बोइङ ७३७ म्याक्स दुर्घटना प्रकरण

दुर्घटनाग्रस्त दुई विमानमा दुई सुरक्षात्मक विशेषता थिएनन, जसका लागि अतिरिक्त पैसा लाग्थ्यो

बोइङ जेटका पाइलटले इथियोपिया र इन्डोनेशियामा आफ्नो विमानलाई नियन्त्रणमा राख्नका लागि प्रयास गर्दागर्दै गम्भीर दुर्घटना भयो । कारण उनीहरुले चलाएका विमानको ककपिटमा दुई महत्वपूर्ण सुरक्षात्मक विशेषता थिएनन् ।

जसका कारण इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स एट को विमान मार्च १० मा दुर्घटना हुँदा १५७ जनाको ज्यान गयो । यस्तै पाँच महिनाअघि लायन एयरको बोइङ ७३७ म्याक्स एट नै दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो । दुवै विमानमा सुरक्षात्मक दुई महत्वपूर्ण विशेषता नरहेको खुलेको छ ।

कारण, विमान निर्माता कम्पनी बोइङले त्यसका लागि अतिरिक्त शुल्क लिनु ।

बोइङ र अरु विमान निर्माता कम्पनीका लागि विमानको स्तर बढुवा गर्नका लागि अतिरिक्त शुल्क लगाउनु मुनाफाका हिसाबले आकर्षक छ । विश्वका प्रमुख एयरलाइन्सले त्यसका लागि मोटो रकम तिर्छन् र जेट विमान लिन्छन् अतिरिक्त विशेषतासहित ।

कुनै बेला यस्ता वैकल्पिक विशेषताहरु विमानको सुन्दरता वा आरामदायितासँग सम्बन्धित हुन्छ, जस्तो कि प्रिमियम सिटिङ, फ्यान्सी लाइटिङ वा अतिरिक्त बाथरुम । तर सञ्चार, नेभिगेशन वा सुरक्षा प्रणालीसँग सम्बन्धित विशेषताका लागि थप शुल्क लिनु उचित देखिँदैन । यस्ता विशेषताहरु विमान सञ्चालनका लागि आधारभूत आवश्यकतामा पर्छन् ।

सस्तोमा उडान गर्ने धेरै एयरलाइन्सहरु, जस्तो इन्डोनेसियाको लायन एयर, इथियोपियाको इथियोपियन एयरलाइन्स सहितले यस्ता अतिरिक्त विशेषताहरु किन्दैनन् र त्यहाँका नियामक निकायले पनि यसको माग गर्दैनन् ।

तर बोइङ ७३७ म्याक्स एट कै दुई विमान दुर्घटना भएपछि विश्व झस्किएको छ र अहिले बोइङ ७३७ म्याक्स सिरिजका विमान ग्राउण्डेड छन् । अब बोइङले सबै विमानमा अतिरिक्त भनिएका सुरक्षात्मक विशेषताहरु फिट गर्नु पर्नेछ फेरि उडान गर्नका लागि ।

अहिलेसम्म इथियोपियन एयरलाइन्सको विमान र पाँच महिनाअघि लायन एयरको विमान दुर्घटनामा पर्नुको स्पष्ट कारण थाहा भएको छैन । तर दुवै विमान उडेको केही समयमै दुर्घटनामा परेको र दुवैलाई उचाई लिने क्रममा समस्या भएको देखिएको छ । अनुसन्धानकर्ताले नयाँ सफ्टवेर सिस्टम राख्दा यो समस्या समाधान हुने वा नहुने अनुगमन गरिरहेका छन् ।

लायन एयरको दुर्घटनाग्रस्त विमानको सेन्सर डाटाको अध्ययनबाट एमसिएएस भनिने सिस्टममा खराबी आएकाले दुर्घटना भएको आशंका छ । अमेरिकामा संघीय अधिकारीले बोइङ ७३७ म्याक्स जेटको विकास प्रक्रियाका बारेमा अध्ययन गरिरहेका छन् र संघीय अनुसन्धान व्युरो (एफबिआई) ले यातायात विभागले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको छ । न्याय विभागले यस्तो खालको अनुसन्धानको पुष्टि पनि गरेको छैन र अस्वीकार पनि गरेको छैन । उसले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

जेट विमानको सफ्टवेर सिस्टममा एंगल अफ अट्याक सेन्सर भनिने डिभाइसले विमानको नाक वा अग्रभागले आउँदै गरेको हावाको तुलनामा कति माथि वा तल पोइन्ट गरेको छ भन्ने इन्डिकेट गर्छ । तर एमसिएएसले विमानले डेन्जरस एंगलमा गरेको पोइन्टिङलाई डिटेक्ड गर्छ, र खतराको अवस्थामा विमानको नाक वा अग्रभागलाई अटोमेटिक रुपमा तल लैजाने गर्छ ।

बोइङको अतिरिक्त सुरक्षात्मक विशेषताले पाइलटलाई गलत रिडिङ डिटेक्ड गर्न सहयोग गर्छ, जुन दुर्घटनाग्रस्त विमानमा थिएनन् । अतिरिक्त सुरक्षात्मक विशेषता मध्ये एक थियो एंगल अफ अट्याक इन्डिकेटर, जसले दुई सेन्सरको रिडिङ डिस्प्ले गर्छ । यस्तै डिसअग्री लाइट, जसले ती सेन्सरलाई एक अर्कामा अड हुने गरी सक्रिय बनाउँछ ।

बोइङले चाँडै नै एमसिएएस सफ्टवेर अपडेट गर्ने र त्यसमा डिसअग्री लाइट सिस्टम पनि राख्ने तयारी गरेको छ । तर एंगल अफ अट्याक इन्डिकेटर भने अझै पनि वैकल्पिक नै रहने छ । यसका लागि एयरलाइन्सले अतिरिक्त पैसा तिर्नु पर्छ वा नियामक निकायले यसलाई बाध्यकारी बनाउनु पर्छ।

-यो सामग्री द न्युयोर्क टाइम्सको सहयोगमा तयार पारिएको हो 

चैत ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्