कोरियामा प्रहरी धरपकडमा ज्यान गए वा घाइते भए आर्थिक सहायता पाउने

काठमाडौँ– दक्षिण कोरियामा अब भिसा नभएका प्रवासी श्रमिकले पनि प्रहरी धरपकडका क्रममा दुर्घटना भएर मृत्यु भए तथा घाइते भएमा आर्थिक सहायता पाउने भएका छन् । तर उनीहरुले कार्यस्थलमा प्रहरीले पक्रिनेक्रममा भाग्दा घाइते भए वा मृत्यु भएमा मात्रै उपचार खर्च तथा क्षतिपूर्ति पाउने भएका हुन्।

बिनाभिसा कोरियामा काम गरिरहेका प्रवासी श्रमिकहरुलाई अध्यायगमनको प्रहरीले पक्रिने क्रममा कुनै दुर्घटना भएमा, मृत्यु भएमा काम गर्दा भएको दुर्घटनाको रुपमा स्वीकार गरिने गरि श्रमिक कल्याण कर्पोरेसनले आफ्नो निर्देशिकामा परिवर्तन गरेको छ।

नयाँ निर्देशिका अनुसार क्षतिपूर्ति पाउनका लागि कम्पनीले श्रमिकको भिसा नभएको अग्रिम जानकारी गराउनु पर्ने, साहुले भाग्नलाई आदेश दिएको हुनु पर्ने र कामदारले काम गरिरहेको हुनु पर्नेछ।

तर यसरी भागेका कामदार अर्काको गाडी चढेर भाग्दा दुर्घटना भएमा, धरपकडको क्रममा प्रहरीसँग कुटपिट भएर चोटपटक लागेमा, आपराधिक गतिबिधि गरेको अवस्थामा भने कार्यस्थल दुर्घटना स्वीकारिने छैन। यो निर्देशिका अब घट्नेसँगै पहिलेका घटनाका सम्बन्धमा पनि लागु हुने प्रवासी मजदुर संगठन कोरियाका सचिव मधुसुदन ओझाले जानकारी दिए।

गत बर्ष म्यानमारका प्रवासी श्रमिकको धरपकडको क्रममा मृत्यु भएको थियो। उनको कार्यस्थलमा ज्यान गएको भन्दै क्षेतिपूर्तिकोलागि मुद्दा चलीरहेको छ। सन् २००७ देखि अहिलेसम्म अध्यायगमनले गरेको धरपकडको क्रममा १० जान प्रवासी श्रमिकको ज्यान गएको छ। धरपकडकै क्रममा ७० जना घाइते भएका छन्।

धरपकडको क्रममा ज्यान गुमाएकाका परिवारलाई तथा घाइते भएकालाई आर्थिक सहायता दिन माग गर्दै कोरियन प्रजातान्त्रिक मजदुर महासंघ केसिटियु, एमटियु लगायतले निरन्तर दबाब दिँदै आएका थिए।

 

चैत २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्