नाजिरले पहिलोपल्ट अबिर लगाउँदा बुवाको ‘थप्पड’ खाएका थिए

काठमाडौँ-  रङ्गहरुको पर्व होली पहाडमाभन्दा तराई-मधेशमा धुमधामले मनाउने गरिन्छ। खासगरी कला क्षेत्रका सेलिब्रेटीहरुले होलीलाई उत्सवको रुपमा लिने गर्दछन् र आमजनतासँग हातेमालो गर्दै मनाउने गर्दछन्। तर कलाकार नाजिर हुसेनलाई भने ‘होली पर्व’ सम्झदा सारै नियास्रो लाग्छ।किनकी त्‍यतिबेला  चौतारी, चोकमा साथीभाई जम्मा भएर एकले अर्कालाई रंग दलेको, पानी छ्यापेको अनि साथीभाइको काँधमा चढेर लठ्ठीले मट्का फुटाएको।

‘मेरो ज्यान पातलो, म छरितो पनि त्यसैले मलाई नै मट्का फुटाउन पठाउनुहुन्थ्यो। मंगलबार कागजपत्र टोलिले पत्रकारहरुसँग होली मनाएको थियो। यहि संयोगमा उनको गाला पनि रंगिएका थिए। उनको मन पनि रंगिएको थियो। ‘मट्कामा भएको पैसा कसरी समात्ने भन्ने ध्यान हुन्थ्यो।’ मट्का फुटाएको स्मरण सुनाइरहदा उनको अनुहारमा केही पाएको खुसी प्रष्ट देखिन्थ्यो। कुराकानीका क्रममा उनले धेरैपल्ट भने, ‘मलाई होली सारै मन पर्छ।’

तर रंगसँग समेटिँदाको उनको पहिलो अनुभव नराम्रो छ, ‘कक्षा १ बाट दुईमा जाने बेलामा म फस्ट भएको थिए, स्कूलमा फस्ट ब्वाई भनेर अबिर लगाइदिएका थिए। घर आएर बाबालाई खुशीको कुरा सुनाउन नभ्याउँदै गालामा चड्कन भेटेँ।’ नाजिर भन्छन्, ‘मुस्लिम परिवारमा अबिर लगाउने चलन नै थिएन। मैले चड्कन खाएपछि मात्र बाबालाई अबिर किन लगाएको हो भनेर भन्न पाएँ।’

त्यसपछिको केही वर्षपछि उनी रंगहरुसँग घुलमिल भए। पहिलो वर्षको मामाको घरमा मनाएका हुन्। त्यसपछि हरेक वर्ष खास बन्न थाल्यो। कलाकारिता क्षेत्रमा आएपछि होलीको खुशी तराईमा जसरी समेट्न सकेका छैनन्। ८ वर्षपछि यो पालि जाने योजना थियो तर कागजपत्र प्रदर्शनकोे मिति नजिकियो। ‘होली मिस हुन्छ।’

उनी डेढ हप्तादेखि चलचित्र प्रमोशनमा छन्। रातिसम्म अनि बिहानैबाट चलचित्रको प्रमोशनमा हिड्छन्। ‘यो मेरोमात्र चलचित्र होइन, सबैको कथा हो।’ उनी भन्छन्, ‘म यो चलचित्रमा जोडिनुको कारण चलचित्र युनिट नै हो। सबै थियटरका कलाकार अनि सबैजना चिनेको, राम्रो अभिनय गर्नेहरु हुनुहुन्छ।’

निर्देशक अपिल विष्टबाट नाजिर प्रभावित छन्। यो भन्दा अगाडिको ‘झुम्की’ मा विष्टको कथा उठान गर्ने शैली, त्यसलाई प्रस्तुत गर्ने शैली नाजिरलाई मन परेको थियो। कागजपत्रमा ‘केशव’ पात्र बनेका नाजिर सकारात्मक भूमिकामा छन्। स्क्रिप्ट पढ्दा उनलाई आफ्नो पात्रले लोभ्यायो अनि उनले नाई भनेनन्।

टोलीसँग काम गर्दा उनलाई धेरै मजा आयो। चलचित्रको ३६ दिने सुटिङ बसाई रमाइलो भयो। उनी भन्छन्, ‘काम रमाइलो भयो, कामसँग रमाइलो चाँहि गरिएन।’ कथावस्तु अनि उनले निभाएको पात्रप्रति उनी ढुक्क छन्।

नायिका शिल्पा मास्केलाई मन पर्छ पहिलाको होली


बसाई पहाडमा भए पनि शिल्पा विराटनगरमा जन्मिएकी हुन्।

होली शुभ पर्व हो। यहि छेकोमा कागजपत्र प्रदर्शनमा आउँदै छ। नायिका शिल्पा मास्ने त्यसैलेपनि उत्साहित छिन्।

होली आउने बित्तिकै बालापनको चकचकेपन आँखामा सरसर्ति नाँच्न थाल्छन्। ‘घरो छतबाट लोला हान्ने पानी छापाछाप गर्ने, स्कूलमा अघिल्लो दिन होली मनाएको।

केटाहरुको ग्याङ्ग फाइट, बाबा आमाले घरबाट बाहिर नजाउ भन्ने’ शिल्पा एकएक गरेर सबै कुरा सम्झन थालिन्, ‘अहिले त्यति हुँदैन तर बाटोमा हिड्दा धेरै लोला खाइएको छ। होली आउने भन्दा एक साता अगाडिबाट बाहिर हिड्न नै गारो हुने।’ शिल्पालाई एकपल्ट सेतो कुर्ता लगाएर बाहिर हिँड्दा लोला लागेको थियो, उनको कपडा नै फोहोर भयो अनि उनी घर फर्किइन्। छतबाट पानी छ्याप्ने बानी उनलाई मन पर्दैन।

समय परिवर्तन भयो।

शिल्पाको विचारमा होलि पार्टि केन्द्रित भए, समुदायमा मिलेर होली खेल्न छुटेको छ। ‘रमाइलो हुन्छ तर हामी हाम्रो सँस्कृति छोड्दै छौ जस्तो लाग्छ।’ उनलाई पहिलाकै होलि मन पर्थ्यो, उनी बहिनीलाई उठ्नु अगाडि नै रंग लगाइदिन्थिन्।

शिल्पाको दोस्रो चलचित्र प्रदर्शनको संघारमा छ। हाँस्दै उनी भन्छिन्, ‘खुशी, थकित, नर्भस् अनि उत्साहित छु।’ फोनमा कतीवटा हलमा कागजपत्र प्रदर्शन हुँदैछ भनेर हेर्दै थिइन् उनी ।

पछिल्लो समय अमेरिका, अष्ट्रेलिया टार्गेट गर्ने मानिसको जमात कागजपत्रको मुख्य विषयवस्तु हो। फर्जि विवाह गरेर भएनि डिपेन्डेन्टमा जाने पात्रहरुको बाध्यताको कथा कागजपत्र हो। मास्के अहिलेको सन्दर्भमा मन छुने बताउँछिन्।

चैत्र ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्