पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका जाने

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ अमेरिका यात्रामा निस्कने भएका छन्।
पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीको उपचारका लागि अमेरिका जान लागेका हुन्।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा भए पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सकेको छैन।

अध्यक्ष दाहाल र पत्नी सीताका साथ उनका छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका जानेछन्।

झण्डै दुई महिना पहिले नै पनि पत्नी सीताको उपचारका लागि त्यसतर्फ जान लागेका नेकपा अध्यक्ष दाहालले भेनेजुयला प्रकरणमा अमेरिकाको तीव्र आलोचना गरेपछि अमेरिका जाने कार्यक्रम सार्दै आएका थिए। भेनेजुयला प्रकरणपछि अमेरिकी राजदूत र्यान्डी बेरीले उनलाई निवासमै भेटेर अमेरिका जान सहजीकरणसमेत गरेका थिए।

यसअघि २००८ सेप्टेम्बरमा २०६५ असोजमा संयुक्त राष्ट संघको साधारण सभामा प्रधानमन्त्रीको हैसियतमा भाग लिन दाहाल त्यसतर्फ गएका थिए। मानव अधिकार उल्लंघनको आरोपमा कारबाही हुने आशंकाका कारण दाहालले अमेरिका लगायत युरोपका केही मुलुकको यात्रा टार्दै आएका थिए।

 

चैत २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्