नेपाली फुटबलर सावित्रा भण्डारी

मोजाको बल हुँदै साफ च्याम्पियनसिपसम्मको यात्रा

फाइल।

विराटनगर -विश्व विख्यात फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको शैलीमा गोलको सेलिब्रेशन गरेकी नेपाली फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी चर्चामा छिन्। उनको चर्चा रोनाल्डो शैलीको सेलिब्रेसनका कारण होइन उनले जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालका लागि गरेको प्रदर्शन हो ।

२२ वर्षकी सावित्रा हुन चाहिँ रोनाल्डोकी फ्यान हुन् र उनकै खेल्ने शैलीबाट प्रभावित भएकी छन् । अहिले उनका फ्यान धेरै छन् । विराटनगरमा जारी प्रतिस्पर्धामा नेपाललाई सेमिफाइनलसम्मको यात्रा तय गराउनमा उनको भूमिका महत्वपूर्ण रहेको छ ।

अहिले राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख खेलाडीको रुपमा रहेकी सावित्राले यहाँसम्मको यात्रा सजिलोसँग भने तय भएको होइन । लमजुङको सिमपानीमा सामान्य परिवारमा जन्मिएकी उनका दुई भाइ छन् । चार दिदीबहिनीमा उनी माहिली हुन् ।

स्थानीय स्वास्थ्य चौकीमा जागिरे रहेका पिताकी छोरी सावित्रालाई सानैदेखि फुटबलमा लगाव थियो । हुर्किँदै गर्दा महिला फुटबलर जमुना गुरुङ र अनु लामाहरुका बारेमा खबरहरुमा सुन्न थालिन् ।

उनलाई आफू पनि फुटबल मार्फत समाचारहरुमा आउने चाहनाले लोभ्याउँदै लग्यो शायद । रमाइलोका लागि खेल्ने सावित्राले त्यसपछि फुटबललाई आफ्नो उद्देश्य बनाइन् ।

घरबाट खासै रोकतोक थिएन र छैन । तर घरको काम सकेर खेल्नु पर्ने अवस्था भने थियो । जब केही कुरा ठानिन्छ, तब केही कुराले रोक्न सक्दैन भन्ने कुरा सावित्रामा लागु भयो ।

उनले काम सकेर गरेको अर्को मेहतन, फुटबलले उनको जीवनमा रंग ल्यायो–राष्ट्रिय टोलीबाट खेल्ने मौका पाइन् । सशस्त्र प्रहरीको क्लबमा आबद्ध रहेकी सावित्रालाई अहिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली टोलीको हिस्सा हुन पाएकोमा गर्व छ ।

सानोमा पुरानो मोजाको बल बनाएर खेलेको किस्सा अरु खेलाडीको पनि होला, सावित्राको पनि छ । गाउँमा बल थिएन, पुरोनो मोजामा अरु टालाहरु पोको पारेर बल बनायो, खेल्यो गर्दै यहाँसम्मको यात्रा तय गरेकी सावित्रालाई अहिले विगत फर्केर हेर्दा, त्यहि कुराले अहिलेको आफू बनाएको जस्तो लाग्छ ।

गाउँमा नाम भएको छ, माया गर्छन्, सावित्रालाई खुशी लाग्छ । अझै देशका लागि गर्न मन छ र फुटबलबाटै देशको नाम केही भए पनि राख्ने सपना छ भन्ने सावित्रालाई धेरैले खेलशैली मन पर्छ भनिदिँदा केही गरेछु जस्तो लाग्ने गरेको छ ।

चैत ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्