कुन देशका नागरिक कति खुशी, कति खुशी छन् नेपाली ?

काठमाडौँ – ‘तपाईँ कति खुशी हुनुहुन्छ ?’ शायद यसको जवाफ खोज्न बेर लाग्छ र ठ्याक्कै यति नै खुशी छु भनेर भन्न सजिलो हुँदैन । खुशी समय एवम् परिवेश जन्य हुन्छ र व्यक्ति अनुसार यसको परिभाषा पनि फरक ।

तर समग्रमा विभिन्न आधारहरुको विश्लेषण गर्दा खुशीको अवस्था आँकलन गर्न सकिन्छ । यहि खुशीको आँकलन गरिएको प्रतिवेदन ‘वर्ल्ड ह्याप्पीनेश रिपोर्ट’ सार्वजनिक भएको छ ।

प्रतिवेदन अनुसारमा विश्वका विभिन्न देश मध्ये नेपाल १०० औँ स्थानमा परेको छ । यसको अर्थ नेपाली भन्दा अरु ९९ देशका नागरिक बढी खुशी छन् र नेपाली अध्ययन गरिएका मध्ये अरु ५६ देशका नागरिक भन्दा खुशी छन् ।

प्रतिव्यक्ति आय, सामाजिक सुरक्षा, स्वस्थ जीवनप्रत्यासा, छनौटको स्वतन्त्रता, उदारता, देशमा रहेको भ्रष्टाचारको अवस्थासहितका पक्षलाई विश्लेषण गरि प्रतिवेदन तयार भएको हो ।

प्रतिवेदन अनुसार विश्वमा सबैभन्दा खुशी फिनल्याण्डका नागरिक छन् । त्यसपछि डेनमार्क, नर्वे, आइसल्याण्ड, नेदरल्याण्डस, स्वीट्जरल्याण्ड, स्वीडेन, न्युजिल्याण्ड, क्यानडा र अष्ट्रिया छन् । ११ औँ स्थानमा अस्ट्रेलिया रहेको छ भने अमेरिका १९ औँ स्थानमा छ ।

यो सूचिको सबैभन्दा पुछारमा दक्षिण सुडान (१५६ औँ स्थान) रहेको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जिनिया, रुवाण्डा, यमन, मालावी, सिरिया, बोट्स्वाना, हाइटी, जिम्बाबे पनि बेखुशी देशमा परेका छन् ।

चैत ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्