बदलिएको वीर अस्पताललाई नजिकबाट नियाल्दा…

सन् १८८९ मा तत्कालिन राणा प्रधानमन्त्री वीर सम्सेर जवराले स्थापना गरेको नेपालको सबैभन्दा पुरानो र व्‍यस्त वीर अस्पताल काठमाडौंको मुटु रत्‍नपार्क नजिक रहेको छ।

शुरुमा मुलुकको एकमात्र जनताको अस्पतालको रुपमा परिचित यो अस्पताल सन् २००३देखि न्याम्स भन्‍ने संस्थाले सञ्‍चालन गर्दै आएको छ।लगभग ४५८ जति वेड भएको यो अस्पतालले विभिन्‍न मेडिकल र सर्जिकल सेवाहरु उपलब्ध गराउँदै आएको छ।

विज्ञापन

वीर अस्पतालको वारेमा धेरै सुने पनि प्रत्यक्ष रुपमा यसको सेवा प्राप्त गर्ने अवसर मिलेको थिएन।करीब ८ महिनाअघि त्यहाँको नाक,कान,घाँटी विभागमा सञ्‍चालित नेपाली सांकेतिक भाषाको अध्ययन गर्ने क्रममा मैले वीर अस्पताललाई अलि नजिकबाट हेर्ने मौका पाएँ।

आफू भाषा र भाषा विज्ञानसँग सम्बन्धि कुराहरुमा विशेष ध्यान दिने भएर होला त्यहाँका स्टाफहरुसित थोरै समयमा पनि राम्रै घुलमिल भयो।नियमित रुपमा कक्षामा जान नसके पनि वीर अस्पताल र त्यहाँका स्टाफ प्रतिको मेरो धारणा परिवर्तन भइसकेको थियो।

बाहिरवाट हेर्दा वीर अस्पताल एउटा फोहोरी र पैसा नभएका मान्छेले उपचार गर्ने थलोको रुपमा परिचित त छँदै थियो तर धुर्मुस-सुन्तलीको सरसफाई अभियानले मेरो धारणामा परिवर्तन ल्याइदियो।

सांकेतिक भाषाको कक्षा सकिएपछि फेरि मलाई फागुनको अन्तिम हप्तातिर मेरो पित्त थैलीमा भएको पत्थरीको शल्यक्रिया गर्नको लागि वीर अस्पताल नै जान मान लाग्यो।केही मेरा पुराना विद्यार्थीहरु र केही चिनजानका साथीभाइहरु भएको हुनाले मेरो उपचार वीरमै गर्ने निर्णय सहित मा यो राष्ट्रको पुरानो अस्पतालमा भर्ना भएँ।

मलाई सबैभन्दा बढी चिन्ता उपचार र शल्यक्रिया भन्दापनि अस्पतालको वेड, खाना र क्याविनको थियो।मलाई सबैभन्दा बढी सहयोग गर्ने मेरो पुरानो विद्यार्थी कोपिलालाई एउटा क्याबिन जसरी भए पनि व्‍यवस्था गर्नु बरु खाना म बाहिरबाट ल्याउने व्‍यवस्था गर्छु सम्म भनेको थिएँ।

कोपिलाले हाँस्दै पहिला आउनुहोस अनि जे गर्नुपर्छ गरौंला भनिन्।ख्याल ख्याल मान्दै म पनि पुरुष सर्जिकल वार्डको वेड नं. ३१४ मा भर्ना भएँ।त्यो बेलुका मेडिकल अब्जर्भेसन मात्र भएको हुनाले म एक्लै गएको थिएँ।बेलुका खाना खान तल क्यान्टिन झरें।

क्यान्टिन पनि बडो ब्यवस्थित रहेछ।सुपथ मुल्यमा सफा र मिठो नेपाली खाना पाइदो रहेछ।जब म वार्डमा गएं मलाई सबै नयां कपडाहरु(मेसिनमा धोएर सफा गरेका) दिइयो।त्यो रात मलाई ३-४ पटक सम्म डाक्टरहरुको राउण्डिङमा अर्को दिनको शल्यक्रियाको तयारी स्वरुप एनेस्थेसिया (बेहोस बनाउने)लाई ध्यान दिएर रातको १२ बजे पछि पूर्णरुपमा सवै कुराहरुमा रोक लगाइयो।

भोलिपल्ट दिउँसो १२:३० तिर शल्यक्रिया कक्षमा पुर्‍याइयो।हरेक क्षणमा हरेक कुराको सामूहिक छलफल गरेर मात्र निर्णय लिने यो प्रक्रिया नेपालका राजनैतिक पार्टी र सरकारी संयन्त्रमा बस्ने हरुले प्रयोग गर्ने भए देशले कति छिटो काँचुली फेर्ने थियो भन्‍ने लाग्यो।

शल्यक्रियापछि मलाई २४ घण्टा पोष्ट अपरेशन वार्डमा राखेर अनुगमन गर्दोरहेछ।त्यहांपनि हरेक घण्टामा आउने डाक्टरहरुको समुह उनिहरुका टोलिनेता(सायद एम.डी.का प्राध्यापक हुनु पर्छ) र उनीहरुको सामहिक छलफल अनि त्यसको नर्सहरुवाट टिप्पणी र फलोअप विधीले मलाई एकछिन त अचम्म बनायो।

यदि कुनै नयाँ समस्या आएमा टेलिफोनमार्फत सम्बन्धित विज्ञहरुबाट सल्लाह लिने यो तरिका देख्दा अझै पनि हाम्रो मुलुकमा मानवीयता,अनुशासन र पूर्वीय गुरुकुलको प्रभाव मरेको छैन जस्तो लाग्यो।

यतिमात्र होइन विरामीहरुको निरीक्षण गरेपछि अनौपचारिक छलफलमा डाक्टर र नर्सहरुको आफ्नो पढाइप्रतिको गहन चिन्तन बारेको भलाकुसारी सुन्दा चिकित्सा विज्ञानमा नेपाल दक्षिण एसियामा सबैभन्दा अब्बल त्यसै भएको होइन रहेछ भन्‍ने कुराको फेरि याद आयो।

२४ घण्टे निरीक्षणपछि मलाई फेरि साधारण वेड मा सारियो र अर्को एक दिन पुन: डाक्टरहरुको नियमित परामर्श र नर्सहरुको सेवा अनुभव गर्ने मौका मिल्यो।अन्तमा मैले अस्पतालवाट डिस्चार्ज हुने समय आयो।

विदाई हुनु अघि डा. घनश्‍या थापा, डा. किशोर देव र डा. अर्चना केसीलगायतको टिमले मेरो परिचय लिंदै यो सामुहिक शल्यक्रिया भएको जानकारी गराउंदै फेरि पनि आवश्यक परेमा सहयोग गर्ने वचन दिनु भयो।सवै डाक्टर र नर्सहरुको कुरा सुन्दा यस्तो लाग्थ्यो कि अझै एक हप्ता बसेर यो अस्पतालको बारेमा अरु अध्ययन अनुसन्धान गरुँ।तर मेरो समय सकिएकोले पुन: एक हप्ता पछि शल्यक्रियाको टाँका खोल्न आउने निर्णय गर्दै म अस्पतालबाट बाहिरिएँ।

नेपालको चिकित्सा क्षेत्रमा न्याम्स र वीर अस्पतालमा मैले भोगेको सानो अनुभवले एउटा कुरामा मलाई बढी नै गर्व र आशावादी बनायो।त्यो के भने हरेक व्यक्तिले आफ्नो कर्तव्‍य रअनुशासनको पालना गर्न सके देश सुखी र समृद्व हुन समय लाग्दैन।

उपचारको लागि बढी पैसा खर्च गर्न विदेश र प्राइभेट अस्पतालमा जानुको सट्टा आफ्नै देशका अनुभवी डाक्टरहरुलाई विश्वास गर्न सकियो भने उनीहरुलाई पनि हौसला बढ्ने र आफू पनि मनोवैज्ञानिक रुपले देशप्रेमी हुन सक्ने कुराको सम्भावना देखिन्छ।

गौतम त्रिविका उप-प्राध्यापक तथा नेल्टाका रिसर्च कोर्डिनेटर  हुन्।

चैत्र ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्