नेपालगञ्ज – दोलखाकी महिला नाका पार गर्दै गर्दा ‘केरकार’ मा परिन् । उनले रुपैडिहा तरकारी लिन जान थालेको बताइन् । उनीसँग नुवाकोट र पाल्पाका महिला पनि थिए ।

नेपालगञ्जदेखि धेरै महिला–पुरुष सीमावर्ती भारतीय बजार रुपैडिहामा तरकारीलगायत सामान किन्न जाने गर्दछन् । यी महिलालाई पनि दलालले त्यही सिकाएका रहेछन् । खासमा उनीहरु कुवेत जान भारतीय बाटो प्रयोग गर्दै थिए ।

महिलाहरुसँग नागरिकता छैन । न त पासपोर्ट नै थियो । ‘घरमा काम गर्ने हो । मासिक ५० हजार भन्दा बढि हुन्छ’ भनेर दलालले महिलालाई प्रलोभनमा पारेका थिए । ती मध्ये पाल्पाकी एकजनाको कुरा सुन्दा त गाउँघरका ठगले पनि महिलालाई जोखिमपूर्ण यात्रामा जान बाध्य पर्दो रहेछ भन्ने लाग्थ्यो । ती महिलाले ४५ हजार ऋण लिएकी रहिछन् । साहुले ५० हजारको कागज गरेछ । पटकपटक गरेर एक लाख ४० हजार रुपैयाँ बुझाइसक्दा पनि साहुले अझै ३३ हजार बाँकी छ भनेर कागज गरेको रहेछ । त्यही ऋण तिर्न र पारिवारिक अवस्था सुधार्न उनी कुवेत जान थालेकी रहिछन्।

मानव बेचबिखनविरुद्ध काम गर्ने केआई नेपालले यी महिलाको उद्धार गरेको हो । नाका पार गराउने दलाललाई समेत पक्राउ गरे पनि महिलाहरुले उजुरी नगरेपछि कारबाही गर्ने अवस्था नरहेको केआईकी इन्चार्ज अपना भट्टले बताइन् । तीनजनामध्ये दुईलाई आफन्तको जिम्मा लगाइसकियो भने एकजनाका आफन्त आउँदैछन् ।

यो त दलालले मौखिक रुपमा सिकाएको कुरा थियो । सोमबार शक्ति समूहले नेपालगञ्ज नाकामा जोखिमपूर्ण यात्रामा निस्केका तीन जनालाई केरकार गर्‍यो । गणेशमानचोकस्थित एक होटलमा एक रात बसेका र बिहान खाना खाएर निस्केका उनीहरुलाई शक्ति समूहकी इन्चार्ज निर्मला थापाले पिछा गरेकी थिइन् ।

यी महिलाहरु दुई जना सिन्धुपाल्चोक र एकजना संखुवासभाका थिए । उनीहरुलाई दलालले आफैले हातले लेखेर ‘जाने–रुपैडिहा, घर कोहलपुर (चिसापानी)’ भन्न सिकाएका थिए । होटलदेखि नै पिछा गरेकी थापाले सबै कुरा बुझिसकेकी थिइन् । प्रहरीको सहयोगमा नियन्त्रणमा लिदा पो वास्तविक कुरा बाहिर आयो, उनीहरुमध्ये दुईजना साइप्रस र एकजना कुवेत जान थालेका रहेछन् ।

तीनमध्ये दुईजना नागरिकता थियो । एकजनासँग नागरिकता पनि लिएन । साइप्रस जाने महिलाले दलाललाई चार लाख ५० हजार बुझाउने सहमति थियो । एक महिलाले तीन लाख दिइसकेकी थिइन् । एक लाख दिन बाँकी थियो । अर्कीले पनि पैसा ठिक्क पारेकी थिइन् । दिइसकेकी थिइनन् । उनीहरुलाई दलालले घरको काम गर्ने, मासिक तीन सय ४० यूरो (४८ हजार) हुन्छ भनेका थिए । कुवेत जाने महिलासँग नागरिकता थिएन । उसलाई घरको काम गर्ने हो । मासिक ३५ हजार नेपाली हुन्छ भनिएको थियो ।

एउटै दलालले विदेश पठाउन नेपालगञ्जसम्म ल्याएपनि यी महिलाहरु एकले अर्कोलाई नचिन्ने बताएका छन् । तीनै जनालाई काठमाडौँबाट बसमा चढाएर नेपालगञ्ज ल्याइएको थियो । यहाँबाट एकजना अनुभवी महिलालाई नाका पार गराउन लगाईँदै थियो । नाका के भन्नुपर्छ भन्नेसम्म सिकाएका दलाल भने उनीरुसँग गएका थिएनन् ।

प्रतिलिपि नागरिकता


साइप्रस जान हिँडेकी सिन्धुपाल्चोकी ३७ वर्षकी महिलाले नागरिकता बनाएको चार दिन भयो । उनले फाल्गुन २९ गते दोस्रो पटक नागरिकता निकालेकी हुन् ।

२०६३ सालमै नागरिकता बनेको थियो । नागरिकता प्रतिलिपि निकालेर उनी विदेश जान नेपालगञ्ज आइपुगेकी थिइन् । यी महिला पहिला पनि कुवेत बसेर आएकी थिइन् ।

अर्की ३० वर्षकी महिलाको पनि दोस्रो पटक निकालेको नागरिकता थियो । २०४५ सालमा जन्मिएकी उनले २०६६ सालमा नागरिकता बनाएकी थिइन् । त्यो हराएपछि फेरि २०७२ सालमा प्रतिलिपि निकालिन् ।

विदेश जाने महिलाको नागरिकता दलालले पहिले नै लिने र त्यो हराएपछि फेरि अर्को निकाल्न लगाउने गरेको पाइएको छ ।

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्