नेपाली टोलीकी गोलरक्षक एन्जिला

‘उपाधि घरमै राख्ने जिम्मेवारी छ र पूरा गर्ने लक्ष्य’

विराटनगर – सानै उमेरमा पारिवारिक चपेटामा परेकी एन्जिला तुम्बाफो सुब्बाले सोचेकी पनि थिइनन् नेपाली फुटबलमा आफूलाई स्थापित गर्छु भनेर। ईलामको सुर्योदय नगरपालिकास्थित तिनघरेमा जन्मिएकी एन्जिलाको परिवार सानै हुँदा बुवाबाट अलग भएको थियो।

बुवा लोकबहादुर गेसाले दोश्रो विवाह गरेपछि सानो बुवासँगै बसेर उनले आफ्नो जिम्मेवारीबोध गर्न थालिन्। सो समय एन्जिला मात्र चारवर्षकी थिइन्। स्थानीय श्रीपूर्ण स्मारिका विद्यालयबाट पढाई पूरा गरेकी २२ वर्षिया एन्जिला हाल काठमाडौँको बनस्थली क्याम्पसमा स्नातक तह दोश्रो वर्षमा अध्ययनरत छिन्। बुवाले सानैदेखि पढ्नुपर्छ, पढेर भविष्य बनाउनुपर्छ भनेको याद आउने बताएकी एन्जिलाले सोही अनुसार आफू पढाईमा पनि केन्द्रित रहेको स्पष्ट पारिन्।

पारिवारिक वातावरण फुटबलको नभए पनि दिदीले मनिता राईले कहिलेकाँही फुटबल खेलको देख्दा रहर लाग्दै गएको बताएकी उनले भनिन्, ‘दिदीले फुटबल खेल्दा आफूलाई पनि खेलु खेलु लाग्थ्यो।’ परिवारमा खासै समर्थन नपाए पनि च्यातिएको जुत्ता र कपडामा स्थानीय मैदानमा सिक्न खेल हेर्न पुग्थिन्। यसक्रममा दिदी मनिताले राम्रो सहयोग गरेको उनले बताइन्।

पहिलोपटक क्षेत्रीय खेलका लागि दिदी मनिताको साथमा पहिलोपटक इलाम पुगेकी एन्जिलाले राम्रो प्रदर्शन गरिन्। त्यसपछि उनको चयन पूर्वाञ्चलको टोली हुनपुग्यो, दोश्रो रोजाइको गोलकिपरको रुपमा। केहीसमय बेन्चमा सीमित भएकी एन्जिलाले २०६८ सालमा आयोजित छैटौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक ग्लोभ्सको सदुपयोग गर्ने अवसर पाइन्। जतिबेला उनको उमेर १४ वर्षमात्र रहेको थियो।

त्यसपछि उनले ग्लोभ्स फुकाल्ने समय पाएकी छैनन्। एन्जिलाको गोलकिपिङ देखेर विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफका डिएसपी प्रेमकुमार श्रेष्ठले क्लबमा आबद्ध गराए। जतिबेला उनी कक्षा ९ मा अध्ययनरत रहेकी थिइन् र १५ वर्षमात्र पुगेकी थिइन्।

सशस्त्रबाटै खेल्दै आएकी एन्जिला त्यसपछि उनी २०७० सालमा राष्ट्रिय टोलीमा चयन भइन्। टोलीमा समेटिन, तर ग्लोभ्स लगाउने मौका २०७० सालमा पाकिस्तानमा आयोजित तेश्रो साफमा उनले पाएकी थिइन्। प्रतियोगिताभर बेन्चमा सीमित बनेकी एन्जिलाले मैदानमा प्रवेश पाउने अवसर पाइनन्। त्यसको दुईवर्षपछि २०७२ मा भारतमा आयोजित चौथो साफमा लिला लाम्गादेको स्थानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन्। श्रीलंकाविरुद्ध सेमीफाइनलमा ग्लोभ्स लगाउने मौका पाएकी एन्जिलाको किपिङ आकर्षक रहेको थियो। सो खेल नेपालले एक शुन्यले जित्दै फाइनल यात्रा तय गरेको थियो।

१६ क्याप जित्दै टोलीको पहिलो रोजाइमा रहेकी एन्जिलाले जारी साफमा गोल खानु परेको छैन्। उनी भन्छिन्, ‘राष्ट्रिय टोलीको गोलकिपर हुनु जिम्मेवारी वहन गर्नु निकै चुनौतिपूर्ण छ। मैदानको अन्तिम छेउमा बसेर ध्यानपूर्वक साथीहरुलाई मार्क गर्न र संकेत गरिरहनु पर्छ, सम्झाउनु पर्छ।’

राष्ट्रिय टोलीको क्याम्प राखेदेखि नै प्रशिक्षण गराउदै आएका गोलकिपर प्रशिक्षक मृगेन्द्र मिश्र पनि उनको खेलबाट प्रभावित भएको बताउँछन्। विगत दुई–तीन वर्ष यता एन्जिलामा अनुभव र आत्मविश्वास बढ्दै गएको बताएका मिश्रले भने, ‘म्यानमारविरुद्ध ओलम्पियक छनोटका क्रममा पनि राम्रो प्रदर्शन गरेकी एन्जिलाले भारतमा आयोजित वुमन्स गोल्डकपलाई निक्कै लोभलाग्दो खेल प्रस्तुत गरेकी थिइन्।’ वान टु वान, टाइमिङ र डाइभिङ पोजिसन एन्जिलाको राम्रो रहेको बताएका मिश्रले एयर बलमा चाही केही कमजोरी रहेको बताए।

जारी प्रतियोगिताको उपाधि हात पार्ने लक्ष्य बुनेकी गोलकिपर हाँस्दै भन्छिन्, ‘यसपटक घरेलु मैदान र दर्शकको मायासँगै सबैलाई चित्त बुझ्ने गरि उपाधि घरमै राख्नुपर्ने जिम्मेवारी आइपरेको छ।’

चैत ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्