मैत्रीपूर्ण खेलमा नेपाल–कुबेतबिच प्रतिस्पर्धा हुँदै

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले बिहीबार पहिलो खेल खेल्न लागेको हो ।

नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता योहान कालिनको यो पहिलो खेल हो । खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कालिनले आफ्ना लागि यो खेल निकै महत्वपूर्ण रहको प्रतिक्रिया दिएका छन् ।

नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो ।

कुवेतका मुख्य प्रशिक्षक रोमियो जोजाकले छोटो तयारी भए पनि नेपाललाई हराउने विश्वास रहेको बताएका छन् । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोलीले आउँदो मङ्गलबार दोस्रो खेल खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देवेन्द्र तामाङ, मिडफिल्डरमा रवि पासवान, टङ्क बस्नेत, सन्तोष तामाङ, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ र फरवार्डमा रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ तथा आशिष लामा रहेका छन् ।फिफा बरियताम कुवेत नेपालभन्दा तीन स्थान मात्र माथि छ । नेपाल १६१ स्थानमा रहँदा कुवेत १५८ औँ स्थानमा रहेको छ ।

चैत ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्