एसियन च्याम्पियन बनेका नेपाली धावक अजितको संघर्ष- एक वर्षमै १४ सेकेन्ड सुधार

काठमाडौँ – हङकङमा भएको तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै अजित कुमार यादबले नेपालको एथ्लेटिक्समा इतिहास रचेपछि यतिबेला उनको चर्चा चुलिएको छ।

सशस्त्र प्रहरी बल-एपिएफमा आबद्ध अजितले तीन हजार मिटरमा प्रतिस्पर्धा गर्दै पहिलो स्थान हात पारेका हुन्। उनले ८ मिनेट ३०.३२ सेकेण्डमा दूरी पूरा गरे ।

उक्त स्पर्धामा दोस्रो भएका भारतका खेलाडीले ८ मिनेट ३६.३४ सेकेण्डमा निर्धारित दूरी पूरा गरे । यमनका खेलाडी तेस्रो भए र उनले ८ मिनेट ३८.६० सेकेण्डमा दूरी पूराका थिए। चौथो स्थानमा जापानी खेलाडी रहे।

नेपालले एसियालीस्तरको अफिसियल एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेको यो पहिलोपटक हो। १७ वर्षीय अजित सर्लाही निवासी हुन्। प्रतिस्पर्धामा १५ खेलाडीले मात्र दौड पुरा गरेका थिए।

गत वर्ष भएको १० औँ राष्ट्रपति कपमा अजितले तीन हजार मिटरमा जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए। त्यसअघि भएको नवौँ राष्ट्रपति कपमा उनले ८ मिनेट ५६.२ सेकेन्डसहित स्वर्ण पदक जितेका थिए। ‘हामीले निकै आशा गरेका खेलाडि हुन् अजित’, पुर्व प्रमुख प्रशिक्षक सुशिलनरसिंह राणाले भने। अजितको यो पहिलो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

अन्तिम समयमा सहभागी 

तेस्रो एसियन युथ च्याम्पियनसिपमा नेपालबाट एक खेलाडी र एक प्रशिक्षकमात्र सहभागी थिए। एथलेटिक्स संघभित्रको चरम विवादका कारण यो प्रतियोगितामा नेपाली खेलाडी सहभागी हुने नहुने विषयमा अन्योलपुर्ण थियो।

हङकङको भिसा लगाउन कम्तीमा चार साता लाग्ने भएपनि प्रतियोगितामा सहभागी हुने प्रकृया नै तीन साताअघि मात्र सुरु भएको संघका एक अधिकारीले बताए। ‘दुई साता अघिमात्र हामीले भिसाको प्रकृया सुरु गरेका थियौँ।

१२ तारिखमा मात्र भिसा निश्चित भयो। कुरियरमार्फत नेपाल आउने हुँदा दुई दिनअघिमात्र अजित हङकङ गएका थिए। शुक्रबार राती पुगेका उनले शनिबार आराम गरे। उनी आजै नेपाल फर्कँदैछन्’, ती अधिकारीले भने। अजित लगनखेलस्थित पिनाकल कलेजमा कक्षा १२ मा अध्ययनरत छन्।

चैत ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्