होली रङको पर्व हो। रंग सँगसंगै होलीमा आपसमा खुसी र प्रेम साटासाट गरिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेषगरी हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन्।
होलीमा घरपरिवार-साथीभाइ एक आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइन्छ। केटाकेटी, युवायुवती देखि लिएर बुढापाकासम्म होेलीले नछुने कोही हुँदैन। होलीको रङले सबैमा उत्साह र उमङ्ग ल्याएर आएको हुन्छ। रङको प्रयोगमा सावधानी अपनाउन नसक्दा होली सधैं उल्लासमय नहुन सक्छ। रङमा प्रयोग हुने विभिन्न रासायनिक पदार्थ, लिड (सिसा) जस्ता केमिकलले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सहरु बताउँछन्।
होली खेल्दा आँखामा रंग पर्ने समस्या सबैभन्दा हुने गरेको छ। जसले गर्दा आँखामा एलर्जि हुनुका साथै आँखा रातो हुने, चिलाउने र आँखाको दृष्टिसमेत गुम्नसक्ने चिकित्सकले बताएका छन्।
विज्ञहरुले होलीमा रासायनिक रंगको उपयोग खतरनाका हुने चेतावनी दिएका छन्। उनीहरुले सकेसम्म प्राकृतिक रङको प्रयोग गर्न सुझाएका छन्। पछिल्लो समय प्राकृतिक रंग नपाइने भएका कारण रसायनयुक्त रंग नै प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ। त्यसैले रङको प्रयोगमा गर्दा विभिन्न अपनाउने पर्ने विज्ञको सुझाव छ।
होलीमा प्रयोग हुने रङले स्वास–प्रश्वास, किड्नी, स्नायु प्रणाली, कानको जाली फुट्न सक्ने समस्या, छालासम्बन्धी विभिन्न समस्याले देखापर्न सक्ने चिकित्सकले बताएका छन्।
छाला रोग तथा सौन्दर्य विषेशज्ञ डा. धमेन्द्र कर्णका अनुसार, बजारमा पाइने धेरैजसो रङ्गमा ‘हेभी मेटल्स’ हुन्छ। हरियो रङ्गले आँखामा एलर्जी वा स्थायी अन्धोपन निम्त्याउन सक्छ। यस्तै, नीलो रङ्गले छालामा एलर्जीे, रातो रङ्गले स्मरणशक्तिलाई हानी, चम्किलो रङ्ग क्यान्सरको कारक, बैजनी रङ्गले दम र एलर्जीे, कालो रङ्गले मृगौलामा समस्या उत्पन्न गराउन सक्दछन्।
उनले भने,‘होली खेलेपछि छाला पोल्ने, छालाको रङ्ग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्याले देखिन्छ। होली खेल्दा नङ्ग काटेर, टोपी लगाएर, शरीरको प्रायः सबै भाग छोपिने गरी कपडा लगाएर खेल्नुपर्छ। उनले होली खेल्नु अघि शरिरमा तेल वा मोइस्चराइजर लगाएर मात्र खेल्नु पर्ने सुझाव दिए।
‘होलीको रङ्ग पखाल्दा छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुदैन। यसो गर्दा छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ।’ डा. कर्णले भने,‘शरिरमा भएको सुख्खा रङ्ग पुछेपछि मात्रै नुहाउनु पर्छ। शरीर मजाले पखालेर तेल वा मोस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ।’
अझ कतिपयले होलीमा शरिरका विभिन्न ठाऊँमा पेन्ट गर्ने गरेको समेत पाइन्छ। त्यस्तो पेन्ट कार्वनयुक्त हुने हुँदा शरीरका लागि विष सावित हुने गरेको डा. कर्णले बताए। कार्वनयुक्त पेन्टले आँखा, छालामा असर गर्ने हुँदा त्यसको प्रयोग गर्ने नहुँने उनको सुझाव छ।
‘लिड’ के हो ?
लिड एउटा गरुङ्गो धातु तथा घातक रसायन हो। जसले विशेषगरी बालबालिका र वयस्कहरूलाई हानी गर्नसक्छ। लिडले मानिसलाई बौद्धिक रुपमा अशक्त बनाउँछ। यसले मानसिक रूपमा विविध समस्या देखिनुका साथै शारीरिक रूपमा राम्ररी कामगर्न नसक्ने अवस्थामा पुर्याउन सक्छ। जसले बालबालिकाको विकास, व्यवहार, र सिक्ने क्षमतामा ह्रास आउन सक्छ।
विश्व स्वास्थ्य संगठनले समेत लिड (सिसा) लाई विश्वव्यापी रूपमा जनस्वास्थ्यमा असर पुर्याउने प्रमुख १० रसायनमध्ये एउटा प्रमुख घातक रसायन भएको जनाएको छ।
लिडले व्यक्तिपिच्छे फरक–फरक असर गर्ने भएतापनि विशेषगरी बालबालिका गर्भवती महिला र उनीहरूबाट जन्मिने बच्चाहरूमा शारीरिक तथा मानसिक समस्या देखिने गरेको जनस्वास्थ्य तथा वातावरण प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए। उनले केही औषधि, मसला र सौन्दर्य सामाग्री, चक्लेट र खानामा समेत पनि लिडको मात्रा पाइएको बताए।
‘मानव शरीरमा लिडको कुनै सुरक्षित मात्रा हुँदैन। लिडले खासगरी बालबालिकाको शारीरिक, मानसिक एवं बौद्धिक विकासमा असर पुर्याउँछ।’ साहले भने,‘विश्व परिवेशको तथ्यांक अनुसार लिडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धि समस्याहरूले बर्षेनि करिब आठ लाख मानिसको मृत्यु हुने गरेको छ।’
नमूना परीक्षणपछि: रातो, हरियो र निलो शरीरका लागि घातक !
देश सञ्चारले बजारमा उपलब्ध केही रङ्गहरुको नमुना संकलन गरी तीनको परीक्षण गरेको छ। उ्रक्त परिक्षणमा रातो, हरीयो, र निलो रङ्गमा क्याड्मियम (टक्सिमेटल) [cadmium (toximetal)] र लिड (टक्सिमेटल) [lead (toximetal)] को मात्र फेला परेको छ। जसले बौद्धिक क्षमतामा ह्रास, किड्नी, कलेजो, मस्तिष्क, हड्डि, यौनाङ्ग जस्ता अङ्गमा क्यान्सर हुनसक्ने सम्भावना हुन्छ। जसले वातावरण तथा जीवजन्तुमा नकारात्मक असर परी पर्यावरणीय सन्तुलनमा गम्भिर असर गर्नका साथै खाद्यपदार्थलाई विषाक्त बनाउने गर्छ।
परीक्षण गरिएका चार रङ्गका नमुनामा प्रतिकेजीमा क्याड्मीयम (पिपिएम) [cadmium, (ppm)] को मात्रा पहेलोमा देखिएको छैन भने, रातो रङ्गमा ५.५६, निलोमा २.८१, हरियोमा १.९३ देखिएको छ। त्यसैगरी लिड (पिपिएम) [lead, (ppm)] को मात्रा हरियो रङ्गमा ९.६४ देखिएको छ भने रातो, पहेलो र निलोमा देखिएको छैन। परीक्षणको नतिजा अनुसार प्रयोगका लागि पहेंलो रङ्ग उपयुक्त रहेको ‘नेपाल इन्भारोमेन्ट एण्ड साइन्टिफिक सभिसेज’ ल्याबरोटरी प्रमुख सुनील बाबु खत्रीले बताए।
खत्रीले परीक्षणको नतिजा अनुसार रातो, हरियो र निलो रङ्गले मानव स्वास्थ्यका साथै वातावरणमा असर गर्ने भएकोले यी रङ्गको प्रयोग नगर्न सुझाव दिएका छन्।
रङ्गहरु होलीका लागि मात्रै होइन, अन्य चाडपर्वका लागि समेत भारतबाट आयात गरिन्छ। सरकारले विभिन्न कस्मेटिक सामानहरुमा यस्ता रसायनिक तत्वहरुको सीमित मापदण्ड तोकेको भएता पनि रङ्ग, अविर, सिन्दुरमा भने कुनै मापदण्ड तोकेको छैन।
यस्ता रासायनिक तत्वहरु मानव शरीर तथा वातावरणका लागि कुनै आवश्यक नपर्ने विज्ञहरु बताउँछन्। जुन शरीरभित्र प्रवेश गरेमा स्वास्थ्यमा गम्भिर हानी गर्ने गर्दछ। त्यसकारण यस्ता रसायनयुक्त चिजहरु प्रयोग नगर्न उनीहरुको सुझाव छ।