धनगढी– धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेका सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै मृतकका आफन्तले आन्दोलनको घोषणा गरेका छन्।

वडा नम्वर ३ का स्थानीयले बोराडाडीमा रहेको लागुपदार्थ पुनस्थापना केन्द्रका स्टोर किपर जनक ढुङ्गेलको मृत्यु शंकास्पद भएको भन्दै छानविनका लागि दवाव दिन आईतबार चक्काजाम गर्ने घोषणा गरेका छन्।

प्रहरीले घटनामा दोहोरो चरित्र देखाईरहेकाले सत्यतथ्य छानविनको मागसहित स्थानीयले शनिबार बेलुका जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन समेत गरेका छन्। प्रर्दशन लगत्तै सडकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानीय राजबहादुर ऐरले आईतबार धनगढी–अत्तरीया ६ लेन सडक बन्द गर्ने बताए। स्थानीयले पोष्टमार्टम रिपोर्ट पनि सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

आईतबार देखि एसईई परिक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई भने आवतजावत गर्न दिने ऐरले बताए। बिहीवार राती खाना खाएर सुतेका ढुङगाल राती १० बजे मृत अवस्थामा फेला परेका थिए। सुधार गृहमा रहेका लागुऔषध दुर्व्यसनीहरुले उनको हत्या गरेको हुन सक्ने आफन्त र स्थानीयले आशंका गरेका छन्। मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ।

चैत ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्