जसले हजारौँलाई ज्योति दिए, आफू दृष्टिविहीन भए

भद्रपुर– शनिवार विदाको दिन अपरान्ह त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. केआर खम्बू भद्रपुरको मेची बहुमुखी क्याम्पस नजिकै रहेको घरमा ल्यापटपमा पढाउने सामाग्री तयार गर्दै थिए।
उनको घरमा पुगेपछि छामछाम–छुमछुम गर्दै ढोका आफैंले खोलिदिए। उनी हाल त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरका प्राध्यापक हुन्।
डा. केआर खम्बूले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्राणी शास्त्र विषयमा प्राध्यापन गरेको २५ बर्ष भयो। हुन त उनी २०४० सालदेखि नै प्राध्यापन पेशामा संलग्न छन्। धरानको हात्तीसार क्याम्पस, वीरगञ्जको ठाकुरराम क्याम्पस हुँदै उनी मेची क्याम्पस आइपुगेका हुन्।
केआर. खम्बू सरको कक्षा अन्य प्राध्यापकहरुको भन्दा भिन्न हुने गर्छ। उनले अचेल ‘मल्टिमिडिया’ प्रणालीमा आधारित भएर पढाउने गरेका छन्। तर उनको यो रहर होइन बाध्यता हो। ल्यापटप कम्प्युटरमा बनाइएका ‘पावर प्वाइन्ट’ स्लाइडहरु अरु कसैले बनाइदिएका होइनन्। खम्बू सर आफैं बनाएका हुन्।
उनको प्राध्यापन कालमा उनले हजारौंलाई ज्ञान दिए। अहिले पनि त्यो श्रृंखला जारी छ। तर अहिले उनको दृष्टि गुमेको छ। उनी भन्छन्, ‘अब त कुनै दैवी शक्तिले मात्र मेरो आँखाको दृष्टि फर्केला। नत्र यस्तै हो।’
खम्बू सरले ‘रेप्टाइल्स’ र ‘एम्फिबिया’मा २०६२ सालमा विद्यावारिधी गरे। त्यही बेला उनको आँखामा समस्या देखिन थाल्यो। विद्यावारिधी गर्ने क्रममा एकबर्षको जर्मनी बसाइका क्रममा उच्च रक्तचापको औषधि सेवन गर्न छुटेकाले उनको आँखामा त्यस्को असर परेको उनले सुनाए।
उनले भने, ‘यहाँबाट लगेको औषधि सकियो। त्यहाँ त्यो औषधि पाइएन। पछि नेपाल आएपछि मेची क्याम्पसकै विद्यार्थीलाई कोशी टप्पु लगेर फर्कँदा मेरो आँखाबाट झिल्का उठ्यो। त्यसपछि धमिलो देख्न थालें। प्रेसर बढेर मेरो आँखाको रगत जम्दा दृष्टि गुमेको रहेछ।’
उनको आँखाको उपचार विर्तामोड, काठमाडौं तथा भारतको चेन्नइमा गराइयो। तर दृष्टि फर्केन। उनी भन्छन्, ‘दाहिने आँखाको कुनाबाट झल्याक झुलुक चाहीँ हुन्छ। अहिले ७ देखि १० प्रतिशत चाहीँ दृष्टि छ। त्यसैले छामछुम गर्दै हिँड्छु।’
खम्बू सर २०६७ सालमा प्राध्यापक भएका हुन्। अब उनको प्राध्यापन पेशा करिब ७ महिना बाँकी छ। तर पनि उस्तै जाँगर छ। उस्तै जोश छ। उनी भन्छन्, ‘मेरो साथी नै ल्यापटप र इन्टरनेट भएको छ।’
पुरानो जमानामा प्राध्यापन पेशा शुरु गरे पनि अहिले उनलाई शारीरिक असक्तताले आधुनिक बनाइदियो। ल्यापटपमा दृष्टिविहीनहरुले सजिलैसंग कम्प्युटर चलाउनसक्ने ‘सफ्टवेयर’ हालेका छन्। ल्यापटप चलाएर उनले आफैं बनाएको पावर प्वाइन्ट स्लाइड देखाउँदै भने, ‘बोर्डमा लेख्न सक्दिन। मैले गर्ने यही हो।’
दृष्टिसहितको संसारबाट अहिले दृष्टि नभएको संसारमा पुग्दा निकै असहज भएको उनले अनुभव सुनाए। तर आफूले पनि नसम्हाले अवस्था अरु बिग्रिने भएकाले वातावरण सहज बनाउँदै लगेको उनको भनाइ छ।
उनले भने, ‘पहिला निकै गाह्रो भयो। अब के गर्ने होला, कक्षा कसरी लिने होला भन्ने थियो। तर मलाई प्रविधिले पुनः जागृत बनाइदियो। विद्यार्थी पढाउन सकिरहेको छु।’