बिउ भण्डारदेखि उत्पादनसम्म जैविक विधि नै उत्तम

दाङ- लमही नगरपालिका वडा नं. ३ मजगाउँका टुनुराम चौधरीले गहुँ भण्डारण गर्दा बजारबाट विषादी किनेर राख्ने गरेका छन्। उनलाई बजारको विषादीले नोक्सान गर्छ भन्ने थाहा छ। तरपनि उनले यो बानी छाडेका छैनन्। बिउको रुपमा अन्न भण्डारण गर्दा लाग्ने घुन, किरा, पुतलीबाट बच्न विषादीको प्रयोग गरेकाे पाइन्छ।

घुन, किरा तथा पुतलीबाट  विषादीको प्रयोग नगरि पनि सजिलै जोगाउन सकिने पृथु टेक्निकल कलेजमा बागवाणी बिषयका प्राध्यापक तेजप्रसाद शर्मा बताउँछन्। ‘अब गहुँ, मसुरो, तोरी बाली भित्र्याउने बेला छ। किसान बाली भित्र्याउने तयारीमा छन्। बाली भित्रिएपछि त्यसको भण्डारणमा धेरै ध्यान दिनुपर्ने हुन्छ’, शर्माले भने, ‘कडा खालको विषादी सेल्फास प्रयोग गरेको पाइएको छ। यो विषादी हानिकारक छ। यसको ठाउँमा बोजो, निमको पात, ढाँठ प्रयोग गर्न सकिन्छ। यसरी सजिलैसंग ६–७ महिना जोगाउन सकिन्छ।’

बालीलाई भण्डारण गर्दा जैविक विषादीको प्रयोग गर्न सकिने उनले बताए। शनिबार पृथु टेक्निकल कलेजमा भएको किसानको भेलामा खेत बारीमा काम गर्ने किसानले विषादीको प्रयोगलाई कसरी घटाउन सकिन्छ भन्ने बारेमा राखिएको प्रशिक्षणमा भाग लिएका थिए।

कार्यक्रममा तुलसीपुरदेखी देउखुरीसम्मका किसानको उपस्थिती रहेको थियो। ‘म तुलसीपुर क्षेत्रमा १८ विगाह जमिनमा तरकारी खेती गर्दै आइरहेको छु। फेसबुकमा विषादीको प्रयोग घटाउने विषयमा प्रशिक्षण हुँदै गरेको जानकारी पाएर यहाँसम्म आउने मौका पाएँ’, तुलसीपुर–१३ बखरीया निवासी २१ बर्षिय शिसीर रावतले भने, ‘विषादीको प्रयोग नगरेर अर्गानिक खेती गरेँ। तर, उपभोक्तालाई अर्गानिक खेतीको बारेमा बताउँन नसक्दा बजार पाउन गाह्रो भयो। विषादीको प्रयोग घटाउँदै उपभोक्ता जागरण कार्यक्रम गर्नुपर्ने पनि जरुरी देखेको छु।’

जलवायु परिवर्तनका निम्ति नेपाली युवाहरुको सञ्जाल दाङले किसानहरुसँग कृषि, विषादी र जलवायु परिवर्तन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो।

सञ्जालका अध्यक्ष जीवन उप्रेतीको अध्यक्षता एवम् पृथु टेक्निकल कलेजका अध्यक्ष प्रदिपराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले क्याम्पसले कोरियाको टेक्निकल कलेजसँग सम्झौता गरेर कृषि क्षेत्रको विकासमाअघि बढ्ने अवसर प्राप्त गरेको जानकारी दिए।

‘कृषिकै विकासको लागी, किसानको आम्दानी बढाउन हामी अघि बढेका छौं’, शर्माले भने, ‘म कोरिया पुगेर आएँ। त्यहाँ पुग्दा दुईवटा ग्रीन हाउसमा पुगेँ। जहाँ बिरुवालाई काम्लो ओढाइएको थियो’, उनले भने, ‘बिरुवाको स्याहार सुसार गर्ने हो भने त्यसले उब्जनी दिन्छ। त्यही स्याहार सुसार गर्न काम्लो ओढाइएको भन्ने जवाफ पाएँ।’

चैत १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्