रोनाल्डोको सेलिब्रेशन विरुद्ध उजुरी

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोविरुद्ध अनुपयुक्त व्यवहार गरेको भन्दै उजुरी दर्ता गरेको छ ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको खेलको क्रममा ह्याट्रिक गरेपछिको रोनाल्डोको सेलिब्रेशन अनुपयुक्त रहेको युइएफएले उल्लेख गरेको छ ।

३४ वर्षका रोनाल्डोले ह्याट्रिक गरेपछि त्यसको सेलिब्रेशनको क्रममा एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनको शारीरिक भावको कपी गरेका थिए । पहिलो लेगमा २–० ले पराजित भएर पनि दोस्रो लेगमा रोनाल्डोको ह्याट्रिकको सहयोगमा युभेन्टसले अन्तिम ८ को यात्रा तय गरेको हो ।

प्रशिक्षक सिमोले पहिलो लेगमा जित निकालेपछि समर्थकतिर फर्किएर आफ्नो क्रच समातेका थिए। रोनाल्डोले दोस्रो लेगमा ह्याट्रिक गरेपछि त्यसै गरेका हुन् ।

युइएफएले रोनाल्डोविरुद्धको उजुरीमा मार्च २१ मा निर्णय गर्ने छ । सिमोनले आफ्नो सेलिब्रेशनका लागि २० हजार युरो जरिवाना तिर्नुपरेको थियो । क्वाटरफाइनलमा युभेन्टसले डच क्लब अजाक्ससँग खेल्नेछ ।

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्