एसइइ परीक्षा दिन जाँदै नायिका करिश्मा मानन्धर। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
असजिलो छिचोलेर तय गरेको बाटो

करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ

उमेरले उकालो लाग्दै गर्दा जीवनका भारीहरुको बोझ झन गह्रुंगो बन्दै जान्छ । बिसाउने ठाउँहरुको खोजी हुन्छ चाँडो–चाँडो ।

थकाई मारेर सुस्ताउने मन पनि हुन्छ, तर केहीमा भने छुटेको चिज पाउने चाहले यसरी उर्जा दिन्छ कि सबै थकानहरु पाखा लगाउन सक्छन् ।

जीवनमा भोगका विविध अनुभवहरुको उत्साह, निराशा र अप्ठ्यारो–सजिलोको भारीको बोझबाट नथाकी हिजो छुटेको चिज लिने अभियानकी यात्री हुन्, अभिनेत्री करिश्मा मानन्धर ।

२०४४ सालमा सन्तान चलचित्रबाट सुरु भएको करिश्माको अभिनय यात्राले अझै पनि ‘करिश्मा’ देखाइरहेको छ । १५ वर्षकी थिइन्, पर्दाको रमझममा ३१ वर्ष बित्यो यहि क्षेत्रमा ।

४६ वर्षकी करिश्मा केही समय चलचित्र क्षेत्रबाट पर रहे पनि जोडिइरहेकी थिइन् । अहिले भने उनी अभियन भन्दा आफूले सानैमा छुटाएको खुशी समेट्ने अभियानमा छिन् । उनको त्यो खुशीले अब आकार लिने बेला भएको छ ।

करिश्माको खुशी स्कूल हो । उमेरले ४० नाघेर ५० को हाराहारीमा पुग्ने बेला स्कूले पोशाकमा विद्यालय धाइरहेकी करिश्मालाई कहिले लाज लाग्यो, कहिले दकस पनि ।

तर उनले टुटेर फेरि जोडिएको स्कूल यात्रा यो पटक छोडिनन् । यसकै परिणाम, आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) दिने देशभरका चार लाख ७५ हजार विद्यार्थी मध्ये करिश्मा मानन्धर एक हुन् ।

एसइइ परीक्षामा जानुअघि सञ्‍चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका करिश्‍मा मानन्धर।तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

करिश्माले आइतबारदेखि एसइइको खुड्किलो पार गर्ने परीक्षामा खुशीले स्वागत गर्दै छिन् । उनलाई यो परीक्षासँग डर भन्दा आफ्नो पन बेसी छ । सपनाहरुले बुनेका धेरै रहरहरुको साँचो यहि परीक्षामा छ जस्तो लागेको छ ।

६ महिनाअघि हामीले करिश्मालाई एसइइको तयारीका लागि व्यस्त भइरहेका बेला भेटेका थियौँ र उनको दैनिकीलाई समेटेका थियौँ । त्यसपछिका रहेक दिन उनले उसै गरि बिताइन्, यहाँसम्म आइपुगिन् । करिश्माले केही अहिले पनि उस्तै मेहनत गरेकी छन् ।

करिश्माले डिल्लीबजारको विजय स्मारिका स्कूलमा परेको केन्द्रबाट परीक्षा दिँदै छिन् । उनीसहित उमेरले स्कूलको बाटो नछेकिएका सबैलाई शुभकामना ।

चैत १०, २०७५ मा प्रकाशित