क्राइस्ट चर्च आक्रमणका राजनैतिक छिटा

“यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नु पर्दथ्यो र अवश्य सुरक्षित महसुस गर्नेछौँ। एउटा कुरा मैले अहिले नै के सुन्‍न सक्दछु भने हाम्रो हतियारसम्बन्धी कानुन अवश्य परिवर्तन हुनेछ।’

यी वाक्यहरू न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले क्राइस्ट चर्चको मस्जिदमा गत शुक्रबार १५ मार्चका दिन २८ वर्षीय अस्ट्रेलियन नागरिक ‘ब्रेन्टन ट्यारेन्ट’ ले ५० जनाको ज्यान लिने गरी गरेको आतंककारी हमलापश्चात् एक पत्रकार सम्मेलनका क्रममा भनेकी थिइन्।

सामान्यतया न्यूजिल्याण्डलाई शान्त र सुरक्षित देश मानिन्छ तर यो शान्त देशमा गएको मार्च १५ तारिख शुक्रबारका दिन ग्रहण लाग्यो। एकाएक क्राइस्ट चर्चस्थित ‘अल नूर’ मस्जिद तथा ‘लिनउड इस्लामिक सेन्टर’मा ब्रेन्टन ट्यारेन्टले अन्धाधुन्द गोली चलाएर ५० जनाको ज्यान लियो।

मृत्यु हुनेहरूमा २ देखि ७१ वर्ष सम्मका मानिसहरू थिए। दर्जनौँ घाइते भए।सो घटनाको आक्रमणकारीले फेसबुक लाइभमार्फत् प्रत्यक्ष प्रसारण पनि गरेको थियो।न्यूजिल्याण्डको इतिहासका त्यस दिन एउटा कालो दिनका रूपमा चित्रित हुन पुग्यो।

त्यस क्रूर घटनाको संसारभर निन्दा गरियो। श्रद्धाका शब्दहरू जताततैबाट पोखिए। ती मृत्यु हुने ५० जना मानिस केवल संख्या थिएनन्। तीभित्र अरू धेरै सपनाहरू अडिएर बाँचेका थिए।

ती सपनाभित्र बाआमाका अनन्त सपनाहरू पनि बिलिन भए अनि ती सपनासँगै दाजुभाइ, दिदीबहिनीका पनि असंख्य सपनाहरू बिलिन भए। ती सपनासँगै जोडिएका सम्पूर्ण परिवारको सपना तहसनहस बनाए।

जसिन्डा आर्डेनको तारिफ


विशेष गरेर न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले त्यस घटनापश्चात् खेलेको भूमिकाको संसारभरि तारिफ गरियो। उनले स्पष्ट रूपमा आतंकवादको कुनै जात, धर्म र रङ्ग हुँदैन भन्‍ने सन्देश प्रवाह गर्न सक्षम रहिन्।

त्यस घटनाबाट पीडित आफन्तहरूलाई सरकारको तर्फबाट हरेक तरिकाले सहयोग तथा सहानुभूति दिन अग्रसर रहिन्। सरकारले प्रत्येक पीडित परिवारको अन्तिम संस्कारमा लाग्ने खर्च व्यहोर्नेदेखि लिएर अन्य सहयोग गर्न तत्परता देखायो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री जसिन्डा आर्डेनलाई फोन सम्पर्क गरेर कुनै किसिमको सहयोग चाहिएको खण्डमा अमेरिकाले दिन आतुर रहेको बताए।

प्रत्युत्तरमा आर्डेनले पीडित मुस्लिम समुदायका लागि प्रार्थना मात्र गर्न सुझाव दिइन्। उक्त उत्तरमा स्पष्ट सन्देश थियो– यस्तो सन्देश जस्ले आतंकवादप्रति हेर्ने अमेरिकी दृष्टिकोणभन्दा पृथक दृष्टिकोण न्युजिल्याण्डजस्ता मुलुकले लिएका छन्।

अमेरिकामा कैयौँपटक यस्ता नरसंहारकारी घटनाहरू घटिरहँदा समेत बन्दुक नियन्त्रणसम्बन्धी कानून परिवर्तन हुन सकिरहेको छैन तर न्युजिल्याण्डले यस घटनापश्चात् नै बन्दुक नियन्त्रण गर्ने कानून परिवर्तन गर्ने संकेत दिइन्।

उनले उक्त घटनामा प्रयोग गरिएको जस्ता अर्धस्वचालित तथा सैनिक प्रकृतिका हतियारहरू खरिद विक्रीमा तत्काल रोक लगाउने निर्णय गरिन् जसलाई प्रशंसनीय कदमका रूपमा धेरैले हेरेका छन्।

शोकमग्‍न आफन्तजन


“मैले मेरी श्रीमती गुमाएको छु तर म उक्त हत्यारालाई घृणा भने गर्दिनँ। मानवताका नाताले मैले उसलाई प्रेम गर्छु तर उसले जुन काम गर्‍यो, त्यसको म समर्थन गर्न सक्दिनँ। जुन मानिसहरूले यस्ता आतंककारी आक्रमण गर्छन् उनीहरूले हाम्रो समुदायमा विद्वेषको भावना फैलाउन खोज्छन्, मुस्लिम समुदायविरुद्ध यस्तो आक्रमण गरियो भने हामीले त्यसको जवाफस्वरूप प्रतिकारमा उत्रिन्छौँ भन्ने सोंचेका होलान् तर हामी त्यस्तो हुन दिँदैनौँ।

मैले उसलाई क्षमा गरिसकेको छु र उसका लागि प्रार्थन गरिरहेको छु।” यी वाक्यहरू आफ्ना पत्नीलाई गुमाएपछि फारिद अहमदले अन्तरवार्ताका क्रममा भनेका थिए।

यी वाक्यमा पीडित आफन्तहरूको गहिरो मनोभाव र सामाजिक सहिष्णुताको सन्देश पनि छन्। अहिलेको युगमा धर्म, नश्ल, लिङ्ग वा जेसुकै नाममा गरिने आतंकका सामना सामाजिक सद्भाव, आपसी समझदारी र भाइचाराले नै दिइनुपर्ने गतिलो सुझाव फारिद अहमदले दिएका छन्। यसलाई संसारका हरेक राष्ट्रका नागरिकहरूले अवलम्बन गर्न सक्नुपर्दछ।

चाहे सोमाली बाबुआमाबाट न्यूजिल्याण्डमा जन्मिएका तीन वर्षीय मुकाद इब्राहिम हुन् वा अफगानिस्तानको अस्तव्यस्ततालाई सन् १९७९ मा छाडेका ७१ वर्षीय हाजी दाउद नाबी नै किन नहुन्, सबै मृतकहरू आफ्नो जीवनलाई सहज बनाउन प्रयत्नमा लागिपरेका आम मानिसहरू थिए।

उनीहरू सबैको न्यूजिल्याण्डको समुदायमा केही न केही योगदान रहिआएको थियो। संसारका अनेक राष्ट्रबाट आएका भए पनि यिनीहरूका दिनदिनका समस्याहरू र जीवन निर्वाह गर्ने यत्न समान थियो। यिनीहरू पनि अरूसरह आम मानिस नै थिए।

घटनालाई राजनैतिक रङ्ग दिने प्रयास


प्रधानमन्त्री जसिन्डा आर्डेनले यस घटनालाई स्पष्ट रूपमा आतंककारी घटना भएको संकेत गरे पनि कतिपयले यस घटनालाई राजनैतिक रङ्ग दिने प्रयत्न नगरेका भने होइनन्। अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यका सांसद फ्रेजर एनिङले उक्त घटना हुनुमा मुस्लिम आप्रवासी भित्र्याउनुलाई जिम्मेवार ठहर्‍याएका थिए।

सांसद एनिङले दिएको अभिव्यक्तिको सर्वत्र निन्दा गरिए पनि कतै न कतै मुस्लिम तथा आप्रवासी समुदायमाथि ओसेनिया क्षेत्रमा गरिने राजनैतिक प्रयोगको झल्को भने देखिएको छ।

त्यसैगरी टर्कीका राष्ट्रपति रिसेप ताइयप एरडोगानले उक्त घटनापश्चात् अस्ट्रेलियालाई इस्लामविरोधी मुलुक रहेको टिप्पणी गरेका थिए। एक चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनले यदि न्यूजिल्याण्डले आक्रमणकारीलाई सजाय दिन नसकेको खण्डमा टर्कीले सजाय दिने समेत बताएका थिए।

उक्त आक्रमणको क्लिप कम्तीमा सात पटक उक्त र्‍यालीका क्रममा देखाइएको थियो।अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले उक्त टिप्पणी अस्ट्रेलियाली जनताका लागि अपमानजनक तथा लापरवाहयुक्त रहेको बताएका थिए।

अस्ट्रेलियामा चुनावताका आप्रवासी, शरणार्थी तथा सीमा सुरक्षासम्बन्धी मुद्दाहरू प्रमुख रूपमा उठ्ने गर्दछन्। आगामी केही महिनापछि हुन लागेको संघीय चुनावको नतिजालाई समेत यसले केही रूपमा असर गर्नसक्ने केही विश्लेषकहरूको टिप्पणी रहेको छ।

‘द प्रोजेक्ट’ नामक चर्चित कार्यक्रमका प्रस्तोतामध्ये एक ‘वालिद अली’ले क्राइस्ट चर्च घटनापश्चात् अस्ट्रेलियाका सत्तारूढ दल लिवरल पार्टीका नेताले सन् २०१० ताका मुस्लिमविरोधी भावनालाई राजनैतिक फाइदाका लागि प्रयोग गर्न पार्टीभित्र छलफल भएको रिपोर्ट मिडियामा आएको आरोप लगाएका थिए।

भावानात्मक रूपमा प्रस्तुत हुँदै उनले कथित श्वेत नश्लवादीले गरेको यो आक्रमणलाई अरू जुनसुकै समूहले गरेको आक्रमण वा आतंकवादी आक्रमण भएकाले प्रधानमन्त्रीलाई कडा रूपमा प्रस्तुत हुन समेत अनुरोध गरेका थिए। साथै उनले ती नेतामध्ये एक अहिलेका प्रधानमन्त्री पनि भएको आरोप लगाएका थिए।

प्रधानमन्त्री मरिसनले वालिद अलीले लगाएको यस आरोपको खण्डन गरे पनि अस्ट्रेलियामा राजनैतिक लाभका लागि यस्ता मुद्दाहरू कसरी प्रयोग भइरहेका छन् भनेर केही हदसम्म उजागर भने गर्दछ।

बदलिँदो विश्व परिवेशमा जुनसुकै व्यक्ति वा समूहले गर्ने यस्ता आतंककारी हमलाको न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले गरेको सामना, अडान र पीडित पक्षलाई प्रदान गरेको सद्भाव र समर्थनबाट सबै राष्ट्रका नेतृत्वले पाठ लिन सक्नुपर्दछ।

साथै, यस्ता आक्रमणलाई नश्लीय, जातीय वा धार्मिक आधारमा नहेरी सिंगो मानव सभ्यताको हीत विपरीत गरिएको आक्रमणका रूपमा हेरिनु पर्दछ। जसजसले यर्दा निन्दनीय आक्रमणलाई राजनैनिक फाइदाका खातिर प्रयोग गर्ने चेष्ट गरिरहेछन्, ती व्यक्तिहरू राजनैतिक चेतनाभन्दा बढी तानाशाही प्रवृत्तिबाट प्रभावित छन् भन्ने पुष्टि गर्दछ। त्यस्ता व्यक्तिबाट समग्र मानव समाज सचेत हुन जरुरी छ।

चैत्र ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्