भारतमा लोकसभा चुनाव

मोदी वाराणसी, शाह गान्धीनगरबाट चुनाव लड्ने, आडवाणीको नाम छैन

भारतीय जनता पार्टीले लोकसभा चुनावका लागि आफ्ना उमेद्वारहरुको पहिलो सूची सार्वजनिक गरेको छ । बिहिबार अवेर राति बिजेपीका वरिष्ठ नेता, केन्द्रीय मन्त्री तथा भाजपाका केन्द्रीय चुनाव समितिका सचिव जेपी नड्डाले १ सय ८४ उमेद्वारको नाम घोषणा गरे ।

नाम घोषणा हुनुपूर्व नै यस पटक भाजपाले केही ठूला नेतालाई उमेद्वार नबनाउने अनुमान गरिएको थियो । भाजपाले सार्वजनिक गरेको उमेद्वारहरुको सूचीमा सबैभन्दा रोचक अमित शाहको नाम थियो । अमित शाह गान्धीनगरमा चुनाव लड्नेछन् ।

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवानी अहिले गान्धीनगरबाट सांसद छन् । शाह अहिले राज्यसभा सांसद छन् । उनी पहिलो पटक लोकसभा चुनाव लड्नेछन् ।

यो लिष्टमा आडवानीको नाम छैन ।

नड्डाले यसबारेमा केही बताएका छैनन् तर आडवानीको टिकट काटिएको अनुमान गरिएको छ । यसबारेमा कांग्रेस प्रवक्ताले ट्विट गरेका छन् ।

यूपीका २८ उमेद्वारको लिष्ट जारी


उत्तर प्रदेशमा जम्मा ८० सीट छ तर पहिलो लिष्टमा मात्र २८ उमेद्वारको नाम घोषणा गरिएको छ । यो लिष्टका अनुसार भाजपाले आफ्ना ६ जना बहालवाला सांसदको टिकट काटेको छ ।

यसमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष मुरली मनोहर जोशीको समेत नाम छैन । तर प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा सीट एकपटक फेरि वाराणसीबाट हुनेछ । त्यहाँ भीम आर्मीका संस्थापक चन्द्रशेखर आजाद उर्फ रावण चुनाव लड्नेछन् ।

उनले कांग्रेस र अरु पार्टीहरुलाई समर्थनको अपील गरेका छन् । हालै कांग्रेस महासचिव तथा पूर्वी उत्तरप्रदेशकी इन्चार्ज सोनिया गान्धीले अस्पतालमा रहेका रावणसँग भेटघाट गरेकी थिइन् । त्यसपछि रावणले चुनाव लड्ने कुरा चर्चामा आएको थियो ।

लखनउबाट गृहमन्त्री राजनाथ सिंह, अमेठीबाट स्मृति ईरानी, गाजियावादबाट विदेश मन्त्री जनरल बिके सिंह चुनाव लड्नेछन् । अमेठीमा स्मृति ईरानीले कांग्रेस अध्यक्ष राहुल गान्धीसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् । हेमा मालिनी मथुराबाट चुनाव लड्नेछिन् ।

केन्द्रीय संस्कृति मन्त्री महेश शर्मा नोएडाबाट चुनाव लड्नेछन् । यूपीबाट सांसद वरुण गान्धी र मेनका गान्धीको नाम यो लिष्टमा छैन । वरुण सुलतानपुरबाट र मेनका गान्धी पीलीभीतबाट सांसद छन् ।

केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाट चुनाव लड्नेछन् ।

चैत ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्