‘प्रतिबन्ध लगाउने होइन्, सरकार सुध्रिनुपर्छ’

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले अहिलेको दुई तिहाई सरकारविरुद्ध आन्दोलन र प्रदर्शन गर्ने भएको छ । विकास निर्माण, भ्रष्टाचार, अनियमितता र अधिनायकबादलाई प्रशय दिएको भन्दै राप्रपा संयुक्त सडकमा आन्दोलन गर्न लागेको हो ।

मंगलबार बिहान वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय डा. प्रकाश चन्द्र लोहनी र पशुपतिसमशेर जबराले सरकारको गतिविधिविरुद्ध आन्दोलन चर्काउने बताए । ‘प्रजातन्त्रका नाममा अधिनायकबाद र भ्रष्टाचार मौलाएको छ’ अध्यक्ष डा.लोहनीले भने, ‘संसदमा सरकारविरुद्ध प्रतिपक्षले सशक्त भूमिका निर्वाह गर्न सकेन्, हाम्रो उपस्थिति सदनमा छैन् । अब राप्रपा संयुक्त प्रजातन्त्र बलियो बनाउन सरकारविरुद्ध आन्दोलन गर्छ ।’

बहुमतको सरकारले काम थालेको एक वर्षमा पनि विकास गर्न नसक्दा जनता निराश बनेको उनले बताए । सत्तामा दलिय स्वार्थ, गुटगत स्वार्थको हावी भएकाले विकासको साटो भ्रष्टचारको प्रशय भएको उनले आरोप लगाए ।

‘केपी ओली प्रधानमन्त्री भएर आएसँगै देशमा भ्रष्टाचार अन्त्य हुन्छ भन्नुभएको थियो तर, देशमा ठीक विपरित भ्रष्टचार विकास भयो’ अध्यक्ष जवराले भने, ‘ह्वाइवडी खदिर प्रकरणदेखि बुढीगण्डकी, मेलम्ची खानेपानी लगायतका गौरवका आयोजना निर्माण हुन सकेनन् । सरकार भ्रष्टचारमा डुङ्गडुङ्ग्ती गनाएको छ ।’

उनले तीनै तहमा सरकार सञ्चालन गरेको वर्तमान कम्युनिष्ट सरकार भ्रष्ट भएको आरोप लगाए । ‘ढाड भाँचिने गरि कर बढेको छ तर, सरकारले विकास निर्माणमा प्रगति देखाउन सकेको छैन्’ उनले भने, ‘केन्द्रमा मात्रै होइन्, कम्यूनिष्ट नेतृत्वको प्रदेश, गाउँ–नगर र वडा, वडामा भ्रष्टाचार पुगेको छ ।’

सरकारका गतिविधि सन्तोषजन र विकासमुखि नभएको भन्दै जनताको समर्थनमा सडक आन्दोलन तताउने उनले बताए । राप्रपा संयुक्तको गतिविधिप्रति पनि प्रतिवन्ध लगाउने सांकेतिक अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा वलीले दिएको भन्दै उनले आपत्ति प्रकट गरे । ‘विप्लव समुहको दर्जामा राखेर प्रतिवन्ध लगाउँने सांकेतिक अभिव्यक्तिहरु आएका छन्’ उनले सरकारलाइ चुनौती दिदै भने,‘तागत छ भने कारवाही गर्नुहोस्, प्रचार प्रसार गर्न पाउने मौलिक हक हो । हामी अगाडि बढ्छौँ ।’

फरक प्रशंगमा विप्लव समूहमाथि लगाएको प्रतिबन्धनको प्रतिफल राम्रो नहुने उनले बताए । ‘प्रतिबन्ध लगाउँदा आफ्नो अनुहार ऐनमा हेरे हुन्थ्यो’ उनले भने,‘भ्रष्टाचार, अनियमितता बढेको छ, विकास भएको छैन् । यसकारण जनतामा बढेको निराशाले विद्रोह हुनुसक्छ’ उनले भने, ‘विद्रोह नहोस् भन्ने हो भने प्रतिबन्ध लगाउने होइन्, सरकार सुध्रिनुपर्छ ।’

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्