
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्णमा आग्रह गरेका छन्।
फागु पूर्णिमाका अवसरमा बुधबार शुभकामना दिँदै उनले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्लेख गरेका छन्। ‘देशलाई द्रुत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढि एकताबद्ध हुन जरुरी छ’, प्रधानमन्त्रीओलीको सन्देशमा उल्लेख छ।
‘नेपालभरि र बाहिर पनि खुशीयाली प्रकट गर्दै होली अर्थात् पानी र रङ्ग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एकपटक हाम्रो राष्ट्रिय सङ्कल्पको स्मरण गर्न चाहन्छु,’ उनले सन्देशमा उल्लेख गरेका छन्।
भाषिक, सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
सन्देशमा भनिएको छ, ‘फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अङ्गीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीबीचको सद्भाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’