अस्ट्रेलियन नेप्लिज बहुसांस्कृतिक कार्यक्रम सम्पन्न

अस्ट्रेलिया– अस्ट्रेलिाको सिड्नीमा अस्ट्रेलियन नेप्लिज बहुसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृतिलाई जगेर्ना गर्दै विदेशीहरू माझ नेपाल चिनाउने तथा समुदायमा आपसी भाइचारा अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएकोह ो ।

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजना तथा स्थानीय कम्बरल्याण्ड काउन्सिलको सहयोगमा उक्त कार्यक्रमको आयोजना भएको हो । मार्च १६ तारिख शनिबारका दिन सिड्नीको ग्रानभिल, १० काल्टर्न स्ट्रिटस्थित टाउन हलमा भव्य रूपमा उक्त कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा स्थानीय लेबर पार्टीकी राज्य सांसद जुलिया फिन, फेडेरल सांसद जुलिया आवेन, स्थानीय कम्बरल्यान्ड काउन्सिलका मेयर ग्रेग कमिन्स लगायतका काउन्सिलरहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा सहभागीहरूले सन् २००८ देखि नै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले यस्तो कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्त गर्दै बहुसांस्कृतिक समाजमा यस्ता कार्यक्रमहरूले आपसी समझदारी र सद्भाव बढाउने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालका विभिन्न जातजाति र समुदाय झल्कने पहिरनका साथै नाँचगान तथा सांगीतिक प्रस्तुती पेश गरिएको थियो जसमा कुमारी नाँच, गणेश स्तुति, देउडा नृत्य, थारू नाँचसँगै, किराँत, लिम्बू, राई, तामाङ लगायतका सांस्कृतिक प्रस्तुतीहरू थिए ।

यसका अलावा अस्ट्रेलियाको परम्परागत गीत, बेली डान्स तथा चिनियाँ नृत्य पनि सामेल थिए ।

कार्यक्रमकी संयोजक जानकी पौडेलले यस्ता खालका कार्यक्रमहरू बढ्दै गएमा समुदायमा बस्ने मानिसहरू एकआपसमा जोडिँदै जाने हुनाले आपसी समझदारी र सद्भाव बृद्धि हुने उल्लेख गर्दै बहुसांस्कृतिक समाज भनेको अनेक फूलका थुंगाहरू मिलेर बनेको फूलको गुच्छाजस्तो हुनुपर्ने बताइन् ।

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता केसीले उपस्थित सबैलाई धन्यवाद दिँदै अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई आफ्नो संस्कृति र परम्पराबारे बुझ्न तथा दोश्रो पुस्तालाई हाम्रो संस्कृतिको महत्व बुझाउनका निम्ति बहुसांस्कृतिक कार्यक्रम सहयोगी हुने जानकारी दिइन् ।

कार्यक्रममा विशेष अतिथि एनआरएनए ओसेनियाका संयोजक धर्मराज अधिकारीले विदेशका बसेर पनि मुलुकको कला संस्कृतिको जर्गेना गर्नु महत्वपूर्ण विषय भएकोले प्रतिष्ठान धन्यवाद दिँदै एकअर्काको सम्मान र सद्भाव बाँड्ने संस्कृतिले नै अस्ट्रेलियाको बहुसंस्कृतिक समुदायको महत्व बढाएको बताए ।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत दीपक खड्काले अस्ट्रेलियामा नेपालीहरूको उपस्थिति बढ्नुले हाम्रो कला, संस्कृति र परम्पराको पनि महत्व बढेको बताए ।

कार्यक्रममा नेपाली समुदायका अगुवाहरू इन्द्रा वन, शम्सेरसिंह थापा, गोवा कटुवाल, नन्द गुरुङ, दिनेश पोखरेल, विष्णु हमाल, ध्रुव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानकी महासचिव दिलु केसी र सचिव संगिता बस्नेत, कोषाध्यक्ष सीमा रोसी र सदस्य सम्झना पौडेलले अतिथिहरूलाई खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

चैत्र ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू