मृत भेटिएका शिशिरले साथीलाई पठाएको म्यासेज ‘मलाई खोज्न यहाँ आउनु’

तस्बिर सौजन्यः फोटो पत्रकार उमेश पुन

पोखरा– पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थी फेवा किनारमा मृत अवस्थामा फेला परेका छन्।

म्याग्दी बेनी नगरपालिका–८ घर भएका शिशिर केसी पामे क्षेत्रस्थित फेवातालमाथि तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। केसी गण्डकी मेडिकल कलेजमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।

उनले बिहान नजिकका एक साथीलाई मोबाइलमा म्यासेज गरी ‘मलाई खोज्न यहाँ आउनु’ भनेर आफू रहेको ठाउँबारे जानकारी दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

विद्यार्थीको रिपोर्ट अनुसार खोजीमा जुटेको वडा प्रहरी कार्यालय बैदामको टोलीले बाइक, हेलमेट, मोबाइल रहेको ठाउँमा भन्दा सय मिटर पर तालमाथि मृत अवस्थामा उनको शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले देश सञ्चारलाई जानकारी दिए।

घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डिएसपी शाहले बताए।

चैत्र २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्