‘पेनाल्टीले फुटबलको अपमान’ भएको टिप्पणी गर्ने नेइमारविरुद्ध उजुरी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएको फागनु २२ गते राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई दिइएको पेनाल्टीका सम्बन्धमा आक्रोशित प्रतिक्रिया दिएका पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइर नेइमारविरुद्ध उजुरी दर्ता भएको छ ।

नेइमारे युनाइटेडलाई पेनाल्टी दिने निर्णयले फुटबल खेलकै अपमान भएको बताएका थिए । पिएसजीको मैदानमा भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा युनाइटेडले ३–१ को जित निकाल्दै समग्रमा ३–३ को बराबरी गरि अवे गोलका आधारमा अन्तिम ८ मा स्थान बनाएको थियो । युनाइटेडको जितमा इन्जुरी समयमा पाएको पेनाल्टीमा मार्कस रासफोर्डले गोल गरे ।

चोटका कारण मैदान बाहिर रहेका नेइमारले आक्रोशित हुँदै सामाजिक सञ्जालमा त्यसको आलोचना गरेका थिए । नेइमारको टिप्पणीले खेल पदाधिकारीको अपमान भएको भन्दै युरोपियन फुटबलको प्रशासकीय निकायमा उजुरी परेको हो । उजुरीको सुनुवाईको मिति भने तय भएको छैन ।

चैत ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्