कोरियामा कमाई राम्रो छ, तर काम कठिन!

-मधुसुदन ओझा

कोरियामा ईपीएस लागु भएको १५ वर्ष भयो । ईपीएसको सबैभन्दा राम्रो पक्ष छनौट पद्धति हो, यो एकदमै निस्पक्ष छ। प्रवासी श्रमिक भाषा परीक्षा पास गरेर रोष्टरमा रहेर न्यून लगानीमा छनौट भै कोरिया जान पाउँछन्  ।

ईपीएस कानुन सन् २००४ मा लागु भए पनि नेपालबाट भने सन् २००८ बाट मात्रै ईपीएस मार्फत कोरिया जान थालेका हुन्। यसअघि अन्य माध्यमबाट कोरियामा रोजगारीका लागि जाने गरेका छन्।

विज्ञापन

अहिले नेपाली कामदारको सबैभन्दा आकर्षकको रोजाइमा पर्ने गरेको छ कोरिया । कमाईको हिसाबले कोरिया हामी नेपाली कामदारका लागि राम्रो भएपनि हक अधिकारको हिसाबले हेर्ने हो भने कोरियामा प्रवासी श्रमिकलाई एकदमै पीडा छ ।

कोरियामा काम गर्न आउने प्रवासी श्रमिकलाई एक श्रमिकले पाउनुपर्ने हक अधिकार दिइएको छैन । स्थानीय श्रमिकले जुन अनुसार सेवा सुविधा पाइरहेका छन् प्रवासी श्रमिकलाई त्यो अनुसारको सेवा सुविधा दिइएको छैन।

एक श्रमिकले आफूखुशी काम र कार्यस्थल रोज्ने उसको आफ्नो श्रमिक र मानव अधिकार हो । तर कोरियामा प्रवासी श्रमिकलाई यी अधिकारबाट कोसौं टाढा राखिएको छ।

अहिले नेपालमा भाषा परीक्षाको दर्ता फारम भर्नेको लहर लागेको छ । यो वर्ष सबैभन्दा बढि नेपालीले कोरिया जानका लागि आवेदन दिने देखिन्छ ।

देख्दा कोरियाको लागी नेपाली युवाको कोरिया आकर्षण कतिको छ भन्ने कुरा प्रस्ट हुन्छ।

यसको कारण भाषा परीक्षा पास हुन सके निस्पक्ष रुपमा कोरिया जान पाउने र मुख्यतः कोरिया जान सके न्युन लगानीमा गएर लाखौं ज्याला प्राप्त गर्न सकिन्छ । कोरियामा रोाजगारी गर्नेको न्युनतम तलव डेढ लाख रुपैयाँ पुग्छ।

कोरिया कमाइको हिसाबले अन्य मुलुक खास गरी खाडि मुलुकभन्दा राम्रो छ। तर नेपालबाट देखिने सपना र कोरियामा भोगिने वास्तविकता फरक छ।

कोरियामा प्रवासी कामदारले एकदमै गाह्रो, न्यून फोहरी र खतरनाक (थ्री डि) काम गर्नुपर्ने हुन्छ। कोरियामा काम गर्न अन्य मुलुक जस्तो त्यति सजिलो छैन । कोरियामा लामो समय खटिएर कडा परिश्रम गर्नुपर्ने हुन्छ । हामी मध्ये धेरै जनाले कोरियाको झकिझकाउ सहरका ठूल–ठूला महल र चिल्ला सडक देखेर त्यसलाई नै कोरिया सोचेका हुन्छौं।

तर कोरिया प्रवेश गरेपछि वास्तविक कोरिया फरक नै भेटिन्छ। कोरियामा प्रवासी श्रमिकले एकदमै दूरदराज कुना कप्चामा काम गर्नुपर्ने हुन्छ। जहाँ बस्ने ठाउँको स्थिति पनि एकदमै न्यून हुन्छ ।

कति प्रवासी श्रमिकले त फिनिल हाउस भित्रको थोत्रो कन्टेनरमा बिताउनु पर्ने हुन्छ । जहाँ बस्ने ठाउँमा ट्वाइलेट बाथरुमको समेत व्यवस्था हुँदैन।

कति प्रवासी श्रमिकले वर्षौं शहर नदेखेको अवस्था पनि हुन्छ। हाम्रो आफ्नो देशमा केही गरेर आफ्नो अवस्थामा सुधार गर्न सक्ने स्थिति नभएको कारण कोरियाको लागि सपना बोक्नु उचित नै हो ।

तर कति प्रवासी श्रमिक राम्ररी नबुझि कोरिया आउने र आएपछि दुःख खेप्न नसकेर फर्किनु पर्ने अवस्था पनि छ । श्रम रोजेर कोरिया आउँदा धेरै बुझेर आउनुपर्ने हुन्छ।

कोरियामा प्रवासी श्रमिक माथिअनेक भेदभाव गरिन्छ । गालि गलौच, कुट्पिटको सामना गर्नुपर्ने हुन्छ इपिएस कानुनका खराब नीतिका कारण कार्यस्थल परिवर्तन गर्न दिइँदैन ।
नेपालमा हुँदा ईपीएस उपलब्ध गराउने किताबमा तीन वर्षमा तीन पटक कार्यस्थल परिवर्तन गर्न पाउँछन् भने जस्तो नभएर कोरियामा बिल्कुलै भिन्न अवस्था छ ।

रोजगारदाताले अनुमति दिएन भने कार्यस्थल परिवर्तन गर्न पाउँदैन कोरियन भाषा अध्ययन गर्दा कोरियामा कस्तो अवस्थामा काम गर्नुपर्छ कोरियामा कसरी प्रवासी श्रमिकमाथि दमन शोषण गरिन्छ ।

कसरी कुटपिट गालिगलौचको सामना गर्नुपर्छ कस्तो अवस्थामा कोरियामा प्रवासीले काम गर्नुपर्छ (कोरियनले गर्न नमान्ने काम) भनि प्रशिक्षार्थीलाई प्रशिक्षकले हप्तामा एक दिन भए पनि अवगत गराउनु पर्ने हुन्छ।

नेपालमा च्याउ जस्तै उम्रेका विभिन्न भाषा सिकाउने केन्द्रहरुले खालि कोरियामा लाखौँ कमाउने सपना मात्र देखाउँछन् कसरी काम गर्नुपर्छ कति गाह्रो छ? कस्तो व्यवहार गरिन्छ कोरिया जाने श्रमिकमाथि ? भनेर अवगत गराउँदैन।

बङ्गलादेशी श्रमिकलाई कोरिया जानु पहिले नै कोरियामा भोग्नु पर्ने चुनौतीका बारेमा जानकारी गराइन्छ।

भाषा सिकाउने ठाउँमा नै यी सबै कुराको जानकारी गराइन्छ, हप्ताको एक दिन। भाषा सेन्टरहरुले कोरियाको कमाइको लोभ मात्रै देखाउनु हुँदैन, त्यहाँ भोग्नु पर्ने चुनौतीको बारेमा पनि जानकारी गराउनुपर्छ।

भाषा सेन्टरहरु पैसा कमाउने लोभ लालचले मात्रै खोलिनु हुन्न । श्रमिकको भविश्यको चिन्ता पनि लिनुपर्छ।

कोरिया आउनु पूर्व दिइने एक हप्ते तालिममा पनि खालि पैसा जम्मा गर्न लगाएर भात खुवाउने बाहेक केही जानकारी गराएको देखिँदैन। विमति छैन अन्य देशको तुलनामा कोरियामा राम्रो काम र कमाई हुन्छ, तर यहाँको कठिन काम र अरु चुनौतीलाई पनि भुल्नु हुँदैन।

 

चैत्र १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्