससको पशु फर्ममा हजुरआमाको घर, उनी त्यहिँ हुर्किए ।

हनीसँग जोडिएका बाल्यकालका धेरै सम्झनाहरु छन् म्याक्ससँग । ठूलो पारिवारिक जमघट भइरहने । त्यसका लागि हनीले सबै परिकार आफै बनाउने । म्याक्सले भान्छामा हनीलाई सघाउने ।

यहि क्रमले बाल्यकाल बित्दै गर्दा म्याक्सलाई परिकारशास्त्रमा मन बस्यो । उनलाई सम्झना छ, चार वर्षको हुँदादेखि नै म्याक्स हजुरआमा हनीसँग मिलेर खाना बनाउँथे ।

हनीलाई ठूलो पारिवारिक जमघटका लागि परिकार तयार गर्न झण्डै दुई दिन लाग्थ्यो । म्याक्सलाई रमाइलो ।

सन् २०१४ को मार्चमा हनीले देह त्यागिन् । म्याक्सलाई यसको गहिरो चोट पर्‍यो । हनीले जोडिदिएको खानासँगको नाता बलियो त थियो, तर हनी हुँदाको जस्तो स्वादिलो रहेन ।

‘हनी हुन्जेल पारिवारिक जमघट भइरहन्थे, थुप्रै खाना बन्थ्यो । स्वादको उत्सवजस्तै हुन्थ्यो’ म्याक्सले हनी बितेपछि ती सबै उनीसँगै बिलुप्त हुँदै गएको देखे, ‘उनी गएपछि पारिवारिक जमघट हुन छाड्यो । परिकारको विविधता कम भयो । मेरो बाल्यकालसँग जोडिएको सबैभन्दा प्रिय स्मृतिहरुको अन्त्य हुँदै गयो।’

त्यसपछि म्याक्सले खानासँग जोडिएको आफ्नो नातालाई आकार दिने मन गरे । उनलाई अधिकांश परिकार बनाउन आउँथ्यो, हनीले आफ्नो हातको सीप म्याक्समा सारेर गएकी त थिइन् नै ।

म्याक्सलाई भान्छामै सीमित हुने मन भने भएन । अनि खानासँगै आफ्नो अर्को ‘प्यासन’ यात्राको बाटो समाते । यात्रा र खानालाई जोडेर लैजान चाहे ।

सुरु गरे यात्रा । उनी यहि क्रममा नेपाल आए । केही दिन काठमाडौँ बिताएपछि पोखरा जाँदा एक पोख्रेली हजुरआमासँग भेट भयो । उनमा म्याक्सले हनीको रुप देखे ।

अहिले पोख्रेली हजुरआमाको नाम याद छैन, तर म्याक्सलाई उनले पकाएर दिएको दाल–भात र हातले खान सिकाएको कुराले म्याक्स पोखरासँग अभिन्न नै महसुश गरिरहेका छन् ।

नयाँ खाना र यात्रा


खानाले त्यससँग जोडिएको समुदाय र परिवेशको सँस्कृति बताउँछ । म्याक्सलाई खाना हुँदै नयाँ ठाउँको सँस्कृतिको अध्ययन गर्न सजिलो लाग्छ ।

म्याक्सले भने, ‘परिकारले परिवारको मात्रै होइन, समुदायको परिचय बोल्छ । खानासँग भोग मात्रै होइन, त्यसमा समुदायको इतिहास र पुर्खाले दिएको सीप जोडिएको हुन्छ । मलाई त्यो सीपको कथा प्यारो हुन्छ।’

खानाले नयाँ परिवेशमा घुलमिल हुन सजिलो बनाउने म्याक्सको यात्रा अनुभवले सिकाएको छ । उनी आफ्नी हजुरआमा हनीबाट सिकेको पाककला र परिकारहरुसँग जोडिएको कथा र उपकथा बताउँछन् । अनि अरुबाट पनि सुन्छन् चाख मानेर ।

यात्राको क्रममा पुगिने नयाँ ठाउँमा उनको पहिलो रोजाइ त्यहाँको स्थानीय परिकार पाइने क्षेत्र बन्ने गरेको छ । स्थानीयको स्वाद आफूले पनि लिने रहरले नै नयाँ ठाउँ र नयाँ परिकारमा तानिने गरेका हुन् म्याक्स ।

अरु देशमा जस्तै केही हप्ताको नेपाल बसाईमा उनले धेरै ठाउँ घुमे, त्यो भन्दा बढि धेरै परिकारको स्वाद लिए । स्वादसँग जोडिएको रेसिपी बुझे र त्यसको साँस्कृतिक पक्ष जान्ने प्रयास पनि ।

जिब्रोमै बसेको नेपाली स्वाद


दुई हप्ता केही दिनको नेपाल बसाईमा म्याक्सले काठमाडौँ र वरपरको क्षेत्र घुमे । त्यसपछि पोखरासम्म पुगे । उनी जहाँ पुगे त्यहाँ नयाँ परिकारको स्वाद लिए ।

काठमाडौँमा खाएको नेवारी परिवकार होस् या पोखरामा खाएको थकाली खाना सबै स्वादिला छन् उनका लागि ।

चट्पटे पिरोमा बानी परेको जिब्रो म्याक्सको होइन । तर पिरो स्वाद भएका नेवारी परिकार खाए । गुलियो स्वाद लिए । उनलाई चटामरी मन प¥यो । योमरी स्वादिलो लाग्यो । यस्तै झोल मम पनि खाए, अहिले पनि सम्झना आइरहन्छ ।

उनलाई थकाली थाली सारै मन परेको परिकारमा पर्छ । त्यसमा भएको गुन्द्रुकको अचार स्वादिलो लागेको रहेछ । अरु धेरै फरक स्वादका परिकार खाएका म्याक्सलाई पोखरामा नाम भुलेकी पोख्रेली हजुरआमासँग बसेर खाएको दाल–भात विशेष लाग्छ ।

‘त्यो दाल–भात बेग्लै थियो, विशेष थियो । मलाई हनीको सम्झना बलियो बनाउने माध्यम बनेको खाना हो त्यो । पोख्रेली हजुरआमाले भान्छामा उसैगरि बनाउनु भयो, जसरी मेरी हजुरआमा हनीले बनाउँथिनन् विभिन्न परिकार । मैले उसैगरि हेर्न पाएँ । त्यो दाल–भातको सम्झना सदैव प्रिय हुनेछ ।’

नेपाली खानाको कथा भन्नु छ


खाँदै गर्दा स्वादले फेरिने अनुहारको आकृति र त्यसले दिने मुस्कानले नयाँ ठाउँ उनलाई प्रिय लाग्छ । अहिलेसम्म अमेरिका बाहेक विभिन्न १० देश घुमेका र त्यहाँका खानाको स्वाद लिएका म्याक्सलाई नेपाली खानाको स्वादले दिएको सन्तुष्टि मिठो लागेको छ ।

चिया, सेलरोटीसहितका केही परिकार पाइने काठमाडौँको सानो ठाउँ र त्यहाँ भेटिएका चिया पारखीहरुसँगको भेटघाट म्याक्सले सम्झिरहन्छन् ।

सानैमा टेलिभिजनमा नेपालबारे हेर्दै र सुन्दै हुर्केका म्याक्सको नजिकबाट नेपाललाई नियाल्ने रहर त पूरा भएको छ । तर नेपाल र नेपाली परिकारलाई जान्ने समय भने मिलेको छैन । यसपटकको पहिलो भ्रमण काठमाडौँ र पोखरा आसपासमा मात्रै सीमित भयो ।

म्याक्सले भने, ‘नेपाल पुग्ने रहर म्याक्सले भने, ‘नेपाल पुग्ने रहर पूरा भयो, तर नेपाल हेर्ने र त्यहाँको परिकारहरुसँग घुलमिल हुने समय मिलेन धेरै । मलाई नेपालका गाउँहरु जानु छ । गाउँघरका भान्छामा बन्ने परिकारको स्वाद लिनु छ र त्यसको कथा भन्नु छ ।’

नेपाल अधिकांश विदेशीले चिनेको हिमाल, मन्दिर र मम मात्रै नरहेको र आफ्नो ‘फुड स्टोरी टेलिङ’ मार्फत सकेसम्म नेपालको स्वादको पाटो चिन्ने चिनाउने प्रयास रहने म्याक्सको मन छ ।

म्याक्स आफ्नो यात्रा र खानाको कथा युट्युबमार्फत भन्ने गर्छन् । म्याक्स भन्छन्, ‘अवश्य फेरि आउने छु, अनि घुम्ने छु भ्याएसम्मका गाउँहरु, लिने छु नयाँ स्वादहरु, पक्कै भन्ने छु त्यससँग जोडिएका कथाहरु ।’

प्रयोग भएका सबै तस्बिर म्याक्सले उपलब्ध गराएका हुन् ।

चैत्र २, २०७५ मा प्रकाशित